राजनीति


नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

नेपालखबर
चैत २, २०८२ सोमबार २०:५९, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले प्रवासी नेपालीलाई मातृभूमिमा लगानी गर्न आह्वान गरेकी छिन्। गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औँ अधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको समापत्र सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मातृभूमिको माया र जिम्मेवारी सम्झेर नेपालको विकास यात्रामा सक्रिय सहभागिताका साथ लाग्न आह्वान गरेकी हुन्।

‘नेपालको विकास र समृद्धिका लागि सरकारको प्रयास मात्र पर्याप्त हुँदैन। स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरूको सहकार्य, लगानी, ज्ञान र नवप्रवर्तन आवश्यक हुन्छ। त्यसैले म सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई मातृभूमिप्रतिको माया र जिम्मेवारीलाई सम्झेर नेपालको विकास यात्रामा सक्रिय सहभागिताका लागि आह्वान गर्दछु,’ उनले भनिन्।

प्रधानमन्त्री कार्कीले एनआरएनएको एकताले नेपालको समृद्धि र विकासका लागि नयाँ मार्गदर्शन दिने विश्वास व्यक्त गरिन्। उनले नेपालको लगानी र अवसरलाई सदुपयोग गर्न अपिल गर्दै प्रवासी नेपालीको हातेमालोले विकास, पर्यावरणीय संरक्षण र आर्थिक रुपमा समृद्ध बनाउने बताइन्।  

प्रधानमन्त्री कार्कीले नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मासहित सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना पनि दिइन्।

सम्मेलनले विश्वका विभिन्न कुनामा फैलिएका नेपालीहरूलाई एउटै मञ्चमा ल्याएर एकताको सन्देश प्रवाह गर्न महत्त्वपूर्ण रहेको बताइन्। सम्मेलनले सबैमा साझा प्रतिबद्धता, नयाँ सहकार्यको वातावरण र मुलुकको विकासतर्फ अग्रसर हुने स्पष्ट मार्गदर्शन गरेको उनले उल्लेख गरिन्।

‘नेपाल अहिले परिवर्तनको नयाँ चरणमा प्रवेश गरेको छ। नयाँ जनादेश र बदलिँदो राजनीतिक परिवेशले मुलुकलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगाएको छ,’ उनले भनिन्, ‘यस्तो महत्वपूर्ण समयमा यहाँहरूले एकताको महाधिवेशन आयोजना गरी नेपालको विकासमा सहकार्य र साझा जिम्मेवारीको सन्देश प्रवाह गर्नुभएको छ।’

नेपालको संविधानले गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सहितको नागरिकताको व्यवस्था गरेको भन्दै उनले यो प्रबन्ध मातृभूमि र प्रवासी नेपालीबीचको आत्मीय सम्बन्धलाई अझ बलियो बनाउने सेतु भएको बताइन्। 

एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपाल नेपालीले नै बनाउने बताए।

‘संस्थामा बीचमा केही समस्या आएका थिए। तर ती समस्यालाई थाहा पाएर निराकरण गरेर तबमात्र अगाडि बढिन्छ भन्ने लागेर सबैले मेहनत गरेर हाम्रो बाटोमा फेरि ल्याइदिनुभएको छ,’ उनले भने।

सभ्यता र संस्कारसहितको आर्थिक समृद्धि आवश्यक रहेको भन्दै उनले सरकारसँग हातेमालो गरेर अगाडि बढ्न गैरआवासीय नेपाली तयार रहेको बताए। 

अध्यक्षमा निर्विरोध डा हेमराज शर्माले आफूलाई सर्वसम्मत बनाएकोमा रोविन शेरचन र रविन बर्जाचार्यलाई धन्यवाद दिए। एनआरएनएको एकताका लागि भूमिका खेल्ने पूर्वअध्यक्षहरु, सरकारका पदाधिकारीलाई पनि सम्मान व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad