राजनीति


‘जता हावा चल्यो, उतै बग्ने’ दाङ २ : चौपक्षीय भिडन्तमा के छ शंकर पोखरेलको अवस्था

‘जता हावा चल्यो, उतै बग्ने’ दाङ २ : चौपक्षीय भिडन्तमा के छ शंकर पोखरेलको अवस्था

चन्द्रलाल गिरी
फागुन ५, २०८२ मंगलबार २३:११, काठमाडौँ

फागुन २१ मा हुने निर्वाचनमा दाङ–२ मा नेकपा एमालेका महासचिव शंकर पोखरेल र अन्य राजनीतिक दलका प्रतिनिधिहरूबीच निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ। बलियो संगठन, विगतको जनाधार र राष्ट्रिय व्यक्तित्वको आधारमा हेर्दा पोखरेल सशक्त उम्मेदवार हुन्। तर जेनजी प्रदर्शनपछि बदलिएको परिस्थितिमा हुन लागेको यो निर्वाचनको नतिजाबारे अहिले नै आकलन गर्न हतार हुने स्थानीय नागरिक र बुद्धिजीवीहरूको भनाइ छ।

दाङ–२ का स्थानीय बुद्धिजीवी र घोराही नगरपालिकाका विभिन्न वडाका मतदाताको विश्लेषणमा एमालेका महासचिव समेत रहेका पोखरेल थोरै मतले अरु प्रतिस्पर्धीहरूभन्दा अगाडि छन्। उनको निकटतम प्रतिस्पर्धी को हुन सक्छ भन्ने प्रश्नको उत्तर ठम्याउन अझै हम्मे–हम्मे परेको उनीहरुको भनाइ छ। 

एमाले महासचिव पोखरेलसँगको प्रतिस्पर्धामा नेपाली कांग्रेसका किरणकिशोर घिमिरे, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का निर्मल आचार्य र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्य छन्।

कांग्रेस, नेकपा र रास्वपा तीन वटै पार्टीहरूले प्रमुख प्रतिस्पर्धी पोखरेल नै भएको ठम्याएका छन्। यस आधारमा हेर्दा पोखरेल चौपक्षीय प्रतिस्पर्धामा प्रमुख पात्र रहेको विश्लेषण गर्न सकिन्छ।

‘तपाईंको निकटतम प्रतिस्पर्धा कोसँग हुँदैछ’ भन्ने प्रश्नमा पोखरेलले भने– ‘दाङ जिल्लाको हकमा म सबैको अभिभावक भूमिकामा छु। मैले मुख्यमन्त्री भएको समयमा मात्र होइन, गत निर्वाचनमा पराजय हुँदा पनि यहाँको विकासका लागि हाम्रो पार्टी एमाले सरकारमा रहेको समयमा सदाबहार रूपमा उस्तै भूमिका खेलेको छु। मेरो प्रतिस्पर्धी यो वा ऊ भन्ने छैन। सबैको माया र सम्मान मलाई छ। जनताले मलाई भारी मतले विजय गराउने वचन दिनुभएको छ।’

पोखरेलले जस्तै रास्वपाका नेता विपिन आचार्य पनि प्रतिस्पर्धीको नाम लिन चाहँदैनन्। उनले जनमत परिवर्तनको पक्षमा भएको दाबी गरे।

पोखरेल प्रमुख दाबेदार
कतिपयले पोखरेल र रास्वपाका आचार्यबीच कडा टक्कर हुने आकलन गरेका छन् भने कतिपयले नेपाली कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने विश्लेषण गरेका छन्।

कांग्रेस र एमालेको धेरै मत रास्वपाले तान्ने भएकाले बीचमा त्यसको लाभ नेकपाले लिन सक्छ भन्नेहरू पनि छन्। तर, नतिजा आफ्नो पक्षमा पार्नेले एकदमै थोरै अन्तरले जित्नेमा धेरैको मत मिलेको देखिन्छ।

उपप्राध्यापक सुदर्शन रिजालले पुरानो पृष्ठभूमि हेर्दा संगठन र जनपरिचालनका दृष्टिले एमाले बलियो रहेको बताए।

‘क्षेत्र नं २ मा अहिलेको निर्वाचनमा १ लाख ४१ हजार २ सय ६५ मतदाता छन्। चौपक्षीय भिडन्त हुने देखिएकोले करिब २० हजारमाथि मत ल्याउनेले जित्ने अवस्था छ,’ उनले थपे।

०७९ सालमा भएको निर्वाचनमा नेपाली कांग्रेस र तत्कालीन नेकपा (एकीकृत माओवादी)बीच गठबन्धन हुँदा पोखरेलले १९३ मतान्तरले मात्र हार व्यहोर्नु परेको थियो। माओवादीकी रेखा शर्माले २६ हजार ८८० मत ल्याउँदा पोखरेलले २६ हजार ६८७ मत प्राप्त गरेका थिए।

अहिलेको निर्वाचनमा पोखरेल निर्वाचनमा कुनै गठबन्धन नहुनु पनि जितको आधार भएको बताउँछन्।

‘जेनजीले उठाएको मागको पक्षमा म जहिल्यै लड्दै आएको छु। भ्रष्टाचार नियन्त्रण, सुशासन, र विकास निर्माणमा मेरो अग्रणी भूमिका छ। कहिल्यै मेरो आचरण र स्वच्छ छविमा आजसम्म प्रश्न उठाउने ठाउँ छैन। यही नै मेरो विजयको आधार हो,’ पोखरेल भन्छन्।

दाङ क्षेत्र नं २ मा जम्मा २७ वटा वडाहरू छन्। जसमा एमाले र कांग्रेसले १०–१० र नेकपाले ७ वटा वडा जितेका छन्। त्यसमा एमालेले जितेका वडा ४ र ८ का वडाध्यक्षहरूले पार्टी परिवर्तन गरिसकेका छन्।

घोराही–४ का चिन्तामणि शर्माले दाङ जता हावा लाग्यो उतै बग्ने ठाउँ भएको सुनाए। 

‘०६४ सालमा ५ क्षेत्रमा सबै माओवादीले जित्यो। फेरि ०७० सम्ममा नेपाली कांग्रेसले सबै जित्यो। तर अहिले भने कुनै दलबीचमा गठबन्धन छैन, त्यसैले पोखरेल अरुभन्दा अलि बलियो देखिन्छन्। यद्यपि घोराही नगरपालिकाका सहरी क्षेत्रहरू १०, १४ र १५ वडामा रास्वपाको प्रचार बढी छ भने थारु बस्तीमा एमालेको पकड देखिन्छ,’ उनले भने।

यस सन्दर्भमा पत्रकार टीका बस्नेत भन्छन्– ‘यी ४ र ८ वडाहरूमा अध्यक्षहरूले पार्टी परिवर्तन गरे पनि जनमत बिग्रिएको छैन। अरु वडाहरूमा सुधार भएको छ भने २६ हजार मत भएको थारु समुदायमा एमालेको राम्रो पकड छ। त्यसैले हामी सहज अवस्थामा छौँ।’

घोराही खेलकुद विकास समितिका संयोजक नरेन्द्र पन्थ पनि पोखरेल बलियो दाबेदार भएको बताउँछन्।

‘पोखरेल एमालेको दोस्रो ठूलो नेता हुन्। विगतमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा विकास निर्माणमा महत्वपूर्ण भूमिका खेलेको र उहाँको स्वच्छ छवि पनि छ। उनले लुम्बिनी प्रदेशको राजधानी दाङ ल्याउन मुख्य भूमिका पनि खेलेका हुन्। विगतको विरासत र संगठनको आधार हेर्दा उनीसँग अरुको कडा प्रतिस्पर्धा हुन नपर्ने हो। एमालेको जनाधार मात्र जोगाए पनि उनको जित निश्चित देखिन्छ,’ उनी भन्छन्।

तर एमाले सरकारमा भएको समयमा जेनजी विद्रोहपछि त्यसले ल्याएको तरंगले मतदातामा कस्तो असर पारेको छ भन्ने कुरा पुरानो मताधार र संगठनको आधारमा मात्र विश्लेषण गर्न नहुने तर्क पनि बलियो छ। परिवर्तनपछिको अवस्थामा रास्वपाको प्रभाव विस्तार भइरहेको तथ्यलाई पनि ध्यानमा राखेर विश्लेषण गर्नुपर्ने हुन्छ।

