राजनीति


समानुपातिक सिट संख्या सार्वजनिक, रास्वपाको पुगेन दुईतिहाइ

समानुपातिक सिट संख्या सार्वजनिक, रास्वपाको पुगेन दुईतिहाइ

नेपालखबर
फागुन २९, २०८२ शुक्रबार ५:४७, काठमाडौँ

निर्वाचन आयोगले समानुपातिकतर्फ दलले प्राप्त गर्ने सिट सङ्ख्या निर्धारण गरी सार्वजनिक गरेको छ।

आयोगले बिहीबार विज्ञप्ति जारी गरी समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण मतगणना सम्पन्न गरी प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६०(२) अनुसार सम्बन्धित दलहरुले प्राप्त गरेको कुल सदर मत सङ्ख्याका आधारमा प्रचलित निर्वाचन कानुनबमोजिम तोकिएको थ्रेसहोल्ड (तीन प्रतिशत) पार गर्ने देहायका ६ दलबाट निम्नानुसारको सङ्ख्यामा उम्मेदवार निर्वाचित हुने गरी दलले प्राप्त गर्ने सिट सङ्ख्या निर्धारण भएको जनाएको छ।

जसअनुसार सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट पाएको छ। योसँगै रास्वपालाई दुईतिहाइ बहुमतका लागि २ सिट नपुग्ने भएको छ। प्रत्यक्षतर्फ १२५ क्षेत्रमा विजयी उसको कुल सिटको संख्या १८२ मात्र पुगेको छ। २७५ सदस्यीय प्रतिनिधि सभामा दुईतिहाइका लागि १८४ सिट चाहिन्छ।

यस्तै समानुपातिकतर्फ नेपाली कांग्रेसले २०, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) ले १६, नेपाली कम्युनिष्ट पार्टीले नौ तथा श्रम संस्कृति पार्टीले र राष्ट्रिय प्रजातन्त्र पार्टीले चार/चार सिट प्राप्त गरेका छन्।

समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण मतगणना सम्पन्न भई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० अनुसार आयोगको आजको निर्णय बमोजिम सिट बाँडफाँटसमेत गरिएको हो।

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा कूल एक करोड ८९ लाख ३ हजार ६८९ मतदातामध्ये पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक करोड ११ लाख ६८ हजार ३२ जनाले मतदान गरेका र त्यसमध्ये एक करोड ५ लाख ५९ हजार १७ (९४.५५%) मत सदर भएको छ।

त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड १२ लाख ८० हजार ६१७ जनाले मतदान गरेकामा एक करोड ८ लाख ३५ हजार २५ (९६.०५%) मत सदर भएको छ।

उल्लिखित सिट सङ्ख्याअनुसार ऐनको दफा ६०(४), प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४१ तथा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा ३५ बमोजिम तीन दिनभित्र उम्मेदवारको नाम छनोट गरी आयोगसमक्ष पेस गर्न सम्बन्धित राजनीतिक दललाई पत्राचार गरिएको आयोगले जनाएको छ।

प्रत्यक्षतर्फ पनि दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टीले ८ र श्रम संस्कृति पार्टीले ३ सिट जितेका छन्। अनि राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार (महावीर पुन) ले १/१ क्षेत्रमा विजय हासिल गरेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad