राजनीति


सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

नेपालखबर
चैत १०, २०८२ मंगलबार ६:१८, काठमाडौँ

सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन्। दलहरूको सांसद सङ्ख्या र पदाधिकारीको आवश्यकताअनुसार कक्षहरू छुट्याइएको छ भने अधिकांश स्थानमा रङ्गरोगन, कार्पेट र फर्निचर जडानको काम सम्पन्न भइसकेको छ।

यसपटक बहुमतसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भने सबैभन्दा ठूलो कक्ष दिइएको छ । सचिवालय भवन नं २ मा व्यवस्थित गरिएको रास्वपाको संसदीय दलको कक्षमा १८० कुर्सीसहितको बैठक हल राखिएको छ। पूर्ववत् प्रयोगमा रहेका कार्पेट, पर्दा र अधिकांश फर्निचर नै पुनः प्रयोग गरिएको छ । थोरै नयाँ थपिएका छन्।

खर्च कटौतीलाई प्राथमिकता दिने दलको धारणाअनुसार रास्वपाका महामन्त्री एवं नवनिर्वाचित सांसद कबिन्द्र बुर्लाकोटीले नयाँ खरिद नगरी उपलब्ध सामग्रीबाटै व्यवस्थापनका लागि गर्नुभएको आग्रहअनुसार व्यवस्थापन गरिएको कर्मचारी बताउँछन्।

बैठक हलसँगै पदाधिकारीका लागि थप पाँच कक्षसमेत तयार पारिएको छ। यसअघि रास्वपाले प्रयोग गर्दै आएको भवनमा भने अन्य दलहरूको कार्यालय व्यवस्थापन गरिएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका कक्षहरू त्यही भवनमा तयार गरिएको छ। यद्यपि ती कक्षहरूमा रङ्गरोगन सम्पन्न भइसकेको छ भने कार्पेट र फर्निचर जडानको काम जारी छ।

नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई भने साबिककै संसदीय दलका कार्यालयमा निरन्तरता दिइएको छ। सांसद सङ्ख्या र पदाधिकारीका आधारमा कोठा विभाजन गरिएका छन्।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार यो व्यवस्था अल्पकालीन भए पनि संसद् सञ्चालन सुरु हुने समयसम्म सबै दलका संसदीय कार्यालय पूर्ण रूपमा तयार भइसक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad