नेपाल प्रहरीका पूर्व प्रहरी नायव निरीक्षक (सई) देखि प्रहरी नायव महानिरीक्षक (आईजीपी) सम्मका अधिकृतहरू यसपटकको चुनावी मैदानमा थिए।
७ जना पूर्व प्रहरी चुनावी मैदानमा रहेकामा तल्लो दर्जाका प्रहरीहरू सांसद बन्दा उच्च अधिकारीहरूको भने जमानत नै जफत भएको छ। एक जना पूर्व एआईजीको मतगणना चलिरहेको छ। उनी कडा प्रतिस्पर्धामा छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका पूर्व सई शम्भुप्रसाद ढकाल अब सांसद बनेका छन्। उनले यसअघिका सांसद लालप्रसाद सावा लिम्बूलाई पराजित गरेका छन्।
निर्वाचन आयोगका अनुसार ढकालले ४३ हजार ६३१ मत पाउँदा एमालेका लिम्बूको ११ हजार ९८६ मत छ।
एक वर्ष पहिले मात्रै डीएसपीबाट अवकास भएका गोविन्द पन्थी पनि सांसदमा निर्वाचित भएका छन्। गुल्मी क्षेत्र नम्बर २ बाट उनले एमालेका उपाध्यक्ष गोकर्णराज विष्टलाई पराजित गरे। विष्ट पनि यसअघि यो क्षेत्रबाट विजयी भएका थिए। तर यसपटक रास्वपाबाट टिकट लिएर पुगेका पन्थी विजयी भए।
उनले १६ हजार ९६७ मत पाउँदा विष्टले १६ हजार ४०६ मत ल्याए। प्रहरी सेवाबाट अलग भएर कानुन व्यवसाय थालेका पन्थी अब संसदमा हुनेछन्।
कपिलवस्तु क्षेत्र नम्बर २ बाट रास्वपाकै उम्मेदवार विक्रमसिंह थापा विजयी भएका छन्। थापाले पनि नेपाल प्रहरीका पूर्व एसएसपी हुन्। काठमाडौँ प्रहरी प्रमुख भएर काम गरिसकेका उनी अवकासपछि राजनीतिमा लागे।
यसपटकको चुनावमा रास्वपा रोजेका उनले २७ हजार ६३५ मत प्राप्त गर्दै संसदको यात्रा तय गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्यले २१ हजार ५२७ मत प्राप्त गरे।
पूर्व प्रहरीसमेत रहेका काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले पनि संसदको यात्रा तय गरेका छन्। मेयर बालेन्द्र शाह रास्वपामा लागेपछि पाण्डे पनि राजीनामा दिएर उम्मेदवार बनेका हुन्। झापाबाट बालेन विजयी हुँदा उनले काठमाडौँ क्षेत्र नम्बर ३ बाट बाजी मारेका छन्।
पाण्डेले १८ हजार ७५७ मत ल्याउँदा प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत ल्याए।
यी पूर्व प्रहरी सांसद बन्दा पूर्व प्रहरी प्रमुखहरूले भने हारको सामान गर्नु परेको छ। यसअघि एमालेबाट दुई पटक चुनाव लडिसकेका पूर्व आईजीपी सर्वेन्द्र खनाल यसपटक आफैँ पार्टी खोलेर चुनावमा होमिएका थिए। पार्टी, चुनाव चिह्न र क्षेत्र फेरे पनि नतिजा भने फेर्न असफल भए।
काठमाडौँ ६ र तनहुँ १ बाट चुनाव लडेका उनी दुवै पटक पराजित भएका थिए। त्यसपछि उनले एमाले नै छाडे। समुन्नत पार्टीका सभापति रहेका खनालले बारा ४ मा जमानत पनि जोगाउन सकेनन्।
उनी चुनाव लडेको क्षेत्रबाट रास्वपाका रहवर अंसारी विजयी भए। अन्सारीले ४१ हजार २०० मत पाउँदा दशौँ नम्बरमा पुगेका खनालले जम्मा ४६४ मत मात्रै पाए।
यसअघि सांसद भइसकेका अर्का पूर्व प्रहरी प्रमुख ध्रुवबहादुर प्रधानको पनि यसपालि सांसद बन्ने चाहना पूरा हुन पाएन। नवलपरासी पश्चिम क्षेत्र नं २ बाट पनि रास्वपाले नै चुनाव जित्यो। यो क्षेत्रबाट यसअघि प्रधान विजयी भएका थिए।
तर यसपटक यही क्षेत्रमा उनको जमानत समेत जोगिएन। रास्वपाका नरेन्द्रकुमार गुप्ता ४४ हजार १३८ मत ल्याएर निर्वाचित भए। चौथो स्थानमा पुगेका राप्रपाका प्रधानले ४ हजार ६९१ मत मात्रै पाए।
अर्का पूर्व एआईजी विश्वराज पोखरेल पनि चुनावी प्रतिस्पर्धामा छन्। उनको भने नतिजा आइसकेको छैन। ओखलढुंगामा रास्वपाबाटै उम्मेदवार बनेका पोखरेलले ११ हजार ४०० मत पाएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका कुमार लुईटेलले ११ हजार १७९ मत पाएका छन्।
यसअघि लुईटेलले अग्रता लिए पनि पछिल्लो मत परिणाममा पोखरेलले अग्रता लिएका हुन्। उनी पनि विजयी भए पाँच जना पूर्वप्रहरी एकसाथ संसद पुग्नेछन्।
Shares

प्रतिक्रिया