जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता शरतसिंह भण्डारी आफू थाकिसकेको र यो अन्तिम चुनाव भएको बताएका छन्।
प्रतिनिधि सभाको निर्वाचनमा ७१ वर्षी भण्डारी महोत्तरी-२ बाट उम्मेदवार बनेका छन्। चुनावी प्रचारका लागि घरदैलो कार्यक्रम चलाइरहेका भण्डारीले यो अन्तिम चुनाव भएको भन्दै मत मागिरहेका छन्।
चार दशकभन्दा बढी समयदेखि सक्रिय राजनीतिमा रहेका भण्डारीले उमेर र स्वास्थ्यका कारण अब चुनाव नलड्ने मनसाय बनाइसकेको बताए। ‘पञ्चायतदेखि गणतन्त्रसम्म १३ पटक चुनाव लडेँ, धेरैजसो जितेँ। अब पुस्तान्तरण गर्ने सोचमा थिएँ,’ उनले भने, ‘तर जनताको दबाबले पुनः मैदानमा उत्रनुप¥यो। यस पटक म एउटा प्रतिनिधिमूलक पात्र मात्र हो, जनताले आफ्नो मलाई चुनाव लडाएको हो। उम्मेदवार म होइन, जनता नै रहेकाले जीत-हार पनि जनताकै हुने हो।’
आउँदो निर्वाचनलाई ‘पुस्ता जोड्ने अभियान’का रुपमा लिएको उनको भनाइ थियो। मधेश आन्दोलन र अधिकार प्राप्तिका संघर्ष स्मरण गर्दै संविधानमा सुनिश्चित भएका समावेशी प्रावधानको कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको बताए। संविधान संशोधन, समानुपातिक समावेशी र अधिकार सहितको प्रदेशको मुद्दालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याएको दाबी गरे।
देशमा संघीयता आएपछि मधेशीले अधिकार पाएको भए पनि अपेक्षा अनुसारको नहुँदा जनता असन्तुष्ट रहेको उनको भनाइ थियो। मधेसी, दलित, आदिवासी जनजाति लगायतका समुदायले आरक्षण, प्रदेश संरचना, समानुपातिक प्रतिनिधित्व र सुरक्षा निकायमा सहभागिताजस्ता उपलब्धि प्राप्त गरेको सुनाए।
अहिलेको निर्वाचनमा जनताको अधिकारका लागि जागिरहेको पाएको उनले सुनाए। ‘पहिला जनताले सडक, पोखरी, सामुदायिक भवन, खेतमा पानीको माग गर्थे तर यस पटकको निर्वाचनमा जनताले गुणस्तरीय शिक्षा र स्वास्थ्य भएन, उच्च शिक्षालयको अभाव छ, राम्रो अस्पतालको आभाव, भ्रष्टाचार र बेरोजगारी समस्याको माग उठाएको छ।’
ठूला दलले बलजफ्ती संविधान जारी गरेकाले मधेसीका अधिकार सुनिश्चित गर्न बाँकी रहेको उनको भनाइ छ। ‘सबै कुरा संविधानबाट नै पूरा हुने हो र समस्याका जरो संविधान भएकाले मैले मूल एजेन्डा नै संविधान संशोधन र आवश्यक परे पुनर्लेखनको बहसलाई राष्ट्रिय मुद्दा बनाएर अघि बढेको छु,’ भण्डारीले भने, ‘बहुमतको दम्भमा बलजफ्ती नेपालको संविधान जारी गरेर मधेसी जनताको अधिकार खोसियो। अन्तरिम संविधानमा उल्लेख कुरा पनि दिएनन्।’
पञ्चायतकालमा राष्ट्रिय पञ्चायत सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका भण्डारी बहुदलीय व्यवस्था हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पटक-पटक मन्त्री बनिसकेका अनुभवी नेता हुन्। अहिले चुनावी प्रतिस्पर्धा चर्किँदै जाँदा उनले ‘अन्तिम चुनाव’ भनेर मत मागिरहेका छन्।
एक लाख ७ हजार ५९४ मतदाता रहेको महोत्तरी-२ मा राजनीतिक दलका १५ र स्वतन्त्र २२ गरी ३७ उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन्। जसपा नेपालका भण्डारीसँगै नेपाली कांग्रेसकी किरण यादव, नेकपा (एमाले)का कासिफ नदाफ, राष्ट्रिय स्तवन्त्र पार्टी (रास्वपा)का दिपककुमार साह र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का लक्ष्मणकुमार यादवबीच प्रतिस्पर्धा हुने देखिएको छ।
Shares

प्रतिक्रिया