भक्तपुरकी २२ वर्षीया स्तुती सुवेदीमा आज छुट्टै उत्साह छ। सिभिल इन्जिनियरिङ अध्ययनरत उनलाई आज आफूले देशका लागि एउटा ठूलो जिम्मेवारी पूरा गरेको महसुस भइरहेको छ। स्तुतीले आज पहिलो पटक संसदीय चुनावमा भोट हालिन्।
भोट हाल्न जाँदा सुरुमा केही डराएकी उनी मतदान केन्द्र पुगेपछि भने दृढ भइन्। भन्छिन्, 'जुन उद्देश्यले हाम्रो जेनजी पुस्ताले आन्दोलन गरेर नयाँ नेपाल बनाउन विद्रोह गर्यो, त्यो परिणाम यो निर्वाचनले देखाउनेमा म आशावादी छु। मेरो पहिलो भोट परिवर्तनका लागि हो।'
पुराना पार्टीहरूको दमन र शक्तिको आडमा हुने राजनीति अब अन्त्य हुनुपर्ने उनको जिकिर छ। 'यो निर्वाचनसँग धेरै युवाको अपेक्षा जोडिएको छ। खोजिएको परिवर्तन अब देख्न पाइनेमा म आशावादी छु। निर्वाचन पछि बन्ने सरकारले जेनजी युवाको त्यागलाई बुझेर काम गर्नुपर्छ,' स्तुतीले थपिन्।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले तत्कालीन केपी शर्मा ओली सरकार बहिर्गमन गराएपछि मुलुकमा नयाँ राजनीतिक अवस्था सिर्जना भएको थियो।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित सरकारले पाएको चुनावी म्यान्डेटअनुसार नै आज देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भएको हो। भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका युवाको आक्रोशलाई शान्तिपूर्ण रूपमा ब्यालेटबाट सम्बोधन गर्न यो निर्वाचन एक ऐतिहासिक मोड मानिएको छ।
'भोट फर चेन्ज !'
बालाजु बोहराटारकी २१ वर्षीया श्रीया पौडेलको नारा पनि स्तुतीको भन्दा फरक छैन। स्नातक तहमा अध्ययनरत उनले पनि परिवर्तनका लागि भोट हालेको बताइन्। 'मेरो जेनजी पुस्ताले गरेको त्याग र विद्रोह निर्वाचनको नतिजामा आउनेमा म विश्वस्त छु। नयाँ नेपाल यो निर्वाचनले बनाउनुपर्छ,' उनले भनिन्।
श्रीयाका अनुसार अब देशमा फेरि अर्को विद्रोहको अवस्था आउनु हुँदैन। उनी थप्छिन्, 'समृद्ध नेपाल सुखी नेपाली’ नारामा मात्र होइन, वास्तविकतामा पनि देख्न पाइयोस्। अब बन्ने सरकारले जेनजी पुस्ताले नेपालमा नै भविष्य देख्ने वातावरण बनाउनुपर्छ।'
यस पटकको निर्वाचनमा कुल मतदातामध्ये झण्डै ४० प्रतिशत मतदाता ४० वर्ष मुनिका थिए। निर्वाचन आयोगको अन्तिम तथ्यांक अनुसार, १८ देखि ४० वर्ष उमेर समूहका मतदाताको संख्या करिब ७१ लाख थिए।
म्याग्दी पुगेर 'परिवर्तनको छाप' प्रशंसा सुवेदी भने भोट हाल्नकै लागि काठमाडौँबाट गृह जिल्ला म्याग्दी पुगिन्। दोस्रो पटक मतदान गरेकी उनले यस पटकको भोटलाई 'परिवर्तनको भोट' भनेकी छिन्। उनलाई गठबन्धनको सरकार र अस्थिरतासँग वितृष्णा छ।
'पहिला जस्तो गठबन्धन गर्दै सरकार बनाउने, २-२ वर्षमा सरकार ढल्ने प्रणाली अब हट्नु पर्छ,' प्रशंसाले भनिन्। उनले जेनजी आन्दोलनका क्रममा भएका अपराधिक घटनाको छानबिन र भ्रष्टाचारमा मुछिएका नेताहरूमाथि कडा कारबाहीको माग गरिन्। उनको चाहना छ, 'कार्की आयोगको प्रतिवेदन सार्वजनिक भएर छानबिन हुनुपर्छ, सुशासन कायम भएको नेपाल हेर्न मन छ।'
आन्दोलन नभएको भए भोट हाल्दिनथेँ भक्तपुरकी कृति सुवेदीको तर्क झनै रोचक छ।
'मेरो पुस्ताले आन्दोलन गरेर बनाउन खोजेको नयाँ नेपाल हो, भोट नहाल्ने त कुरा भएन। तर यदि जेनजी आन्दोलन नभएर नै चुनाव भएको भए म कहिल्यै भोट हाल्ने थिइनँ,' कृतिले भनिन्। उनी अब बन्ने सरकारलाई चेतावनीको शैलीमा आग्रह गर्छिन्— 'जेनजी आन्दोलनको मर्म अनुसार काम भएन भने फेरि हाम्रो पुस्ता सडकमा आउन सक्छ। त्यसकारण आन्दोलनको मर्म बुझेर अब बन्ने सरकारले काम गर्नुपर्छ।'
यस पटकको निर्वाचनमा युवाहरूको सहभागिता केवल भावनात्मक मात्र थिएन, तथ्याङ्कमा पनि बलियो देखियो। निर्वाचन आयोगका अनुसार यस पटक १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका थिए, जसमा अधिकांश 'जेनजी' समूहका छन्।
Shares

प्रतिक्रिया