राजनीति


खाडीका देशमा तनावः सरकारले गर्‍यो महत्वपूर्ण यी चार निर्णय

खाडीका देशमा तनावः सरकारले गर्‍यो महत्वपूर्ण यी चार निर्णय

आइतबार दिउँसो परराष्ट्र मन्त्रालयमा भएको पत्रकार सम्मेलवन। तस्विरः परराष्ट्र मन्त्रालय


नेपालखबर
फागुन १७, २०८२ आइतबार १८:२७, काठमाडौँ

खाडी मुलुकहरूमा विकसित पछिल्लो सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै सरकारले महत्वपूर्ण निर्णयहरू लिएको छ।

परराष्ट्र मन्त्रालयले आइतबार सम्बन्धित देशका नेपाली दूतावासहरूलाई उच्च सतर्कतामा रहन र नागरिकको अवस्था निरन्तर अनुगमन गर्न निर्देशन दिएको हो। परिस्थिति थप जटिल भए तत्कालै त्यसबारे निर्णय लिन संयन्त्रहरू बनाइएका छन्।

परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका सहसचिव रामकाजी खड्काले प्रभावित देशमा रहेका नेपाली दूतावास तथा नियोगहरूले सूचना र सतर्कता सन्देश सार्वजनिक गरिसकेको बताए।  

‘मन्त्रालयले विभिन्न देशहरूले जारी गरिरहेका आधिकारिक वक्तव्य र समग्र सुरक्षा अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ’, पत्रकार भेटघाटमा उनले भने।

यी हुन् आइतबार सरकारले चालेका ४ कदमहरू:

(१) बहु-सरोकारवाला आपतकालीन उद्धार टोलीको गठन: परराष्ट्र सचिवको संयोजकत्वमा 'मल्टि-स्टेकहोल्डर इमर्जेन्सी रेस्क्यु टिम' गठनको प्रक्रिया सुरु गरिएको छ। यस टोलीमा सम्बन्धित मन्त्रालय, सुरक्षा निकाय र अन्य सरोकारवाला संस्थाहरू रहनेछन्।

(२) डिजिटल निगरानी र सूचना संयन्त्रको स्थापना: संकट व्यवस्थापनका लागि खाडी क्षेत्रका देशहरूमा रहेका नेपाली राजदूत र नियोग प्रमुखहरू सम्मिलित एक 'ह्वाट्सएप ग्रुप' बनाइएको छ। यसले प्रत्येक देशको ताजा सुरक्षा अवस्था र नेपालीले भोगिरहेका समस्याबारे तत्काल जानकारी आदान-प्रदान गर्न सहयोग पुग्नेछ।

(३) अनलाइन रजिस्ट्रेसन र मोबाइल एप विकास: सम्भावित उद्धारका लागि कन्सुलर सेवा विभागलाई अनलाइन रजिस्ट्रेसन प्लेटफर्म र मोबाइल एप विकास गर्न निर्देशन दिइएको छ। यसबाट नेपाली नागरिकले आफ्नो विवरण दर्ता गर्न सक्नेछन्, जसले संकटको समयमा उनीहरूको अवस्था पत्ता लगाउन सजिलो हुनेछ।

(४) हटलाइन र ट्राभल एडभाइजरीको व्यवस्था: प्रभावित क्षेत्रका लागि आधिकारिक 'ट्राभल एडभाइजरी' जारी गरिएको छ। साथै, नागरिकका समस्या सुन्न र सहायता प्रदान गर्न २४ सै घण्टा सञ्चालन हुने 'कन्सुलर रेस्पोन्स हटलाइन' को व्यवस्था गर्ने तयारी अघि बढाइएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad