नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपालाई इंगित गर्दै नयाँ भन्नेहरू काठमाडौँ उपत्यकामै जित्न नसक्ने अवस्थामा रहेको बताएका छन्।
मंगलबार नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले हालैका दिनमा देखिएको ‘स्टन्ट’ र ‘हल्ला’ को प्रभाव जनताले बुझिसकेको बताए। उनले आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई आगामी निर्वाचनमा केन्द्रित हुन निर्देशन दिए।
उनले सामाजिक सञ्जालको भरमा गरिने राजनीतिलाई ‘स्टन्टबाजी’ को संज्ञा दिँदै फिल्डमा त्यस्तो प्रभाव नरहेको बताए। उनकाअनुसार जहाँ पहिला त्यस्ता शक्तिहरूले जितेका थिए, त्यहाँ अहिले उनीहरूको प्रभाव ओरालो लागेको छ।
‘अहिले सोसल मिडियाबाट भएको प्रचारबाजी अनुसार फिल्डमा छैन। सोसल मिडियावाला, स्टन्टवाला भन्ने गरेका छौँ हामीले। पहिला जहाँ जिते त्यहाँ उनीहरूको ओरालो छ,’ प्रचण्डले भने, ‘उपत्यकामै हेर्नुभयो भने उनीहरूको अहिले छैन।’
नयाँ स्थानहरूमा भ्रम दिन सजिलो हुने भए पनि जनताले नेताहरूको काम र क्षमताको मूल्याङ्कन गरिसकेको उनको भनाइ थियो। प्रचण्डले उपत्यका लगायतका क्षेत्रमा पुराना र अनुभवी नेताहरूलाई जनताले हेरिसकेको र अब स्टन्टबाजहरूको हल्लाखोर प्रवृत्तिको भ्रम मुक्त भइसकेको जिकिर गरे।
‘नयाँ–नयाँ ठाउँमा भ्रम दिन सजिलो हुँदो रहेछ। भ्रम मुक्त भए यहाँ त, यहाँ लडेर त हेरे नि नेताहरूलाई के गरे के गर्न सक्दा रहेछन्, सक्दा रहेनछन् भन्ने हेरिसक्या हुनाले त्यस्ता ठाउँमा यी सब स्टन्टबाजहरू, यी हल्लाखोरहरू हुन् भन्ने बुझे जनताले,’ उनले भने।
जहाँ जनताले अझै कुरा बुझ्न पाएका छैनन्, त्यहाँ मात्र यस्ता प्रचारको प्रभाव देखिएको भन्दै उनले कम्युनिस्ट कार्यकर्तालाई ती भ्रमलाई तर्कद्वारा चिर्न आग्रह गरे। राजनीतिक संकटको समाधानका लागि निर्वाचन नै एक मात्र वस्तुवादी र वैज्ञानिक बाटो भएको उनको तर्क छ।
‘सबै कमरेडहरू यो चुनौतीपूर्ण अवसर नेपाली कम्युनिस्ट पार्टीलाई प्राप्त छ। हामीले धेरै मेहनत गरेर अप्ठ्यारो बेलामा पनि यो देशलाई बचाउने हिसाबले, राजनीतिलाई सहजीकरण गर्ने हिसाबले भूमिका खेल्ने अवसर पायौँ, हामीले त्यो भूमिका खेल्यौँ र अहिले निर्वाचनतर्फ देश केन्द्रित छ,’ प्रचण्डले भने।
उनले आगामी २४-२५ दिन निकै महत्त्वपूर्ण रहेको बताउँदै सबै नेता तथा कार्यकर्तालाई पूर्ण मेहेनतका साथ चुनावी परिणाम आफ्नो पक्षमा पार्न र पार्टीलाई एक नम्बर बनाउने संकल्प गर्न निर्देशन दिए।
Shares

प्रतिक्रिया