राजनीति


सुदन गुरुङको हुटहुटी: शपथ नखाँदै टावर माग्न टेलिकम धाउँछन्, मन्त्री बन्न 'च्यालेन्जिङ' पोर्टफोलियो खोज्छन्

सुदन गुरुङको हुटहुटी: शपथ नखाँदै टावर माग्न टेलिकम धाउँछन्, मन्त्री बन्न 'च्यालेन्जिङ' पोर्टफोलियो खोज्छन्

सुदन गुरुङ


आयुषा ढकाल
चैत १, २०८२ आइतबार ११:२७, काठमाडौँ

'मलाई त जुनै मन्त्रालय दिए पनि काम गर्न सक्छु। मलाई चाहिने भनेको अलि 'च्यालेन्जिङ' मन्त्रालय हो, अनि पो काम गर्न मजा आउँछ, आफ्नो पर्फमेन्स देखाउन सकिन्छ।'

गोरखा–१ बाट नवनिर्वाचित सांसद सुदन गुरुङको यो आत्मविश्वासले उनी संसद्‌मा छिर्नुअघि नै मन्त्रीको बलियो आकाङ्क्षी रहेको सङ्केत गर्छ। निर्वाचन जितेर काठमाडौँ फर्किएदेखि नै गुरुङको सक्रियता तीब्र  छ। कहिले आफ्नो निर्वाचन क्षेत्रमा टावर थप्न नेपाल टेलिकमको कार्यालय धाउने त कहिले नवनिर्मित संसद् भवनको अवलोकनमा पुग्ने उनका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल छन्। ती दृश्यहरू हेर्दा लाग्छ— उनी शपथ ग्रहणअघि नै काम सुरु गर्न आतुर छन्।

आन्दोलनदेखि सिंहदरबारको यात्रासम्म
भदौ २३ को चर्चित 'जेनजी' आन्दोलनबाट एकाएक राष्ट्रिय राजनीतिमा उदाएका गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आफ्नै जन्मथलो गोरखा–१ मा २९ हजार ८९६ मतका साथ विजयी भएका हुन्। उनले नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीलाई १४ हजार ४९८ को फराकिलो मतान्तरले पराजित गरेका हुन्।

देशभर प्रत्यक्ष र समानुपातिक गरी १८२ सिट जितेको रास्वपाले झन्डै दुई तिहाइको सरकार बनाउने तयारी गरिरहँदा मन्त्रिमण्डलमा को–को अटाउलान् भन्ने चासो सर्वत्र छ। यही सन्दर्भमा नेपालखबरसँग कुरा गर्दै उनले आफू कार्यकारी भूमिकामा जान तयार रहेको बताए।

देश इतिहासकै कठिन मोडबाट गुज्रिरहेका बेला आफूले फिल्डमा खटिएर काम गरेको अनुभवका आधारमा जस्तोसुकै कठिन मन्त्रालय सम्हाल्न सक्ने उनको दाबी छ। यद्यपि, पार्टीभित्र कसलाई कुन मन्त्रालय दिने भन्नेबारे औपचारिक छलफल नभइसकेकाले उनले 'यही मन्त्रालय' भनेर किटान गरेनन्।

'मन्त्री त बनिन्छ, तर म अहिले काठमाडौँ आएको भोलिपल्टदेखि नै कहिले पुल त कहिले टावरको कामका लागि कुदेकोकुदै छु,' गुरुङले नेपालखबरसँग भने, 'मन्त्रीका लागि मैले पार्टीसँग कुनै कुरा गरेको छैन। अहिले अन्तरिम सरकारको 'ह्यान्डओभर'का लागि तयारी गरिरहेको छु, ताकि आउने मन्त्रीहरूलाई सजिलो होस्।'

'सांसद हुँदा डिमोसन'
उनको तर्क अलि फरक र रोचक छ। उनी सांसद हुनुलाई 'डिमोसन' मान्छन्। उनी भन्छन्, 'पहिले सबै मन्त्रालयहरू हेर्न पाइन्थ्यो, अहिले एउटा सांसद मात्र भइयो। मन्त्री बनिसकेपछि फेरि एउटा मन्त्रालयमा मात्र आधारित भएर काम गर्नुपर्छ। अब त मेरो डिमोसन भएको छ।'

आफू मन्त्री बनेपछि 'अन्तर-मन्त्रालय समन्वय'लाई प्राथमिकता दिने उनको योजना छ। एउटा मन्त्रालयले गरेको कामको जानकारी अर्कोलाई नहुँदा राज्यको स्रोत र समय खेर गइरहेको भन्दै उनले 'इन्टर-मिनिस्ट्री कोअर्डिनेसन टिम' बनाउने खाका तयार पारेका छन्। 'यसो गर्दा कम्युनिकेसन छिटो हुन्छ र एउटाले बनाउने अनि अर्कोले खन्ने परिपाटी अन्त्य हुन्छ,' उनले स्पष्ट पारे।

आन्दोलनका ती दिन
भदौ २३ को आन्दोलनअघि सुदन 'हामी नेपाल' नामक संस्थाको संयोजक थिए। भ्रष्टाचारविरुद्ध युवाहरूलाई सडकमा उतार्न उनले डिस्कोर्ड र सामाजिक सञ्जालको अधिकतम प्रयोग गरेका थिए। भ्रष्टाचारले देशको गरिमा चोरेको भन्दै उनले दिएको 'अब पुग्यो!' (इनअफ इज इनअफ) को नाराले युवा पुस्तालाई सडकमा ल्याएको थियो।

त्यो आन्दोलन सामान्य रहेन। भदौ २३ गते नयाँ बानेश्वरमा प्रहरीको गोलीबाट २० जनाको मृत्यु भएपछि स्थिति नियन्त्रणबाहिर गयो। २४ गते कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका मुख्यालयदेखि राष्ट्रपति र प्रधानमन्त्री निवाससम्म आगजनी भए। त्यो भयावह स्थितिमा घाइतेहरूको उद्धारमा सक्रिय सुदन बिस्तारै आन्दोलनको केन्द्रविन्दुमा आए।

पानी बाँड्ने स्वयंसेवकका रूपमा देखिएका उनी आन्दोलन सकिँदासम्म राजनीतिक परिवर्तनको एक जना 'किङमेकर'का रूपमा स्थापित भइसकेका थिए। सुशील कार्कीको अन्तरिम सरकार गठन र मन्त्रीहरूको नियुक्तिमा उनको भूमिका निर्णायक देखियो।

कुलमान-बालेन-रविका सुत्रधार
सुरुमा मूलधारको राजनीतिमा आउन अनिच्छुक गुरुङले बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङजस्ता व्यक्तिहरूलाई एउटै कित्तामा ल्याउन समन्वयकारी भूमिका खेलेका थिए। नागरिकता विवादका कारण केही समय छायामा परेका उनी आफ्नो जन्मथलो चुमनुब्री पुगेपछि त्यहाँको बिजोग देखेर चुनाव लड्ने निर्णयमा पुगेका हुन्।

मनोनयन दर्ताको अन्तिम समयमा रास्वपाबाट टिकट लिएका सुदन अहिले संसद्‌मा मात्र होइन, मन्त्रिपरिषद्‌मा समेत 'च्यालेन्जिङ' भूमिकाको पर्खाइमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad