युरोपको उदाउँदो श्रम गन्तव्य पोर्चुगलमा नेपाली दूतावासको ‘चान्सरी’ बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। ७६ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर परराष्ट्र सचिव अमृतबहादुर राई र पोर्चुगलकी विदेश मामिला तथा सहयोग राज्य सचिव डा. आनाइसाबेल जेभियरले संयुक्त रूपमा दूतावासको उद्घाटन गरेका हुन्।
गत वर्ष वैशाख ३ (१६ अप्रिल २०२५) देखि नै सेवा सुरु गरेको दूतावासले औपचारिक स्वरूप पाएसँगै दुई देशबीचको कूटनीतिक र आर्थिक सम्बन्धले नयाँ मोड लिने विश्वास गरिएको छ। उद्घाटनपछि सचिव राईले दूतावासको उपस्थितिले नेपाल र पोर्चुगलको मित्रतालाई संस्थागत गरेको बताए। पोर्चुगलकी राज्य सचिव जेभियरले नेपाली दूतावासलाई स्वागत गर्दै भविष्यमा हुने हरेक कूटनीतिक सहकार्यमा पोर्चुगल सरकारको पूर्ण साथ रहने प्रतिबद्धता जनाइन्।
दूतावास उद्घाटन लगत्तै आयोजना गरिएको अन्तरक्रियामा स्थानीय नेपाली समुदायले आफ्ना सास्ती पोखेका छन्। करिब ४० हजारको संख्यामा रहेका नेपालीका प्रतिनिधिहरूले दूतावासले लिने सेवा शुल्क महँगो भएको र कागजी प्रक्रिया झन्झटिलो रहेको गुनासो गरे।
'सेवा त सुरु भयो, तर शुल्क निकै चर्को छ,' अन्तरक्रियामा सहभागी एक प्रतिनिधिले भने, 'कागजी झमेलाले गर्दा श्रमिकहरू मर्कामा परेका छन्, यसलाई सरकारले सहजीकरण गरिदिनुपर्छ।' जवाफमा परराष्ट्र सचिव राईले नेपालीका समस्या समाधानका लागि मन्त्रालय सकारात्मक रहेको र प्रक्रियागत सुधारका लागि पहल गर्ने आश्वासन दिए।
श्रम सम्झौताको जग
सन् २०१८ मा गठित नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा सहभागी हुन सचिव राई लिस्बन पुगेका हुन्। यो भ्रमणले वर्षौंदेखि थाती रहेको द्विपक्षीय श्रम सम्झौताको जग बसाल्ने अपेक्षा गरिएको छ। हाल पोर्चुगलमा नेपालीहरू कृषि, सेवा र औद्योगिक क्षेत्रमा संलग्न छन्। दूतावास स्थापनासँगै उनीहरूको राहदानी, भिसा र अन्य कानुनी समस्या सुल्झाउन सहज हुने देखिएको छ।
सोही अवसरमा २०८२ को संविधान दिवसमा आयोजित लेख रचना प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गरिएको थियो। परराष्ट्र सचिव राईले काठमाडौंका प्रशान्त श्रेष्ठ (प्रथम) र पत्रकार कपिलदेव खनाल (द्वितीय)लाई प्रशंसा पत्रसहित जनही २०० युरो (करिब ३२ हजार रुपैयाँ) प्रदान गरे।
समारोहमा पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, कूटनीतिक कोर्प्सका डीन एन्ड्रेस कार्रास्कोसा कोसो लगायतको उपस्थिति थियो।
यो पनि: ४० हजार नेपाली रहेको पोर्चुगलसँग कूटनीतिक सम्बन्ध कसिलो बनाउँदै नेपाल
Shares

प्रतिक्रिया