देशका अधिकांश निर्वाचन क्षेत्रले यसपटक नयाँ प्रतिनिधि चुन्दा महोत्तरी ४ का मतदाताले पनि सोही प्रवृत्ति पछ्याए। जसका कारण यो क्षेत्रबाट गौरी कुमारी सांसद बनेकी छन्। पहिलो पटक चुनाव लडेकी गौरीले जसपाका सुरेन्द्रकुमार यादव, कांग्रेसका महेन्द्रकुमार राय र एमालेकी निलम अधिकारी लगायतलाई पछि पारिन्।
३० हजारभन्दा बढी मतसहित जित हासिल गरेकी गौरीको पृष्ठभूमि राजनीतिक होइन। बरु उनको साइनो स्वास्थ्य र शिक्षासँग जोडिएको छ।
महोत्तरीमै जन्मेकी गौरी बुवाआमाका लागि सन्तान मात्र होइन, वर्षौँपछि पाएको उपहार र खुसी थिइन्। विवाह भएको १२ वर्षसम्म सन्तान नभएपछि बुवाआमाले धेरै ठाउँमा भाकल गरे। अन्तत: गौरीको जन्म भयो।
गौरीका बुवा जमिनदार थिए, जसले गौरीको पालनपोषण र शिक्षा सहज भयो। गाउँमा माध्यामिक विद्यालय नहुँदा सानैबाट उनी भारतको सीतामढी बसेर पढिन्। गौरीकी आमा छोरीलाई डाक्टर बनाउन चाहन्थिन्। आमाको सपना पछ्याउँदै उनले सीतामढीमै आइएस्सी गरिन्। सोहीबेला उनको बिहेको कुरा चल्यो। र, डाक्टरी पढाउने सर्तमा महोत्तरीकै शिव यादवसँग उनको बिहे भयो।
त्यतिबेला शिव रुसमा पढिरहेका थिए। उनी श्रीमानसँगै रुस पुगिन्। जहाँ एकवर्ष रुसी भाषा सिकेसँगै उनले चिकित्साशास्त्रमा दुई वर्ष अध्यनन गरिन्। तर, सन्तानको रेखदेख र पारिवारिक जिम्मेवारीका कारण उनको पढाइ बीचमै रोकियो। नौ वर्ष रुस बसेपछि श्रीमानसँगै उनी नेपाल फर्किइन्।
गौरीका हजुरबुबा प्रधानपञ्च थिए। रुसबाट फर्केपछि उनका श्रीमान् मधेसवादी दल जनता समाजवादी पार्टी (जसपा) का नेता बने। त्यसैबेलादेखि उनले श्रीमानको राजनीतिक यात्रालाई नजिकबाट नियाल्ने मौका पाइन्। जसले गौरीमा पनि समाजका लागि केही गर्नुपर्छ भन्ने भावना पलायो।
पुराना दल र नेताहरूले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको र माथिल्लो तहका नेताहरूले तलकालाई काम गर्ने वातावरण नदिएकोमा गौरीको गुनासो थियो। त्यही असन्तुष्टि र देश बनाउनुपर्छ भन्ने हुटहुटीले चुनावमा उठेको उनको भनाइ छ।
‘श्रीमान् राजनीतिमा भएकाले मलाई पनि यसप्रति चासो थियो। पारिवारिक जिम्मेवारीका कारण राजनीतिमा भने आएकी थिइनँ। जनताका लागि धेरै गर्नुपर्ने कामहरू बाँकी छन्। तर भइरहेका छैनन् भन्ने कुराले मलाई सधैँ पोल्थ्यो। त्यो असन्तुष्टि र देश बनाउने हुटहुटीले पनि राजनीतिमा आएँ,’ उनले भनिन्।
उनका अनुसार पुराना दल र नेतृत्वले महोत्तरीका जनताका समस्याहरू शिक्षा, स्वास्थ्य र कृषिमा कहिल्यै गम्भीर ध्यान दिएनन्। यसैबीच, काठमाडौँमा बालेन शाहले गरेको काम र रास्वपाको उदयले ५४ वर्षीया गौरीमा एउटा नयाँ आशा जगायो। महोत्तरी बालेन शाहको समेत पुर्ख्यौली थलो हो।
‘पुरानो शैलीले अब देश बन्दैन’ भन्ने निष्कर्षमा पुगेपछि गौरी रास्वपातिर आकर्षित भइन्। गौरी मात्रै होइन्, उनका श्रीमान् पनि पुरानो दल त्यागेर श्रीमतीसँगै रास्वपा प्रवेश गरे।
‘काठमाडौँमा बालेनले जसरी काम गर्नुभयो, उहाँको त्यो काम देखेर हामी उहाँको कार्यकालमा केही गर्न सकिन्छ कि भन्ने प्रेरणाले राजनीतिमा आएका हौँ। धेरै युवाहरूमा अहिले बालेनले गर्दा नै एउटा आशा र भरोसा जागेको छ। उहाँबाटै प्रभावित भएर केही राम्रो काम गर्ने हुटहुटीका साथ म रास्वपामा आएँ,’ उनले भनिन्।
निर्वाचित भएपछि गौरीको काँधमा महोत्तरीको ठूलो जिम्मेवारी छ। उनले आफ्नो क्षेत्रका समस्याहरूलाई प्राथमिकतामा राखेकी छिन्। उनका अनुसार त्यसक्षेत्रमा सरकारी विद्यालयहरूमा भौतिक संरचना भए पनि गुणस्तरीय शिक्षाको अभाव छ। आफ्ना छोराछोरीलाई अक्षर चिनाउनकै लागि अभिभावकहरूले जनकपुर वा अन्य सहर धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उनको पहिलो लक्ष्य हो।
भन्छिन्, ‘अहिले हाम्रो क्षेत्रको सरकारी स्कुलहरूको अवस्था हेर्नुभयो भने भवनहरू त छन्, तर त्यहाँ पढाइको गुणस्तर छैन। टिचरहरू हुनुहुन्छ तर व्यवस्थापन मिलेको छैन। दक्षभन्दा आफू निकट शिक्षक भर्ना गर्ने चलन छ। मेरो मुख्य प्राथमिकता भनेको हाम्रै गाउँको सरकारी विद्यालयहरूलाई सुधार्ने हो। हाम्रा नानीबाबुहरूले आफ्नै घरमा बसेर, आफ्नै गाउँको स्कुलमा गुणस्तरीय शिक्षा पाउनुपर्छ।’
त्यस्तै, उनले स्थानीय स्तरमा स्वास्थ्य सेवाको अवस्था नाजुक रहेको खुलाइन्। एउटा सामान्य बिरामी हुँदा पनि निजी अस्पतालमा गएर चर्को शुल्क तिर्नुपर्ने बाध्यतालाई हटाएर सरकारी स्वास्थ्य केन्द्रहरूलाई सुविधासम्पन्न बनाउने उनको अठोट छ।
उनका अनुसार महोत्तरीका किसानले समयमा मल र बिउ पाउँदैनन्। त्यसमाथि सिँचाइको उस्तै समस्या। संसद्मा पुगेर यी आधारभूत आवश्यकताका लागि सधैँ आवाज उठाउने उनको प्रतिबद्धता छ।
छोरीहरूलाई सामाजिक दायित्वका रूपमा मात्र नहेरी उनीहरूलाई आर्थिक रूपमा बलियो बनाउनुपर्नेमा गौरीको जोड छ। छोरीहरूलाई अंश र शिक्षा दिएर आत्मनिर्भर बनाउन सके मात्र समाजको वास्तविक विकास हुने उनको धारणा छ।
आफूलाई जिताएर संसद् पठाएकोमा उनले मतदाताप्रति आभार व्यक्त गरिन्। जनताले आफूमाथि ठूलो भरोसा गरेर मत दिएकाले उनीहरूको त्यो विश्वासलाई काम गरेरै देखाउने उनको अठोट छ।
‘यहाँका मतदाताहरूले मलाई जुन विश्वासका साथ जिताउनुभएको छ। त्यसको लागि म सधैँ ऋणी छु। म त्यसलाई कहिल्यै मर्न दिने छैन,’ उनले भनिन्।
Shares

प्रतिक्रिया