राजनीति


कुन पार्टी पहिलो बन्ला– रास्वपा, कांग्रेस कि एमाले? यसो भन्छन्– काठमाडौँमा मतदाता (भिडिओ)

कुन पार्टी पहिलो बन्ला– रास्वपा, कांग्रेस कि एमाले? यसो भन्छन्– काठमाडौँमा मतदाता (भिडिओ)

आयुषा ढकाल
फागुन ९, २०८२ शनिबार १७:३३, काठमाडौँ

बिहीबार अपराह्न साढे ४ बजेतिर काठमाडौँको क्षेत्र नम्बर ४ को कपन तरकारी बजारमा निकै भिड बढिसकेको थियो। कोही मकै पोलेर बेच्न त कोही तरकारी बेच्नमा व्यस्त थिए। देश चुनावमय भइरहेको बेलामा उनीहरू भने आफ्नै काममा व्यस्त देखिन्थे। 

‘साग मुठाको २५, आलु किलोको ३०’ ले बजार गुञ्जिएको थियो।

सोही स्थानमा दुई जना जेन–जी उमेर समूहका दिदीबहिनी गाडामा तरकारी बेच्दै थिए। स्थानीयको जनमत बुझ्न कपन, बुढानीलकण्ठ र कालोपुल पुगेको नेपालखबरको टोलीले उनलाई प्रश्न गर्‍यो, ‘तपाईंको विचारमा फागुन २१ को चुनावपछि कुन दल पहिलो बन्ला?’ 

प्रश्न भुइँमा खस्न नपाउँदै उनले जवाफ दिइन्, ‘अब त बालेनकै हो।’

उनी काठमाडौँ क्षेत्र नम्बर ४ कै मतदाता रहिछिन्। युवाहरूको लागि रास्वपाले देशमै केही गर्छ भन्ने आशा उनलाई रहेछ।

हामी काठमाडौँ ४ मा कसले चुनाव जित्ला वा तपाईं कसलाई मत दिनुहुन्छ भनेर सोध्न त्यहाँ गएका थिएनौँ। हाम्रो प्रश्न– फागुन २१ को चुनावबाट कुन पार्टी सबैभन्दा ठूलो बन्ला, के कारणले भन्ने थियो। 

क्षेत्र नम्बर ४ कै अर्का मतदाता भने जुन पार्टी आए पनि पाँच वर्षको कार्यकालका साथ आओस् भन्ने चाहन्छन्। उनले अबको सरकार विभिन्न दल मिलेर बन्न सक्ने सम्भावना रहेको धारणा व्यक्त गरे।

चाहे बुढानीलकण्ठ मन्दिरमा राजनीतिक गफगफ गर्दै बसेका ७० वर्षीय वृद्ध र ४० वर्षका अधबैँसे हुन् या कपनको तरकारी बजारमा गाडामा तरकारी बेचिरहेकी जेन–जी युवा, धेरैजसोको मुखमा घण्टीकै नाम छ। धेरैजसोलाई चुनावी विषयमा खुबै चाख रहेको देखियो। अनि नयाँ दल भनिएको रास्वपाको लहर पनि।

अधिकांश मतदाताले निर्धक्क अबको पहिलो पार्टी रास्वपा बन्ने बताए।

कोही ‘अब अहिले माहोल नै घण्टीको छ’, भन्छन् त कोही ‘पुराना कांग्रेस, एमालेलाई त धेरै हेरियो, अब रास्वपालाई हेर्छौं’ भन्छन्।

भिडिओमा देखिन नचाहने केही मतदाताले सांगठनिक रुपमा कांग्रेस बलियो भएको बताए। अन्यत्र रास्वपाको लहर भए पनि काठमाडौँ ४ मा चाहिँ कमजोर रहेको उनीहरूको भनाइ छ।

काठमाडौँ ४ लामो समयदेखि कांग्रेसको पकड रहेको क्षेत्र हो। कांग्रेस सभापति गगन थापाले यहीँबाट लगातार चुनाव जितेका थिए। तर, यसपटक उनी सर्लाही ४ झरेका छन्। आफू मधेस झरेपछि थापाले युवा नेता सचिन तिमिल्सिनालाई टिकट दिएका छन्।

एमालेबाट यसअघिका चुनावमा पटकपटक थापासँग पराजित भएका डा राजन भट्टराई उम्मेदवार छन्। नेकपाले इन्द्र भुसाललाई टिकट दिएको छ। तर, मतदाता यी उम्मेदवारको नाम विरलै लिन्छन्।

अचम्मको कुरा, घण्टीमा भोट हाल्छौँ भन्ने कतिपय मतदातालाई घण्टीका उम्मेदवारबारे चासो छैन। रास्वपाले यहाँ पुकार बमलाई उठाएको छ।

अझ रोचक पक्ष यी क्षेत्रमा भेटिएका बाहिरी मतदाता समेत घण्टीको लहरबाट प्रभावित देखिन्छन्।

केही मतदाता भने जुनसुकै पार्टीको लहर आए पनि आफूले वर्षौंदेखि मत दिँदै आएको पार्टी नछाड्ने बताइरहेका थिए।

भिडिओ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad