राजनीति


बालेन र गगन मधेस झर्दा मधेसवादी दलको भोट बैंकमा धक्का, उपेन्द्र–सीकेलाई नै ‘खतराको घन्टी’

बालेन र गगन मधेस झर्दा मधेसवादी दलको भोट बैंकमा धक्का, उपेन्द्र–सीकेलाई नै ‘खतराको घन्टी’

सागर न्यौपाने
फागुन १३, २०८२ बुधबार ७:५५, काठमाडौँ

मधेसको राजनीतिमा वर्चस्व जमाएका दलहरूमाथि २०६४ पछि पहिलोपटक खतराको घन्टी बज्ने आकलन हुन थालेको छ। मधेस केन्द्रित दलहरू यसपटकको निर्वाचनमा आफ्नो अस्तित्व जोगाउन इतिहासकै सबैभन्दा रक्षात्मक अवस्थामा पुगेका छन्।

अघिल्लो पटक मात्र उदाएको चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टी, मधेसको राजनीतिका पुराना र अनुभवी खेलाडी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी, प्रभु साहको आम जनता पार्टीका नेताहरू समेत यसपटकको चुनाव जोखिमपूर्ण हुने देखिरहेका छन्। जबकि, यादवले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीसँग एकता गरेका छन्। 

महतो अशोक राईको जसपा र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी नेपालसँग कार्यगत एकता गरेर चुनावमा होमिएका छन्। तैपनि आफ्नै विरासत जोगाउन उनीहरूलाई हम्मे पर्ने ती दलसम्बद्ध नेताहरू बताउँछन्।

१८ वर्षअघि अधिकार, पहिचान र स्वाभिमानको नारा बोकेर मधेसमा आन्दोलनमार्फत मधेसकेन्द्रित दलहरू उदाएका थिए।

तर, यसपटक नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको चुनावी चालका कारण कारण मधेसमा उनीहरू तनावमा छन्। 

सभापति निर्वाचित भएपछि थापाले काठमाडौँ ४ छोडेर सर्लाही ४ बाट उम्मेदवारी दिएका छन्। जसकारण मधेसमा कांग्रेसको पक्षमा छुट्टै माहोल सिर्जना भएको छ।

उता काठमाडौँ महानगरको मेयरबाट राजीनामा दिएर झापा ५ मा उम्मेदवार बनेका बालेनले जनकपुरमा दिएको सम्बोधनपछि मधेसको राजनीतिलाई थप तरङ्गित बनाएको छ। युवाहरू उनको पक्षमा उत्रिएका छन्। 

यही दुई कारण मधेस आन्दोलनको राप र तापबाट जन्मिएका र राष्ट्रिय राजनीतिमा प्रभाव पारेका मधेसी दलका नेताहरूलाई यसपटक आफ्नै निर्वाचन क्षेत्र जोगाउन कठिन हुन सक्ने देखिन्छ। 

टुटफुटले सखाप मधेसकेन्द्रित दल 
उपेन्द्र यादवको नेतृत्वमा भएको मधेस आन्दोलनपछि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम अभूतपूर्व ५२ सिट जितेर देशकै चौथो ठूलो राजनीतिक शक्तिको रूपमा स्थापित भएको थियो। त्यो समय मधेस केन्द्रित दलहरू एकढिक्का र शक्तिशाली थिए।

तर, समयक्रमसँगै व्यक्तिगत महत्वाकाङ्क्षा र सत्ताको लुछाचुडँीले यी दलहरूमा विभाजनको रोग लाग्यो। २०७० को दोस्रो संविधानसभा निर्वाचनसम्म आइपुग्दा मधेसवादी दलहरू कयौँ टुक्रामा विभाजित भइसकेका थिए।

अहिलेको निर्वाचनसम्म आइपुग्दा मधेसमै केन्द्रित भएर चुनावी प्रतिस्पर्धामा केही दल होमिएका छन्। जसमा उपेन्द्र यादवको जसपा नेपाल, सीके राउतको जनमत पार्टी, राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी, प्रभु साहको आम जनता पार्टी, सतीशकुमार सिंहको स्वाभिमान पार्टी, डा शरदसिंह यादवको जनअधिकार पार्टी लगायतका छन्।

तर, यी सबै दल संकटमा छन्। उनीहरू कसैले पनि सहज रुपमा चुनाव नजित्ने आकलन छ।

थापाले कांग्रेसको गढ फिर्ता ल्याउने योजनासहित तराई मधेसमा आफूलाई केन्द्रित गराएका छन्।

रास्वपाका वरिष्ठ नेता शाहले धनुषा, महोत्तरी, सिराहा, सर्लाही र सप्तरीका जिल्लाहरूमा गरेको भ्रमणले मधेसी युवाहरूमा लहर सिर्जना गरिदिएको छ। यसकारण मधेसका मतदाताको मनोविज्ञान बदलिएको जसपा नेपालका एक नेताले बताए।

