प्रतिनिधि सभाको निर्वाचनका लागि जापान सरकारले नेपाललाई आर्थिक सहयोग उपलब्ध गराएको छ।
जापानले आफ्नो खाद्य सहायता परियोजना अन्तर्गतको काउन्टरपार्ट फन्डमार्फत ३९ करोड ७५ लाख रुपैयाँ सहयोग गरेको हो। जापानी दूतावासका अनुसार उक्त रकम निर्वाचन व्यवस्थापन सफ्टवेयर अद्यावधिक गर्न, निर्वाचनमा खटिने कर्मचारीलाई तालिम दिन र मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न खर्च गरिनेछ।
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा यो सहयोग उपलब्ध गराइएको जनाइएको छ। लामो समयदेखि नेपालको विकास साझेदारका रूपमा रहेको जापानले यसपटकको निर्वाचन सहयोगले दुई देशबीचको मित्रता र आपसी सहयोगलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेको छ।
दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जापान र नेपालबीचको सात दशक लामो सम्बन्ध आपसी विश्वास र सहकार्यमा आधारित छ। यो सहयोगले नेपालको लोकतान्त्रिक प्रक्रियालाई थप सुदृढ बनाउन मद्दत पुग्नेछ।’
Shares

प्रतिक्रिया