राजनीति


प्रचण्ड पुगेको लुम्बिनीमा ‘नसोचेको नतिजा’ ल्याउने रास्वपाको दाउ

यस्तो छ १२ जिल्लाका २६ क्षेत्रको हिसाब–किताब
प्रचण्ड पुगेको लुम्बिनीमा ‘नसोचेको नतिजा’ ल्याउने रास्वपाको दाउ

सागर न्यौपाने
फागुन ४, २०८२ सोमबार २१:२, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ जहाँबाट चुनाव जिते पनि प्रधानमन्त्री पनि बने। अघिल्लो पटक पनि गण्डकी प्रदेशको गोरखा–२ बाट चुनाव जितेका उनी लगत्तै प्रधानमन्त्री बनेका थिए। हरेक पटक निर्वाचन क्षेत्र परिवर्तन गर्ने प्रचण्ड यसपटक लुम्बिनी प्रदेशको रुकुम पूर्व पुगेका छन्।

उनकै नेतृत्वमा माओवादीले जनयुद्ध थाल्दाको आधार इलाका यही प्रदेशमा पर्छ। त्यसैले उनलाई चुनाव जित्न कुनै कठिनाइ नहुनुपर्ने हो। त्यसमाथि नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी प्रचण्डविरुद्ध बलिया प्रतिस्पर्धी मैदानमा उतारेका छैनन्। बरु प्रगतिशील लोकतान्त्रिक पार्टीले सहिदपुत्र सन्दीप पुनलाई सो क्षेत्रमा उठाएको छ। साना दलले उठाएका उम्मेदवारले प्रचण्डलाई कतिको टक्कर दिन्छन्, त्यो चुनावमै देखिनेछ।

हुन त नेकपाले प्रचण्डलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेका छैनन्। तर, सो दलले सरकारको नेतृत्व गर्ने मौका पाए प्रधानमन्त्री हुने प्रचण्ड नै हुन्। कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीमा अगाडि सारेको छ। थापा मधेस प्रदेशको सर्लाही–४ बाट उठेका छन्। यसैगरी रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषित गरेको छ। उनी झापा–५ बाट उठेका छन्। सो क्षेत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि उठेका छन्। उनलाई पनि एमालेले प्रधानमन्त्रीमा अघि सारेको छ।

‘जसले घोषणा गरेका छन्, ती कोही प्रधानमन्त्री हुँदैनन् नेपालमा,’ माघ १३ गते पार्टी कार्यालय पेरिसडाँडामा प्रचण्डले भनेका थिए, ‘अरु नै हुन्छन्।’

प्रचण्ड मात्र होइन, एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको निर्वाचन क्षेत्र पनि लुम्बिनी प्रदेशमै पर्छ। एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट विजयी नभएको अवस्थामा र एमालेले सरकारको नेतृत्व गर्ने परिस्थिति बनेमा अघि सर्ने पौडेल र पोखरेलमध्ये एक हुनेछन्। तर त्यसका लागि उनीहरू पनि विजयी हुनु पर्नेछ। 

निर्वाचनपछि कुन पार्टीको वा कुन कुन पार्टी मिलेर सरकार बन्छ भन्ने निकै अन्योल रहेको अवस्थामा लुम्बिनी प्रदेशका यी तीनै जना प्रधानमन्त्री बन्न सक्ने उम्मेदवार हुन्।

राष्ट्रिय राजनीतिमा प्रभावशाली नेता नेकपाका वर्षमान पुन (रोल्पा), एमालेका प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका चन्द्र भण्डारी (गुल्मी) लुम्बिनीबाटै उम्मेदवार छन्। त्यस्तै नेपाली कांग्रेसका नेता विनोद चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ बाट उम्मेदवार छन्।

चर्चा र लहर हेर्दा लुम्बिनीका केही जिल्लामा रास्वपाको माहोल देखिन्छ। तर, लुम्बिनी प्रदेशमा १२ जिल्ला छन् जसमा २६ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र पर्छन्।

जसमध्ये रुपन्देहीमा सबैभन्दा बढी पाँच निर्वाचन क्षेत्र छन्। दाङ, बाँके र कपिलवस्तुमा ३–३ वटा निर्वाचन क्षेत्र छन्। यसैगरी, बर्दिया, नवलपरासी पश्चिम, गुल्मी र पाल्पामा समान २–२ वटा निर्वाचन क्षेत्र पर्छन्। अर्घाखाँची, प्यूठान, रोल्पा र रुकुम पश्चिममा १–१ वटा निर्वाचन क्षेत्र छ।

२०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचन भन्दा यसपटकको चुनावका लागि १ लाख ३७ हजार ४३ नयाँ मतदाता थपिएर ३३ लाख ८६ हजार ६८० पुगेका छन्। त्यसमध्ये रुपन्देही, दाङ, कपिलवस्तुमा दलहरूले विशेष ध्यान दिएका छन्। किनकि, यहाँ मतदाता बढी छन्।

रुपन्देहीमा ६ लाख ७२ हजार ५२३ छन्। दाङमा ४ लाख ३१ हजार ६०६ हुँदा बाँकेमा ३ लाख ५० हजार ३७१ छन्। बर्दियामा ३ लाख २३ हजार २६६ हुँदा कपिलवस्तुमा ३ लाख ९६ हजार २६५ मतदाता छन्। यस्तै, नवलपरासी पश्चिममा २ लाख ५४ हजार १५७, गुल्मीमा २ लाख २९ हजार ५४९ मतदाता छन्।

यही कारण पछिल्लो दिन नेकपा, एमाले, कांग्रेस र रास्वपा यी क्षेत्रलाई महत्व दिएर चुनावमा खटिएको बुटवल बहुमुखी क्याम्पसमा राजनीतिशास्त्रका उपप्राध्यापक उद्धव सापकोटा बताउँछन्।

पहिलो शक्ति बन्छौँ : एमाले
उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल उम्मेदवार रहेको यो प्रदेशलाई एमालेले विशेष महत्व दिएको छ। रुपन्देही–२ बाट उपाध्यक्ष पौडेल र दाङ क्षेत्र–२ बाट महासचिव पोखरेल उम्मेदवार छन्। यी दुवै क्षेत्रलाई एमालेले जित्ने सूचीमा राखेको छ।

यस्तै, रुपन्देहीका १, ३, ४ र ५, गुल्मीका दुई वटै निर्वाचन क्षेत्र, पाल्पाका २ वटै क्षेत्र, बाँकेका २ वटा एमालेको जित्ने सूचीमा छन्। रुकुम पूर्व, रोल्पा जित्ने सूचीमा छैन। प्युठान, दाङका १ र ३ क्षेत्र, कपिलवस्तुका ३ वटै र बर्दियाका २ वटै क्षेत्रमा तीव्र प्रतिस्पर्धा हुने एमालेको आन्तरिक बुझाइ छ।

एमाले सचिव पद्मा अर्यालले लुम्बिनीमा एमाले पहिलो शक्ति बन्ने दाबी गरिन्।

‘दाङमा महासचिव जित्नुहुन्छ, विष्णु पौडेल पनि संसदमा आउनुहुन्छ,’ अर्यालले भनिन्, ‘प्रदेशभर १६ वटा क्षेत्र जित्न सक्छौँ।’

कांग्रेस कि फस्ट हुन्छ कि सेकेन्ड
अघिल्लो चुनावभन्दा धेरै सुधार गरेर यो प्रदेशमा कांग्रेसले बलियो उपस्थिति जनाएको सो पार्टीका नेताहरुको दाबी छ। तर, पार्टीभित्रकै नेताबाट असहयोग हुने खतराले कांग्रेस नेताहरू चिन्तित छन्।

कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन रुपन्देही, कपिलवस्तु र नवलपरासीमा देखिएको आन्तरिक समस्या समाधान भए नतिजा राम्रो आउने बताउँछन्।

कांग्रेसले जित्ने निश्चित भएका क्षेत्रमा दाङ–१, रुपन्देही–२ र ५, बर्दियाका २ वटा, कपिलवस्तुका २ वटा, प्यूठान र अर्घाखाँची छन्। रोल्पा, रुकुम पूर्व, गुल्मी भन्न नसकिने सूचीमा छ।

तर, नवलपरासी–१ र २, रुपन्देहीका १, ३, ४, कपिलवस्तु–२ र ३ र बाँकेका ३ वटै क्षेत्रमा पार्टीभित्रका आन्तरिक समस्या समाधान गरेर मेहनत गर्दा जितिने लुम्बिनी प्रदेश सभापति पुनले बताए।

नेताहरूकै असहयोग र आन्तरिक समस्या समाधान नभए केही क्षेत्रमा पराजित हुने खतरा रहेको उनको भनाइ छ।

‘रुपन्देही–२ मा हामी जित्छौँ, त्यहाँ एमाले उपाध्यक्ष अहिलेसम्म तेस्रो स्थानमा हुनुहुन्छ,’ पुनले नेपालखबरसँग भने, ‘रुपन्देही–५ मा पनि हामी जित्छौँ। बाँकेका ३ वटैमा हामी अगाडि छौँ। नवलपरासी, कपिलवस्तुका केही क्षेत्रमा देखिएको आन्तरिक समस्या समाधान भए जित्न सकिन्छ। रुपन्देहीका १, ३ र ४ मा जे जति हुनुपर्थ्यो भइरहेको छैन, यसले समस्या ल्याउला जस्तो छ। केही जातीय मत जोगाउन सके कपिलवस्तु–२ र ३ जित्न सकिन्छ। अलि मेहनत गर्दा पाल्पाको १ वटा क्षेत्र पनि जित्छौँ।’

यसपटक लुम्बिनीमा कांग्रेसको संगठन चलायमान भएको र बदलिएर आएकोले चुनावमा माहोल ल्याएको पुनले बताए। तर, चुनाव आउन १७ दिन बाँकी रहेकोले अहिले बनेको आधार थप बढ्ने वा घट्ने खतरालाई नकार्न नसकिने उनको भनाइ छ।

‘यो प्रदेशमा कांग्रेस कि फस्ट हुन्छ कि सेकेन्ड,’ उनले थपे, ‘प्रतिस्पर्धा कुन क्षेत्रमा कोसँग होला अर्कै कुरा हो तर, यसपटक कांग्रेस कहीँ पनि तेस्रोमा रहँदैन।’

दस क्षेत्र जित्ने नेकपाको प्रक्षेपण
प्रचण्ड यही प्रदेशबाट उठेकाले नेकपाले राम्रो नतिजा ल्याउने सो पार्टीका नेताहरु बताउँछन्।

रुकुम पूर्व, रोल्पा, बर्दियाको एउटा क्षेत्र, बाँकेको एउटा क्षेत्र, दाङको एउटा क्षेत्र, कपिलवस्तुको एउटा क्षेत्र, रुपन्देही–५ र गुल्मी–१ नेकपाको जित्ने सूचीमा छ। पाल्पा, दाङ–३, रुपन्देही–३ पनि नेकपाले उस्तै परे जित्न सकिनेसूचीमा राखेको छ।

नेकपाका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले धेरै क्षेत्रमा कांग्रेस र एमालेको प्रतिस्पर्धामा रास्वपा पनि मिसिँदा नेकपालाई फाइदा पुग्ने बताउँछन्।

‘यसपटक हाम्रो संयोजक प्रचण्ड नै यो क्षेत्रमा आउनुभएको छ, त्यही भएर पनि हाम्रो पार्टीको पक्षमा माहोल राम्रो देखिएको छ,’ उनले भने, ‘लुम्बिनीका सबै क्षेत्रमा हामी १० क्रस गर्छौँ भन्ने हो, तर यो माहोल चुनावसम्म कायम राख्न सक्छौँ कि सक्दैनौँ चुनौती छ।’

चार पटक पुगिसके रवि र बालेन
यसपटक रुपन्देहीलगायत क्षेत्रमा रास्वपाले सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई कम्तीमा चार पटक लगिसकेको छ। किनकि, लुम्बिनीबाट धेरै सिट जित्ने लक्ष्य रहेको नेताहरू बताउँछन्।

रास्वपाले फागुन २१ गते हुने चुनावमा देशैभरको अवस्थाबारे जानकारी लिन रिसर्च टिम बनाएको थियो। त्यही टिमले सुझाव दिएपछि रवि र बालेन रुपन्देही र आसपासका जिल्ला पुगेका हुन्। जसको प्रभाव देखिन थालिसकेको सो टोलीका एक सदस्यले बताए।

तर, रुकुम पूर्व, रोल्पा र प्यूठान रास्वपाको जित्ने सूचीमा परेको छैन। एक हप्तायता पाल्पा राम्रो भएको, रुपन्देही–२, ३, र ५ मा जित्ने आधार बनिसकेको उनको भनाइ छ।

‘अरु प्रदेशभन्दा लुम्बिनीमा राम्रो भएको छ, दाङका तीन वटै क्षेत्र जित्छौँ, हाम्रो त्यहाँ प्रतिस्पर्धी नै छैन,’ रास्वपाको चुनावी रिसर्च टिमका ती सदस्यले भने, ‘रुपन्देही–२ पनि सजिलै जित्छौँ। किनकि, त्यहाँ राप्रपाले दिएको उम्मेदवारी फिर्ता लिएकोले सुलभजीलाई फाइदा पुग्ने देखिन्छ।’

गुल्मी, बर्दिया, कपिलवस्तु, नवलपरासीलगायत अन्य क्षेत्रमा जित्नका लागि धेरै मेहनत गरेको रास्वपाका नेताहरू दाबी गर्छन्।

बुटवल बहुमुखी क्याम्पसमा राजनीति शास्त्रका उपप्राध्यापक सापकोटा रास्वपाले रुपन्देही, दाङ, गुल्मीमा राम्रै प्रभाव पार्न सक्ने बताउँछन्।

‘हिजो एमालेमा प्रतिबद्ध व्यक्तिहरू समेत यसपटक मत फेर्ने मुडमा रहेको बताएबाट यस प्रदेशका केही जिल्लामा रास्वपाले नसोचेको परिणाम ल्याउने देखिन्छ,’ उनले भने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad