राजनीति


गगनले सर्लाही ४ बाट उम्मेदवार बन्ने घोषणा गरेको दिन अमरेशले जे भनेका थिए, आखिर त्यही भयो

गगनले सर्लाही ४ बाट उम्मेदवार बन्ने घोषणा गरेको दिन अमरेशले जे भनेका थिए, आखिर त्यही भयो

जनार्दन पोखरेल
फागुन २४, २०८२ आइतबार १०:५, काठमाडौँ

गएको माघ ७ गते कांग्रेसका नव निर्वाचित सभापति गगन थापाले सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने घोषणा गर्दा पुराना कांग्रेस नेता अमरेश सिंह निकै दबाबमा परेका थिए। 

अघिल्लो दिन मात्रै जनकपुरमा रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को हातबाट टीका लगाएर पार्टी प्रवेश गरेका सिंहले गगनको उम्मेदवारी घोषणाको दबाबकै बीचमा नेपालखबरसँग भनेका थिए, ‘सर्लाहीबाट कुनै पनि पार्टीका अध्यक्ष वा सभापतिले जितेको इतिहास छैन, गगनले पनि यहाँ चुनाव हार्छन्। म उनलाई हराएर देखाइ दिन्छु।’

नभन्दै आइतबार बिहान सर्लाही ४ को अन्तिम मत परिणाम सार्वजनिक हुँदा गगन अमरेशसँग फराकिलो मतान्तरले पराजित बनेका छन्। 

निर्वाचन आयोगका अनुसार, रास्वपाका सिंह ३५ हजार ६८८ मत प्राप्त गरी विजयी हुँदा कांग्रेस सभापति थापाले २२ हजार ८३१ मत प्राप्त गरेका छन्। उनीहरूबीचको मतान्तर १२ हजार ८५७ छ। 

यहाँ एमालेका अमनिशकुमार यादवले ८ हजार ६५४, जनमत पार्टीका राकेशकुमार मिश्रले १ हजार ३६५ नेकपाका रजनीश रायले १ हजार २५९ मत प्राप्त गरेका छन्। 

यसअघिका तीनवटा आम निर्वाचनमा पनि सर्लाही ४ बाटै विजयी बनेका सिंहले यसपटक गगनलाई पराजित गर्दै चौथो जित निकालेका छन्।

सिंहले २०७० र ०७४ सालको निर्वाचनमा कांग्रेसको टिकटमा सर्लाही ४ बाट निर्वाचित भएका थिए। ०७९ को निर्वाचनमा भने उनलाई तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवाले टिकट दिएनन्। त्यतिबेला पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिए। 

स्वतन्त्र उम्मेदवार भएरै उनले तत्कालीन माओवादीसहित पाँद दलीय गठबन्धनका कांग्रेस उम्मेदवारलाई पराजित गरेर देखाइदिएका थिए। 

त्यतिबेला सिंह २० हजार १७ मत प्राप्त गर्दै विजयी हुँदा कांग्रेसका पूर्वजिल्ला सभापति नागेन्द्रकुमार रायले १८ हजार २५३ मत प्राप्त गरेर दोस्रो भएका थिए। 

यसपटकको निर्वाचनमा कांग्रेस सभापतिलाई नै पराजित गरेपछि अमरेश झन् चर्चामा छन्। 

‘मलाई हराउन सक्ने नेता कांग्रेसमा छैनन्। त्यही भएर सभापति आफैँ सर्लाही आउँने भएछन्,’ गएको माघ ७ गते अमरेशले नेपालखबरसँग भनेका थिए, ‘तर, म भाग्ने र हार्नेवाला मान्छे होइन। म जनताको नेता हो। गगनलाई जितेर देखाउँछु।’

उनले जे भनेका थिए, आखिर निर्वाचन परिणाम त्यस्तै आएको छ। काठमाडाैँबाट दुईपटक चुनाव जितेका थापा तेस्रोपटकको प्रतिस्पर्धामा आफ्नै पार्टीका पूर्व सहकर्मीसँग पराजित बनेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad