प्रतिनिधि सभा निर्वाचन अन्तर्गत धनुषा क्षेत्र नम्बर १ मा जारी मत गणनामा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मातृका प्रसाद यादव अगाडि छन्।
पछिल्लो मतपरिणाम अनुसार यादवले ७ हजार ५६६ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राम पलटन साहले ७ हजार ४२८ मत प्राप्त गरेका छन्। यादव र साहबीचको मतान्तर हाल १३८ मात्रै छ।
यस्तै नेकपा (एमाले) का उम्मेदवार रामचन्द्र मण्डलले ६ हजार ६०५ मत प्राप्त गरेका छन्।
धनुषा–१ मा पुराना तीन दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको हो।
घण्टीमा परेको मतको छुट्टै लगत
धुनषा १ मा रास्वपाले उम्मेदवार बनाएका किशोरी साहको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरे पनि घण्टी चिह्नमा लोभलाग्दो मत परेको छ। बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि आयोगले साह को उम्मेदवारी खारेज गरेको हो।
अहिलेसम्म घण्टी चिह्न २१ हजार ७७५ मत परेको छ। घण्टी चिह्नमा परेको मत गनेर छुट्टै राख्ने गरिएको छ।
कालो सूचीमा नाम रहेको भनी उजुरी परेपछि निर्वाचन आयोगले साहको उम्मेदवारी निर्वाचनको दुई दिनअघि खारेज गरेको थियो।
उनको उम्मेदवारी खारेज भएपछि मतगणनामा विवाद भएको थियो। विवादपछि निर्वाचन आयोगले रास्वपा उम्मेदवार साहको पक्षमा परेको मतको छुट्टै लगत राख्न भनेपछि मत गणना सुरु भएको हो।
Shares

प्रतिक्रिया