‘यहाँ रास्वपाका बालेनले व्यापक लहर ल्याएका छन्, गगनका कारण कांग्रेसले पुनर्जीवन पाएको छ,’ उनले नेपालखबरसँग भने।

एक पटक बालेनलाई मत दिने भनेर मानिसहरूले भन्न थालेको ती नेता बताउँछन्। 

उता कांग्रेस सभापति थापा मधेस झरेपछि सुस्ताएको कांग्रेस ब्युँतिएको मात्र होइन मधेसवादी दलको भोट बैंकमा धक्का लाग्न थालेको छ। 

‘बालेनको विकल्प कांग्रेसको नयाँ नेतृत्वमा देख्ने पनि छन्, जसकारण उसको पक्षमा पनि माहोल बढ्दै गएको छ। पहिलो संविधानसभापछि मधेसवादी दलहरू पहिलोपटक रक्षात्मक भएका छन्,’ उनले थपे।

मधेस राजनीतिको मियो मानिने उपेन्द्र यादव स्वयं यसपटक आफ्नो सिट जोगाउन निकै कसरत गरिरहेका छन्। अघिल्लो चुनावमा सप्तरी क्षेत्र नम्बर २ मै जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका उनी यसपटक सप्तरी क्षेत्र नम्बर ३ पुगेका छन्। 

‘यो क्षेत्रमा हाम्रो संगठन बलियो छ, ग्रासरुटमा उपेन्द्र यादव बलियो देखिनुभए पनि चुनौती छ, ठूलो मेहनत गर्नुपर्नेछ,’ उनको चुनावी कमान्ड गरिरहेका नेता महेश चौरसियाले भने, ‘चुनाव चाहिँ हारिँदैन।’

जसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारी आफूहरूले मधेसमा राम्रो सिट जित्ने दाबी गरे।

‘हामीले १५ क्षेत्रमा तीव्र प्रतिस्पर्धा हुने देखेका छौँ,’ उनले भने, ‘केही व्यक्तिको हावा चले पनि मधेसमा त्यो निर्णायक हुन सक्तैन।’ 

उता, अघिल्लो चुनावमा मधेसमा नयाँ शक्ति बनेर उदाएका सीके राउत र उनको दल जनमत पार्टी यसपटक घरभित्रैको विद्रोहमा फसेको छ। राउत स्वयंलाई पार्टीकै पूर्वसहकर्मीले चुनौती दिएका छन्।

सतीशकुमार सिंहले स्वाभिमान पार्टी गठन गरी राउतविरुद्ध उम्मेदवारी दिएका छन्। यस्तै, पार्टीका पूर्वप्रवक्ता डा शरदसिंह यादव जनअधिकार पार्टी खोलेर सप्तरी २ बाटै राउतविरुद्ध उम्मेदवार छन्। त्यसैले राउतलाई यसपटक सहज नहुने नेताहरू बताउँछन्।

जनमत पार्टीले मधेसको ३२ वटै क्षेत्रमा उम्मेदवारी दिएको छ। 

जनमत पार्टीका महासचिव चन्दन सिंहले पनि पपुलर भोटको राजनीति गरेका स्वतन्त्रसहितका दललाई रोक्ने प्रयास भइरहेको बताए।

‘विचारधारा र सिद्धान्तको भोट हाम्रै पक्षमा हुन्छ, त्यो कहीँ जाँदैन,’ सिंहले भने, ‘हामीलाई असर गर्दैन र हाम्रो अध्यक्षसहितका उम्मेदवार जित्नुहुन्छ।’  

जनमत पार्टीले अघिल्लो चुनावमा प्रत्यक्षमा एक सिट र  समानुपातिकबाट पाँच सिट जितेको थियो। तर, यसपटक रास्वपा र कांग्रेसले त्यो मत काट्ने आकलन छ। 

उता, लोसपाबाट अलग भएर राष्ट्रिय मुक्ति पार्टी नेपाल गठन गरेका राजेन्द्र महतो यतिबेला सर्लाही क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा छन्। तर, उनको लागि नेपाली कम्युनिस्ट पार्टीका महिन्द्रराय यादव भारी पर्ने देखिन्छ। यादव अघिल्लो पटक पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। 

‘मधेसमा देखिएको लहर यदि मतमा परिणत भयो भने यहाँ धेरै नेताको हालत २०६४ सालको जस्तै हुने सम्भावनालाई नकार्न सकिँदैन,’ महतोनिकट एक नेताले भने।

राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले मधेसमा कांग्रेसले माहोल बनाएको बताए।

‘सर्लाही २ मा हाम्रो अध्यक्षज्यूको प्रतिस्पर्धा कांग्रेससँग हुन्छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad