राजनीति


पुस्तान्तरणसहित नयाँ कम्युनिस्ट पार्टी बनाउन १० नेताले गरे झापाबाट अपील

पुस्तान्तरणसहित नयाँ कम्युनिस्ट पार्टी बनाउन १० नेताले गरे झापाबाट अपील

नेपालखबर
चैत ९, २०८२ सोमबार २२:३०, काठमाडौँ

यसपटकको प्रतिनिधि सभाको चुनावमा लज्जास्पद हार व्यहोरेपछि केही नेताहरू कम्युनिस्ट एकताको पहलमा जुटेका छन्।  

नेपालमा लोकप्रियतावाद हाबी हुनसक्ने खतरा रहेको भन्दै कम्युनिष्ट आन्दोलनमा लागेका नेताहरूले नयाँ ढंगको कम्युनिस्ट बनाउने अभियान थालेका हुन्। 

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको चुनावको समीक्षा गर्दै १० नेताले नयाँ वाम एकताको घोषणा गरे। 

सोमबार विभिन्न पार्टीमा आवद्ध १० जना नेताले कोसी प्रदेशबाट एकताको अपिल गरेका हुन्। 

अभियानको थालनीकर्ता मध्येका नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रञ्जित तामाङले चुनावी समीक्षापछि कम्युनिस्ट मिल्नुको विकल्प नभएको निचोडमा पुगेको बताए।

उनीहरूले २०७५ सालमा भएको एमाले र माओवादी केन्द्रको एकता बीचमै टुट्दा अहिले नयाँ शक्ति उदाएको निष्कर्ष निकालेका छन्। 

तर,यसपटक पुस्तान्तरण र रुपान्तरण हुनुपर्ने आफूहरूको अडान रहेको उनले बताए।  

‘पुँजीवादी एजेन्टहरू पपुलारिज्मको जामा लगाएर जो आए, यसले नेपाली जनताको जनमुखी, योजना कार्यक्रम र अपेक्षामाथि कुठाराघात गर्छ,’ तामारूले नेपालखबरसँग भने, ‘वामपन्थी शक्तिहरूले ऐतिहासिक अभिभारा र जनताको चाहनाको नेतृत्व गर्न नसक्दा, सेवक होइन शासकीय प्रवृत्ति बढ्दाखेरी नेपाली कम्युनिष्ट आन्दोलनमा नेकपा बनेर पनि विघटन भयो। त्यो निरासाको जगमा यो पपुलारिज्मको रुपमा वैकल्पिक शक्ति आएको हो।’

त्यसैले पुरानै नेकपाको पुनरावृत्ति होइन, नयाँ परिस्थितिमा नयाँ ढंगले जानपर्ने आफूहरूको निचोड रहेको उनको भनाइ छ।

‘हाम्रो गल्ती जुन पोइन्टमा भएको हो, त्यहीबाट करेक्सन गर्नुपर्छ भन्ने थ्यौरी हो, यो,’ तामाङले थपे, ‘अब पुरानै नेतृत्व, पुरानै शैली, पुरानै तरिका, जो असफल भयो। त्यहीँबाट करेक्सन हुँदैन, अब एकदमै नयाँ ढंगबाट जानुपर्छ। पुस्तान्तरण र हस्तान्तरणसहित नयाँ सन्दर्भमा रुपान्तरित नेकपाको लाइन झण्डा बोक्नुपर्छ।’

चुनावी परिणाम गम्भीर मोड
उनीहरूले सोमबार जारी गरेको संयुक्त अपिलमा यस पटकको चुनावी पराजयलाई ‘इतिहासकै गम्भीर मोड’ का रूपमा व्याख्या गरेका छन्।

‘संसदीय निर्वाचनमा यसस्तरको पराजय पहिलो पटक हो, जसले आन्दोलनको भविष्यमाथि नै गम्भीर प्रश्न खडा गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विदेशी चलखेल सधैं रहन्छ, तर त्यसलाई बहाना बनाएर नेतृत्वले आफ्ना कमजोरी लुकाउन खोज्नु स्वीकार्य हुँदैन।’

अपिल गर्नेहरुमा तामाङसहित २०२८ सालको झापा आन्दोलनका अगुवा नरेश खरेल, एमाले पूर्व केन्द्रीय सदस्य रविन कोइराला र गणेश पोखरेल,  नेपाली कम्युनिष्ट पार्टीका झलकसिंह दर्लामी, पुष्प पोखेल, ज्योतिसिंह दर्लामी, नेकपा संयुक्तका निलमणी बराल,  नेकपा माओवादीका अर्जुन पाण्डे, प्रगतिशील लोकतान्त्रिक पार्टीकी  लक्ष्मीदेवी न्यौपाने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad