प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा मोरङ क्षेत्र नम्बर ३ को चुनावी माहोल तात्तिएको छ। यस क्षेत्रमा यसपटक त्रिपक्षीय भिडन्तको आकलन गरिए पनि सबैको नजर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा उम्मेदवार गणेश कार्कीमाथि छ। कार्कीले यस क्षेत्रमा प्रभावशाली मानिएका नेपाली कांग्रेसका उम्मेदवार तथा मेडिकल व्यवसायी सुनिलकुमार शर्मासँग प्रतिस्पर्धा गरिरहेका छन्।
काठमाडौँमा बसेर नीतिगत बहस गर्ने र पार्टीको विधान मन्थन विभागमा रहेर काम गरेका कार्की सहजै चुनाव जित्नेमा ढुक्क छन्।
मोरङ ३ स्थित पथरीमा भेटिएका उनले नेपालखबर ‘तत्कालै’सँग गफिँदै भने, ‘चुनौती कुन व्यक्तिसँग भन्दा पनि कुन पक्षका लागि भन्ने कुरा मुख्य हो। महाभारतमा पनि भिष्म पितामह जति नै राम्रो भए पनि हस्तिनापुरमा कौरवको शासन चल्नुपर्छ भन्ने पक्षमा उभिँदा उनी ढल्नुपर्यो। जनताले परिवर्तन खोजिरहेका छन्, त्यसैले यसपटक घन्टीमा मतदान गर्न हामीले आग्रह गरेका छौँ।’
अघिल्लो पटक अभिनेत्री रेखा थापालाई पराजित गरेका र यस क्षेत्रमा बलियो पकड बनाएका कांग्रेस उम्मेदवार शर्मासँगको प्रतिस्पर्धालाई कार्कीले स्वाभाविक मानेका छन्।
‘को कति पटक यहाँ बस्यो भन्ने आँकडाले मात्र अबको समाज चल्दैन,’ उनले भने, ‘रोजगारी र सम्भावना खोज्दै नेपालीहरू सहर पसेका छन्, विदेशिएका छन्। के उनीहरू आफ्नो माटोको होइनन् र? त्यसैले उम्मेदवार कहाँ बस्छ भन्दा पनि भावना कहाँ जोडिएको छ र कसले यहाँका मुद्दालाई राष्ट्रियकरण गर्छ भन्ने कुरा प्रमुख हो।’
रास्वपाले यस चुनावमा बहुमत ल्याउने दाबी गरिरहेको छ। राजनीतिक विश्लेषकहरूले कसैको बहुमत नआउने बताइरहँदा कार्की भने जनताको लहर बदलिएको तर्क गर्छन्।
‘विश्लेषकहरूले बहुमत आउँदैन भन्नु विपक्षीहरूको रणनीति होला, तर हामी पहिलो पार्टी बन्छौँ भन्नेमा कुनै शंका छैन। चुनावमा मत दिने कुरामा भागबण्डा नगरौँ। माथि गएर पनि भागबण्डा नै हुने हो भने प्रणाली कसरी सुध्रिन्छ? त्यसैले यसपटक दुवै भोट घन्टीमा हाल्न जरुरी छ,’ उनले भने।

कार्कीले अहिले सर्वाधिक चर्चामा रहेको झापा ५ बारे उठेको प्रसंगमा रास्वपाका उम्मेदवार बालेन शाहले सहजै जित्ने दाबी गरे। एमाले अध्यक्ष केपी ओलीविरुद्ध लड्न गएका बालेन रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार छन्।
‘झापा ५ को निर्वाचन केबल एक क्षेत्रको चुनाव नभई देशको कार्यकारी प्रमुख छान्ने चुनाव जस्तै बनेको छ,’ कार्की भन्छन्, ‘मलाई यहाँका मतदाताले जिताउनुभयो भने म गएर बालेनलाई भोट दिन्छु र बालेन प्रधानमन्त्री हुनुहुनेछ। झापा ५ मा त सिधै बालेनलाई प्रधानमन्त्री बनाउन भोट दिने अवसर छ।’
रास्वपाले चुनावअघि नै प्रधानमन्त्रीको उम्मेदवार तोकेको छ। कतिपयले पछि बालेनलाई धोका हुने त होइन भन्दै सशंयसमेत प्रकट गरिरहेका छन्। तर, कार्की रास्वपाले विधानअनुसार बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार तोकेकाले कुनै धोका नहुने बताए।
‘हाम्रो विधानले नै चुनावअघि प्रधानमन्त्रीको उम्मेदवार तोक्नुपर्छ भनेको छ। यदि उम्मेदवार पराजित भए संसदीय दलको नेता छानिने प्रक्रिया छ, तर अहिलेलाई हाम्रो प्रधानमन्त्रीको अनुहार बालेन शाह नै हो,’ उनले भने।
पछिल्लो समय बालेन र रास्वपाका सभापति रवि लामिछानेबीच सम्बन्ध चिसिएको र बालेनले रास्वपालाई अपनत्व नलिएको चर्चा पनि चलिरहेको छ। विशेषगरी बालेनले रास्वपाको करार पत्र आफ्नो फेसबुक पेजबाट सेयर नगरेको, आफ्नो सचिवालयमा रवि लामिछानेको तस्बिर नराखेको, काठमाडौँ आउँदा पार्टी कार्यालय नगएको लगायत विषयलाई कतिपयले शंकाको नजरले हेरेका छन्।
तर, कार्की रवि–बालेनको सम्बन्ध नचिसिने र रास्वपा नफुट्ने दाबी गर्छन्।
‘करार पत्र पार्टीले ल्याएको हो, बालेन शाह पार्टीकै वरिष्ठ नेता हुनुहुन्छ। उहाँले करार पत्र सेयर नगर्नुमा कुनै ठूलो रहस्य छैन। मैले पनि आफ्नै क्षेत्रको मात्र सेयर गरेको रहेछु, अहिले तपाईंले भनेपछि याद आयो। यो कार्यविभाजनको कुरा मात्र हो,’ उनले भने।
उनले बालेन र रविबीच फुट आउने हल्लालाई पुरानो दलहरूको झझल्कोको संज्ञा दिए।
‘पटक–पटक पुरानो दलहरूमा फुट देखिरहेका जनतालाई हामीमा पनि त्यस्तै हुन्छ कि भन्ने डर हुनु स्वाभाविक हो,’ उनले भने, ‘तर हाम्रो टिम गजबको छ। बालेनले आफ्नै ढङ्गले काम गर्नुभएको छ, सभापतिले आफ्नै ढङ्गले। बालेनले सरकार चलाउने, रविजीले पार्टी चलाउने विषयमा दुवै स्पष्ट छन्। हामी एउटै लक्ष्यका लागि फरक क्षमता भएका मानिसहरू एक ठाउँमा छौँ। हामीबीच फुट हुँदैन।’

मोरङ ३ मा रास्वपाको मत धरानका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीले काट्ने अड्कल भइरहेको छ। यस्तोमा कार्कीले त्यस्तो अवस्था नरहेको बताउँदै हर्कको रास्वपासँग सम्बन्ध सुमधुर रहेको बताए।
‘हामी भेट्दा म ‘जय माटो’ भन्छु, उहाँहरू ‘जय घन्टी’ भन्नुहुन्छ। हाम्रो प्रतिस्पर्धा त स्वस्थ र मित्रतापूर्ण छ। समाजलाई अगाडि बढाउने अभियानमा हामी सबै एकै ठाउँमा छौँ,’ उनले भने।
मोरङ ३ मा कार्कीले सुकुम्बासी समस्या, बेरोजगारी र पर्यटनका सम्भावनालाई संसदमा बुलन्द गर्ने वाचा गरिरहेका छन्। मेडिकल माफिया र पुराना दलको सिन्डिकेट तोड्न आफूलाई एकपटक परीक्षण गर्न उनी मतदातासँग अनुरोध गरिरहेका छन्।
कार्कीले थप के–के भने, हेर्नुहोस् उनकै निर्वाचन क्षेत्रमा गरिएको निर्वाचन विशेष भिडिओ कुराकानी नेपालखबर ‘तत्कालै’:
फोटो/भिडिओ : सरोज नेपाल

प्रतिक्रिया