दैलेखको राजनीतिमा एउटा भनाइ स्थापित छ– यहाँको चुनावी नतिजा जहिले पनि 'अप्रत्याशित' हुन्छ। यसपटकको प्रतिनिधिसभा निर्वाचनले त्यो भनाइलाई मात्र पुष्टि गरेन, १२ वर्षदेखि आफ्नो विरासत गुमाएर बसेको नेपाली कांग्रेसलाई एउटा नयाँ र उत्साहजनक 'सरप्राइज' पनि दिएको छ।
तीन जना पूर्वसहकर्मीहरूबीचको आपसी इबी र राजनीतिक महत्त्वाकांक्षाको चेपुवामा एमालेको 'लालकिल्ला' भत्किएको छ। कांग्रेसकी बासना थापा पहिलो प्रयासमै दैलेखकी माननीय बनेकी छन्।
निर्वाचन आयोगको अन्तिम नतिजाअनुसार बासनाले १२ हजार ३७२ मत ल्याएर विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६ मतमा चित्त बुझाउनु पर्यो। २०७४ मा जितेका शर्माको यो लगातार दोस्रो हार हो।
देशभरि राष्ट्रिय स्वतन्त्र पार्टीको लहर देखिए पनि दैलेखमा उसको प्रभाव ठूलो देखिएन। नन्दकिशोर बस्नेतले ८ हजार १५१ मत पाए। नेकपाका अम्मरबहादुर थापा ४ हजार २५६ मतसहित चौथो स्थानमा खुम्चिए।
दैलेख–१ मा कांग्रेसका लागि यो जित एउटा उत्सव जस्तै बनेको छ। २०४८, २०५१ र २०६४ मा यहाँ कांग्रेसका गणेशबहादुर खड्काको एकछत्र राज थियो। तर २०७० को निर्वाचनपछि कांग्रेसले यहाँ आफ्नो आधार गुमाउँदै गएको थियो। १२ वर्षको खडेरीपछि बासनाले कांग्रेसलाई फेरि संसद्को यात्रा गराएकी हुन्।
राजनीतितर्फ उनको यात्रा आकस्मिक चाहिँ होइन तर यो पटक सहज चाहिँ थिएन। २०७४ को स्थानीय तह निर्वाचनमा उनी नारायण नगरपालिकाको उपप्रमुख पदमा एमालेकी सावित्री मल्लसँग ५७७ मतले पराजित भएकी थिइन्। स्थानीय तहमा पराजय व्यहोरेको ८ वर्षपछि उनलाइ दैलेखका जनताले नीति निर्माण गर्ने थलो प्रतिनिधिसभा पठाएका हुन्।
"धेरै खुसी र गर्व महसुस भएको छ," विजयी भएपछि उनले नेपालखबरसँग भनिन्, "दैलेखी जनताले एउटा चेलीलाई प्रतिनिधिसभासम्म पुर्याउने आँट गर्नुभयो। उहाँहरूले गर्नुभएको भरोसा र विश्वासलाई म टुट्न दिने छैन।"
काठमाडौंको जन्म, दैलेखको कर्म
३७ वर्षअघि काठमाडौंको बत्तिसपुतलीमा जन्मिएकी बासना नेविसंघको राजनीतिबाट उदाएकी हुन्। काठमाडौंमै हुर्किएकी उनी विवाहपछि दैलेख भित्रिइन्। पछिल्लो दुई दशकदेखि उनी दैलेखकै माटोमा भिजिसकेकी उनले दैलेख बजारमा 'होटल पार्किङ' पनि सञ्चालन गर्छिन्।उनलाई धेरैले व्यवसायीको रूपमा पनि चिन्छन्।
"जन्म काठमाडौंमा भए पनि मेरो सामाजिक, राजनीतिक जीवन दैलेखका पहाड र पखेराहरूमै बित्यो," उनले आफ्नो पृष्ठभूमि बताउँदै भनिन्। उनी कांग्रेसको १२ औँ देखि १४ औँ महाधिवेशनसम्म लगातार महाधिवेशन प्रतिनिधि चुनिएकी थिइन्।
यो निर्वाचनमा साना दलहरू भने निकै कमजोर देखिए। राप्रपाका रणबहादुर सिंहले ५९८ मत पाउँदा नेमकिपाका जगतबहादुर ओलीले ३०२ मत ल्याए। यस्तै नेकपा (माओवादी) का रामलाल विश्वकर्माले २३५ र राष्ट्रिय जनमोर्चाका नरबहादुर सिंहले ९१ मत मात्र प्राप्त गरे।
एमालेका पुराना नेताहरूले एकअर्कालाई हराउने होडबाजी गरिरहँदा बासना थापाले भने शान्त र संगठित रूपमा आफ्नो चुनावी अभियान अघि बढाएर विजयको झण्डा गाड्न सफल भएकी हुन्।
Shares

प्रतिक्रिया