नेपाली कांग्रेस दाङ क्षेत्र नं २ का प्रदेश सभापति प्रकाश श्रेष्ठले खास प्रतिस्पर्धा एमालेका महासचिव पोखरेल र कांग्रेसका घिमिरेबीच हुने दाबी गरे। उनले नयाँ नेतृत्व आएपछि कांग्रेसभित्रको आन्तरिक कलह समाधान भएको हुनाले केही युवाहरू रास्वपामा जाँदैमा खासै फरक नपर्ने उल्लेख गर्दै भने– ‘रास्वपाको फेसबुक र बजारमा हल्ला देखिएको हो, मतदानमा त्यस्तो असर देखिँदैन।’

यता तत्कालीन नेकपा एकीकृत माओवादीका लुम्बिनी समिति सदस्य निर्मल महरा भने एमाले महासचिव पोखरेल नै प्रमुख प्रतिस्पर्धी भएको जनाउँछन्। 

‘बाहिर प्रचारमा एमाले र रास्वपाबीच प्रतिस्पर्धा भनिए पनि खासगरी नेकपाका निर्मल आचार्य र पोखरेलबीच प्रतिस्पर्धा हुन्छ,’ उनले थपे– ‘रास्वपाले अरुको भोट बढी काट्छ तर नेकपाको मत सुरक्षित छ भने अर्कोतिर रोल्पाबाट बसाइँ सरेर आउनेहरूको संख्या पनि यो क्षेत्रमा उल्लेखनीय छ।’ 

विभिन्न वामपन्थी घटकहरूसँग एकता गरेर बनेको नेकपा पनि बलियो रहेको महराको तर्कसँग वाम बुद्धिजीवी यश गौतमले पनि सहमति जनाए।

‘पुराना दलप्रति असन्तुष्टि र नयाँप्रति सशंकित भएकाले जनताको मत कता पोखिन्छ भन्ने कुराको निष्कर्ष अहिले नै निकाल्न सकिन्न तर नेकपाले अरु दलबीचको प्रतिस्पर्धाबाट फाइदा लिन सक्छ,’ उनले विश्लेषण गरे।

गौतमले रास्वपाको पनि जित्ने अवस्था नभएको उल्लेख गर्दै भने– ‘पोखरेल मुख्य दाबेदार हुन्। हजारदेखि १५ सयको अन्तरमा मात्र विजय हुने अवस्था देखिन्छ।’

गौतम थप्छन्– ‘रास्वपाका सहमहामन्त्री विपिन आचार्यले संघीय निर्वाचनमा पहिलो पटक भाग लिँदैछन्। उनी पुस्तक व्यवसायी हुन्। उनी प्रायः काठमाडौंमै बस्ने भएकाले जनतासँग खासै घुलमिल हुन सकेका छैनन्। बरु ०७९ को निर्वाचनमा रास्वपाबाट विशाल अधिकारीले १५ हजार ८६१ मत ल्याएका थिए। उनी भएको भए रास्वपाले बढी प्रभाव पार्न सक्थ्यो।’

घोराही नगरपालिका वडा नं ६ का खड्ग ओली र डा लोकराज पराजुली दुवै पोखरेलको मुख्य चुनौती विगतको मत बचाउनु भएको बताउँछन्। 

‘यदि आफ्ना कार्यकर्ता र मत जोगाउन सके भने मात्र पनि उनको विजय सहज हुने देखिन्छ तर जनताको निराशा कता गएर पोखिने हो भन्ने पत्तो छैन,’ उनीहरूको तर्क छ।

घोराही–९ निवासी दीपक गिरी र दाङका प्रतिष्ठित उद्योग–व्यवसायी मंगल गिरीले भने रास्वपाको प्रचार राम्रो भएको जानकारी दिए। युवा र महिलाहरू परिवर्तनको पक्षमा रहेको उनीहरूको तर्क थियो।

यी माथिका तर्कहरू र विश्लेषणभन्दा अलि फरक मत राख्दै महेन्द्र बहुमुखी क्याम्पस दाङका उपप्राध्यापक निर्मल गौतम भने निर्वाचनको प्रभाव अहिलेसम्म कार्यकर्ताको बीचमा मात्र रहेको सुनाउँछन्। 

उनले थपे– ‘जनताको स्तरमा उम्मेदवार, उनीहरूको एजेन्डा, विचार र प्रतिबद्धताहरूको बारेमा अहिलेसम्म बहस भएको छैन। यद्यपि विगतको आधार र तथ्याङ्कलाई आधार मान्दा त पोखरेल नै बलियो देखिन्छन्। पछिल्लो अवस्थाको अझै विश्लेषण गर्ने समय भइसकेको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad