राजनीति


स्थानीय आन्दोलनबाट माथि उठेका हर्क

स्थानीय आन्दोलनबाट माथि उठेका हर्क

नेपालखबर
फागुन २५, २०८२ सोमबार ९:४८, धरान

धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान चलाउँदै आफैँ श्रममा उत्रिने नेताका रूपमा परिचित हर्कराज साम्पाङ राईको राजनीतिक यात्रा अब स्थानीय नेतृत्वबाट राष्ट्रिय राजनीतितर्फ प्रवेश गरेको छ । 

धरान उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएदेखि नेपाली राजनीतिक वृत्तमा कुनै न कुनै रुपमा चर्चाको पात्र बन्दै आएका राई हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट ३५ हजार ७४१ मतसहित विजयी भएका छन्। 

विसं २०७९ को स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारका रूपमा ‘लौरो’ चुनाव चिन्ह लिएर उनी निर्वाचित भएका थिए। सामान्य जीवनशैली, स्पष्ट वक्ता र विकासका लागि श्रमदान अभियानका कारण राई छोटो समयमै चर्चामा पुगे। 

नगर प्रमुख बनेपछि उनले परम्परागत राजनीतिक शैली भन्दा फरक अभ्यास गरे। महँगा औपचारिकता भन्दा श्रमदान अभियानलाई प्राथमिकता दिए। 

राईले आफैं ढुङ्गा बोक्ने, नाली सफा गर्ने तथा पानीका मुहानसम्म पुगेर काम गरे। धरानको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि कोकाहा खोलाबाट पानी ल्याउने अभियानमा उनले महिनौँसम्म जनतासँगै श्रमदान गरेका छन्। 

सामाजिक सञ्जालमार्फत प्रत्यक्ष संवाद, नागरिक सहभागितामा आधारित विकास र भ्रष्टाचारविरुद्ध खुलेर आवाज उठाउने शैलीले उनलाई समर्थकहरूबीच ‘अभियानबाट उठेको नेता’का रूपमा चिनायो। उनको कार्यशैलीलाई लिएर आलोचना गर्नेहरू पनि उत्तिकै सक्रिय रहे। समर्थक र आलोचकबीचको बहसले उनलाई निरन्तर सार्वजनिक चर्चाको केन्द्रमा राख्ने काम गर्यो।

राईको सामाजिक र राजनीतिक सक्रियता भने मेयर बन्नुअघि नै सुरु भइसकेको थियो। २०६८ सालतिर धरानमा कर वृद्धि तथा विभिन्न बेथितिविरुद्ध भएका आन्दोलनमा उनी सक्रिय रहे। 

पछि जनसरोकार मञ्चमा आबद्ध हुँदै उनले आन्दोलनको नेतृत्व गरे।  धरानको पुरानो खानेपानी समस्यालाई लिएर ‘पानी दे, पानी दे’ भन्ने नारासहितको अभियान चलाउँदा उनी स्थानीयस्तरमा आएका थिए। 

खानेपानी मुहान अनुगमनका क्रममा पाइप तोडफोडको आरोपमा उनी एकपटक पक्राउसमेत परे। केही दिन पछि रिहा भए।

हर्क साम्पाङले अवैध ढुङ्गा गिट्टी उत्खनन रोक्न खोलासम्म पुगेर विरोध जनाए। मदन भण्डारी राजमार्ग विस्तारका क्रममा घर भत्काउने विषयमा संघर्ष समितिमा सह संयोजक भएर आन्दोलन गरे। 

त्यसैगरी सीमा अतिक्रमणदेखि स्वास्थ्य सेवा सुधारसम्मका विषयमा आवाज उठाइरहे।। त्यही गतिविधिले उनलाई स्थानीय स्तरमा सक्रिय अभियन्ताका रूपमा स्थापित गरायो। 

गीत संगीतमा समेत रुचि राख्नुहुने राईले केही बर्ष अगाडि ‘मिसिङ हार्ट’ नामक एल्बमसमेत सार्वजनिक गर्नु भएको थियो। हिजोआज पनि कहिलेकाहीँ गितार बजाउँदै गीतमार्फत राजनीतिक व्यङ्ग्य गर्ने शैलीले पनि उनलाई फरक पहिचान दिलायो। सामाजिक सञ्जालमा उनी ‘हर्क साम्पाङ रिभोलुसन’ नामबाट चर्चित छन्। 

नगर प्रमुखकै जिम्मेवारीमा रहँदा उनले गत माघ ४ गते पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टी गठन गरेका हुन्।

अब सांसदका रुपमा आफूले अघि सारेको श्रम र नागरिक सहभागिताको ढाँचालाई राष्ट्रिय स्तरमा विस्तार गर्ने हर्क बताउँछन्। 

धरानको सडक र खानेपानीको मुहानबाट सुरु भएको राईको यात्रा अब संसद् भवनसम्म पुगेको छ। स्थानीय आन्दोलनबाट उठेकाराईको राजनीतिक यात्राले राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पार्ला भन्ने जिज्ञासा भने सबैको मनमा छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad