आउँदो प्रतिनिधि सभाको निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने केन्द्रीय सुरक्षा समितिले निर्णय गरेको छ।
शुक्रबार बसेको बैठकले निर्वाचनलाई लक्षित गरी कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना-२०८२ बमोजिम जिम्मेवार निकायले सम्पादन गरिरहेका कार्यहरू, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाबारे पनि समीक्षा गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए।
बैठकले सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रहरीले सञ्चालनमा ल्याएको अध्याधुनिक युनिटलाई थप प्रभावकारी बनाउने, निर्वाचन विरोधी गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याई कारबाही गर्ने निर्णय गरेको छ।
त्यस्तै, निर्वाचनमा ड्रोनको प्रयोग गर्न प्रतिबन्ध लगाउने, निर्वाचनमा खटिएका सुरक्षाकर्मी र निर्वाचन प्रहरीको बीमा गर्ने, सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी आवश्यक व्यवस्था गर्ने, निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्ने लगायतका निर्णय भएको प्रवक्ता काफ्लेले बताए।
बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभाको निर्वाचनमा सुरक्षा तयारीबारे ब्रिफिङ लिँदै जोखिम आकलन गरी सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन्।
Shares

प्रतिक्रिया