प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु-१ मा उमेदवारले प्रचारप्रसार अभियानलाई तीव्रता दिइरहेका छन् । घरदैलो र मतदाता भेटघाटमा ब्यस्त रहेका उम्मेदवार स-साना चुनावी सभा पनि गरिरहेका छन्।
नेपाली कांग्रेस र नेकपा (एमाले) प्रतिस्पर्धी रहेको यो क्षेत्रमा यस पटक भने चुनावी माहोल फरक देखिएको छ। विशेष गरी कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका युवा नेता आशिष शर्माको प्रवेशले चुनावी प्रतिस्पर्धा रोचक बनाएको छ।
स्वतन्त्र उम्मेदवार शर्मा कांग्रेसका पुराना नेता एवं पूर्वराजदूत दीपकुमार उपाध्यायका छोरा हुन्। कांग्रेसले दुवै जनासँगै शर्मालाई साथ दिने स्थानीय नेता तथा कार्यकर्तालाई कारबाहीका लागि सिफारिस गरेको छ। यसले पनि चुनावी माहोल तताएको छ।
यो क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी ३४ उमेदवार चुनावी मैदानमा छन्। तथापि, कांग्रेस र एमालेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पनि प्रतिस्पर्धामा छन्। त्यस्तै, स्वतन्त्र उम्मेदवार शर्माले पनि टक्कर दिइरहेका छन्। कांग्रेसका अतहर कमाल मुसलमान, एमालेका विश्रामप्रसाद चौधरी थारू, रास्वपाका मोहन आचार्य र नेकपाका कृष्ण कुँवर प्रतिस्पर्धा गरिरहेका छन्।
अर्को, दुई प्रभावशाली नेता एमालेका बलराम अधिकारी र नेकपा चन्द्रप्रकाश खनाल ‘बलदेव’ चुनावी मैदान बाहिर हुँदा पनि यो क्षेत्रमा प्रतिस्पर्धा तिव्र बनेको छ। २०७९ सालको निर्वाचनमा एमालेका अधिकारी निर्वाचित भएका थिए भने निकटतम प्रतिस्पर्धीमा तत्कालीन नेकपा (माओवादी केन्द्र)का खनाल थिए।
यस्ता छन् उम्मेदवार
कांग्रेसका अतहर कमाल २०६४ सालमै संविधान सभा सदस्य भएका थिए। २०७० सालमा तत्कालीन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार बनेका उनी यसपटक उपाध्यायले टिकट नपाएपछि उनलाई चुनावी मैदानमा उत्रिने मौका मिलेको हो। कांग्रेसका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका उनले संविधान सभामा मुस्लिम, मधेसी, नागरिकता विधेयक लगायतका सवालमा संसद्मा आवाज उठाएका थिए। त्यसले पनि उनी मुस्लिम बाुहल्य दक्षिणी क्षेत्रमा लोकप्रिय छन्।
अहिले उनले सुशासन, स्वास्थ्य, शिक्षा, रोजगारी लगायतका मुद्दा उठाएका छन्। लामो राजनीतिक अनुभव, स्थानीय तहमा बनाएको जनसम्पर्क र पार्टीको संगठनात्मक संरचनालाई आधार बनाएर उनले मतदातासँग भोट मागिरहेका छन्।
एमालेका थारू पूर्वसांसद हुन्। राजनीतिक अनुभव र संगठनात्मक क्षमता भएका उनी स्थानीय स्तरमा परिचित नेता पनि हुन्। जसले गर्दा उनले एमाले कार्यकर्ता र समर्थकमा उत्साह थपेका छन्।
उनले स्थानीय मुद्दालाई प्राथमिकता दिएका छन्र। एमाले सरकारमा हुँदा विकास निर्माणको काम भएको र त्यसै अनुसार यो क्षेत्रमा पनि काम गर्ने उनी बताउँदै आएका छन्। यस क्षेत्रमा रहेका अधुरा काम पूरा गर्नु नै आफ्नो ध्येय रहेको उनको भनाइ छ।
नेकपाका उम्मेदवार कुँवर समाजसेवीका रुपमा परिचित छन्। गाउँ तहसम्म रहेको संगठनलाई सक्रिय बनाएर मत मागिरहेका छन्। गाउँगाउँमा परिचत भएकाले उनी बलियो प्रतिस्पर्धीका रुपमा देखिएका छन्।
त्यस्तै, रास्वपा नयाँ शक्तिका रुपमा आएको छ। रास्वपाका उम्मेदवार आचार्य कानुन व्यवसायी हुन्। परम्परागत राजनीतिक दलको विकल्प खोज्ने मतदातालाई लक्षित गर्दै उनले चुनावी अभियान चलाएका छन्।
टिकटको विवादले भने रास्वपालाई केही असर परेको छ। सुरुवातमा विक्रम थापालाई टिकट दिने चर्चा चलेको थियो। अन्तिममा कुँवरले टिकट पाएका थिए।
यसैगरी, राष्ट्रिय जनमोर्चाका माधव भाट क्षेत्रीसहित अन्य दलका उम्मेदवार पनि प्रचारप्रसारमा छन्। त्यससँगै स्वतन्त्र उम्मेदवारले पनि प्रचारप्रसारलाई तिव्र पारेका छन्। यद्यपि, प्रचारप्रसार, सार्वजनिक बहस र राजनीतिक गतिविधिलाई हेर्दा मुख्य प्रतिस्पर्धा प्रमुख दल र स्वतन्त्र उमेदवार शर्माबीच हुने आकलन गर्न थालिएको छ।
मत विभाजन, दलगत समीकरण र अन्तिम समयमा हुने गठबन्धन वा रणनीतिक निर्णयले भूमिका खेल्न सक्छ। विशेषगरी नयाँ मतदाता र युवा पुस्ताको मतदान प्रवृत्ति यस क्षेत्रको नतिजा निर्धारण गर्ने प्रमुख कारक बन्न सक्ने देखिएको छ।
जातीय र धार्मिक समीकरणले पनि यस क्षेत्रमा प्रभाव पार्ने गरेको छ। दक्षिणी क्षेत्रमा मुस्लिम र दलित समुदायको बाहुल्य छ भने उत्तरी क्षेत्रमा थारू समुदायको बाहुल्य छ।
कारबाहीले फरक पर्दैन: दीपकुमार उपाध्याय
कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उमेदवार बनेका शर्मा पनि प्रमुख दलका उम्मेदावरसँग प्रतिस्पर्धामा देखिएका छन्। पूर्वमन्त्री एवं पूर्वराजदूत उपाध्यायको राम्रो प्रभाव रहेको छ। त्यससँगै कांग्रेस कार्यकर्ताको पनि समर्थन रहेकाले शर्माले चुनावी अभियानलाई आक्रामक बनाएका छन् ।
घरदैलो कार्यक्रम, सामाजिक सञ्जालमार्फत सक्रिय प्रचार र युवापुस्तालाई केन्द्रमा राखेर उनले चुनावी मैदानमा फरक शैली अपनाएका छन्। परम्परागत दलप्रति निराश मतदातालाई आकर्षित गर्ने प्रयासमा उनी पनि देखिन्छन् ।
उपाध्याय आफै घरदैलोमा पुगेका छैनन्। आफू घरदैलोमा नगए पनि छोरा चुनावी मैदानमा भएकाले शुभेच्छा त रहने नै उनी सुनाउँछन्।
कांग्रेसले उपाध्यायसहित १९ जनालाई कारबाहीका लागि सिफारिस गरेको छ। त्यसले केही प्रभाव नपर्ने उनी बताउँछन्।
‘म राजनीतिबाट रिटार्यड भएको मान्छे हो। मलाई कारबाहीले केही फरक पर्दैन,’ उपाध्याय भन्छन्, ‘जिल्लाका साथीहरू डराउनु भयो, कारबाही गर्नुभयो।’
यही क्षेत्रमा लामो समय काम गरेकाले जिल्लाभरी नै आफूलाई माया गर्ने मान्छे रहेको उनी सुनाउँछन्। सबैलाई कारबाही गर्दा पार्टीलाई नै अप्ठ्यारो पर्ने उनको भनाइ छ। ‘जिल्लाभर हामीलाई माया गर्ने हुनुहुन्छ। कतिलाई कारबाही गर्ने हिम्मत हुन्छ र! सबैलाई कारबाही गरे पार्टी रहन्छ र?,’ उनी भन्छन्, ‘हेरौँ, केन्द्रले के भन्छ।’
यस्तो छ विगतको हिसाब
२०७४ सालको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का चक्रपाणि खनालले २९ हजार ७९९ मत पाएर निर्वाचित भएका थिए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका दीपकुमार उपाध्यायले २८ हजार ८५३ मत पाएका थिए।
त्यसैगरी संघीय समाजवादी फोरम, नेपालका अब्दुल रशिद खानले ११ हजार ८१२ मत पाउँदा नयाँ शक्ति पार्टी, नेपालका दानबहादुर कुर्मीले ४ हजार ६८९ मत प्राप्त गरेका थिए ।
त्यसपछि २०७९ सालको निर्वाचनमा भने परिणाम फरक देखियो। एमालेका बलराम अधिकारी ३४ हजार ६७५ मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी माओवादीका चक्रपाणि खनालले १८ हजार ९८३ मत पाएका थिए।
त्यस्तै, जनमत पार्टीका नरेन्द्रप्रसाद चौधरीले ८ हजार ३९६, नागरिक उन्मुक्ति पार्टीका राममिलन थारूले ६ हजार ७५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ध्रुवबहादुर रायमाझीले ४ हजार ३४१ र रास्वपाका सन्जुसिंह विष्टले ३ हजार ३७६ मत पाएका थिए।
गत निर्वाचनको समानुपातिक मत हेर्दा एमाले पहिलो पार्टी छ। एमालेले २६ हजार २५७ मत पाएको थियो। दोस्रो स्थानमा रहेको कांग्रेसले २० हजार ४९७ मत पाएको थियो।
यसैगरी, रास्वपाले ८ हजार २६०, नेकपा (एकीकृत समाजवादी)ले ६ हजार ६३०, नागरिक उन्मुक्तिले ५ हजार ९६४, जनमतले ४ हजार ५९८ मत र नेकपा (माओवादी केन्द्र) ले ३ हजार ९२३ मत पाएको थियो। अहिले यो क्षेत्रमा एक लाख ४७ हजार ६४९ मतदाता छन्।
Shares

प्रतिक्रिया