सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रमेशकुमार सापकोटा भारी मतान्तरसहित निर्वाचित भएका छन्। एमाले–कांग्रेसले आ–आफ्नो गढ भनेर दाबी गरिरहँदा रास्वपाका सापकोटाले बाजी मारेका हुन्।
निर्वाचन आयोगको अन्तिम मत परिणाम अनुसार रास्वपाका सापकोटाले ३०, हजार ८२६ मत प्राप्त गरेर विजयी भएका छन्। उनले नेपाली कांग्रेसका नारायणकुमार कोइरालालाई १४ हजार ४३४ मतान्तरले हराएका हुन्।
कोइरालाले १६ हजार ३९२ मत मात्रै प्राप्त गरे। यस्तै, एमालेका कुलमणि देवकोटाले १३ हजार ११५, नेकपा झकबहादुर मल्लले ४ हजार ५८७ मत, श्रम संस्कृति पार्टीका राजेन्द्र रामजालीले १ हजार ६४६, राप्रपाका कबिराम पुरीले १ हजार ३१५, उज्यालो नेपाल पार्टीका गम्भीर सिंह भुलले १८४, नेपाल मजदुर किसान पार्टीका तुल्छी खडकाले १५८, नेकपा माओवादीका धर्मराज देवकोटाले १५०, राष्ट्रिय जनमोर्चाका पूर्णबहादुर शाहीले १३०, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का प्रेमबहादुर तारामीले ६३ मत प्राप्त गरेका छन्।
जनता समाजवादी पार्टी, नेपालका दीपबहादुर नेपालीले ५२, स्वतन्त्र उम्मेदवार कृष्ण खत्रीले ३८, गतिशील लोकतान्त्रिक पार्टीका पवन थापा मगरले ३४, स्वतन्त्र उम्मेदवार रमेश परियारले २३, नेपाल जनसेवा पार्टीका हृदयन्द्र अधिकारी ७ र स्वतन्त्र उम्मेदवार उदीराम चुनाराले ६ भोट पाएका छन्। यस्तै, विगतका निर्वाचनमा यस क्षेत्रबाट कहिले एमाले र कहिले नेपाली कांग्रेसले चुनाव जित्दै आएका थिए।
यस क्षेत्रबाट २०७४ सालको निर्वाचनमा माओवादीसँगको गठबन्धनबाट साझा उम्मेदवार बनेका एमालेका नवराज रावत विजयी भएका थिए। निर्वाचित रावतले ३७ हजार ४४७ मत ल्याउँदा पराजित कांग्रेसका हृदयराम थानीले २८ हजार ६४६ मत पाएका थिए।
२०७९ को निर्वाचनमा फेरि थानीले एमालेका अमृतकुमार बिसीलाई हराउँदै अघिल्लो हारको बदला लिए। त्यतिबेला कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गठबन्धनका साझा उम्मेदवार बनेका उनले ३४ हजार ६२५ मत पाएका थिए। उनका निकटतम प्रतिस्पर्धी बिसीले २९ हजार ५५८ मत ल्याएका थिए। थानीले यस निर्वाचन क्षेत्रबाट तीनपटक (०५६, ०७० र ०७९) संसदीय चुनाव जितिसकेका छन्।
गाडी चालकदेखि सांसदसम्म
४६ वर्षीय सापकोटा सुर्खेत जिल्लाको साबिक साटाखानी गाविसमा जन्मिएका हुन्। उनले करेखोलास्थित मामा घरमा बसेर प्राथमिक शिक्षा हासिल गरे। त्यसपछि वीरेन्द्रनगर नगरपालिका–७ मा रहेको श्री संस्कृत साधारण माध्यामिक विद्यालयबाट निमाविसम्मको अध्ययन गरेका सापकोटा दाङको तुलसीपुरबाट एसएलसी दिए। एसएलसी परीक्षापछि खाली समयमा आफ्नो ठूलोबुवाको गाडीमा केही महिना बिताए।
एसएलसी पासपछि उनी उच्च शिक्षाको लागि वीरेन्द्रनगरकै बहुमुखी क्याम्पसमा भर्ना भए। १८ वर्षकै उमेरमा गाडी लाइनमा हिँड्दा उनमा पढ्ने चाहाना जागेन। अन्ततः पाँच महिनासम्म क्याम्पस धाए। तर, उनको यात्रा पुनः गाडी लाइनमै मोडियो। अध्ययनलाई थाती राख्दै ०५५ सालमा मध्यपश्चिम यातायात समितिबाट सञ्चालनरत ठूलोबुवाको गाडी नम्बर ९५३० मा कन्डक्टरको काम थाले।
तीन वर्षसम्म गाडीमै बिताएपछि सवारी चालक अनुमति पत्र निकाले र थप उनले तीन वर्षसम्म गाडी चलाएरै जीविका निर्वाह गरे। त्यसपछि २०६० सालमा विदेश जाने निधो गरे। साउदी अरब हानिए। त्यहाँ पुगेर पनि उनले पानी कम्पनीमा सवारी चलाउने काम गरे। करिब ६ वर्षपछि नेपाल फर्केपछि सुर्खेतमै गाडी चलाउने निर्णय लिए।
तर, काम खोज्न थालेको सात महिनापछि पोखरा रुटमा सञ्चालन भएको बसमा काम गर्ने मौका पाए। केही वर्ष पोखरा बसको चालक बनेर काम गरे। पछि उनले सुर्खेत–काठमाडौँ रुटमा पनि बस चलाउन थाले। त्यसपछि ०६८ सालमा बस किने काँक्रेविहार यातायात समितिमा जोडिएर व्यवसायीको रूपमा त्यहीँ समितिमा बस ईन्ट्री गराएर आफ्नै बस चलाए।
सापकोटाले समितिमा जोडिएको एक वर्षभित्रै ०६९ सालमा समितिमा सह-सचिवको जिम्मेवारी पाए। हाल उनी सोही समितिको अध्यक्षका रूपमा छन्। उनी हाल राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समिति सुर्खेतको सभापतिको जिम्मेवारी छन्।
Shares

प्रतिक्रिया