राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सोमबार (आज) हेटौँडा आउँदै छन्।
चुनावी सभालाई सम्बोधन गर्न लामिछाने हेटौँडा आउन लागेका हुन्। सभापति लामिछाने मकवानपुर आउन लागेकै दिनमा रास्वपा मकवानपुरका सभापति भरतप्रसाद पराजुलीले पार्टी परित्याग गरेका छन्।
पराजुलीलाई सभापति गगन थापाले कांग्रेसमा स्वागत गरिसकेका छन्।
मकवानपुर–२ मा कांग्रेसबाट उम्मेदवार बनेका बुद्ध लामालाई सघाउने गरी पराजुली कांग्रेसमा प्रवेश गरेका हुन्।
यतिबेला हेटाैँडामा सभापति लामिछाने मकवानपुर आउने दिन नै पराजुलीले उनलाई सप्राइज दिएको चर्चा छ। लामिछाने चुनावी माहोल बनाउन हेटौँडा जान लागेको दिन नै जिल्ला सभापतिको पार्टी परित्यागले रास्वपालाई धक्का लागेको छ।
पराजुली रास्वपा मकवानपुरका संस्थापक सभापतिसमेत हुन्।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा रास्वपाको तर्फबाट मकवानपुर–२ को उम्मेदवार बनेका उनले १२ हजार भन्दा धेरै मत ल्याएका थिए।
पराजुलीसहित मकवानपुर–२ को संघीय सभापति तथा निर्वाचन परिचालन कमिटीका संयोजक निराजन बर्तौला र युवा नेता राममणी न्यौपाने पनि रास्वपा त्यागेर कांग्रेसमा फर्किएका छन्। यसले कांग्रेसलाई उत्साहित बनाएको छ भने रास्वपामा निराशा।
आउँदो निर्वाचनमा पराजुलीलाई टिकट नदिएर रास्वपाका वरिष्ठ नेता बालेन शाह निकटका प्रशान्त उप्रेतीलाई टिकट दिएपछि पराजुली असन्तुष्ट बनेका थिए।
पराजुलीले पार्टी परित्यागको घोषणा गर्दै पार्टीभित्र देखिएका प्रवृत्तिले आफूलाई गम्भीर बनाएको बताएका छन्।
उनले आफू कुनै व्यक्तिको चाकरी गर्ने, व्यक्तिगत स्वार्थका लागि सम्झौता गर्ने वा आर्थिक प्रभावका आधारमा अघि बढ्ने मान्छे नभएको पनि दाबी गरेका छन्।
‘जुन उद्देश्य, मूल्य र आदर्शकासाथ पार्टीलाई बुझेका थियौँ, व्यवहारमा त्यसको ठीक विपरीत अवस्था विकसित हुँदै गएको महसुस भयो,’ पराजुलीले भने, ‘सीमित व्यक्तिहरूको प्रभाव, चाकरीवाद, आलोचनालाई अस्वीकार गर्ने संस्कार तथा आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको अवस्थाले निराश बनायो। मैले सधैँ इमान्दारीता, निष्ठा र जनसेवाको भावनाका साथ राजनीति गरेँ।’
Shares

प्रतिक्रिया