नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई थप सुदृढ बनाउन पार्टी एकता नै आजको प्रमुख आवश्यकता रहेको बताएका छन्।
नेपाली कांग्रेस चितवनद्वारा आयोजित ‘भेटघाट तथा विमर्श’ कार्यक्रममा महरले अबको यात्रा ‘एकताबद्ध कांग्रेस’ का लागि मात्र केन्द्रित हुनुपर्ने बताएका हुन्। आगामी महाधिवेशनमार्फत पार्टीको साङ्गठनिक र वैचारिक पुनर्संरचना गर्दै हिजोका सबै आग्रह पूर्वाग्रह त्यागेर शून्यबाटै नवीन यात्रा थाल्नुपर्नेमा उनले जोड दिए। कांग्रेस र राष्ट्रको हितलाई केन्द्रमा राखेर सबैले व्यक्तिगत कुन्ठा त्याग्नुपर्ने उनको भनाइ थियो।
त्यसका लागि देशभरका सबै लोकतन्त्रवादी एक ठाउँमा आउनुपर्ने महरले बताए। ‘हामी सबैका कुण्ठा, आवेग, हिजो अतिरञ्जनापूर्ण अभिव्यक्ति, नियमित र विशेष महाधिवेनका नाममा विभक्त सबैले पार्टी निर्माणका लागि १५औँ महाधिवेशनमा सबैको साझा पार्टी निर्माण गरेर अगाडि बढ्ने अभियानमा लागौँ। त्यसरी अगाडि बढ्न सकेनौँ भने नेपाल र कांग्रेसको इतिहास जोगाउन चुक्ने छौँ,’ महरले भने।
यस्तै उनले कांग्रेसको मध्यममार्गी लोकतान्त्रिक विचारलाई अझै उचाइमा पुर्याउनुपर्नेमा जोड दिए। पार्टीभित्रको वैचारिक बहुलता र आन्तरिक लोकतन्त्रलाई नै कांग्रेसको ‘सर्वाङ्गीण शक्ति’ का रूपमा उनले व्याख्या गरे।
बीपी कोइराला र सुवर्ण शमशेरले दुई भिन्न शक्तिलाई एकीकृत गरेर कांग्रेस निर्माण गरेको ऐतिहासिक तथ्य स्मरण गर्दै महरले सोही एकताको जगमा उभिएर आज झन् सशक्त र एकताबद्ध कांग्रेस निर्माणको संकल्प गर्नुपर्ने बताए।पार्टीलाई अझै जनमुखी बनाउन नेतृत्वदेखि तल्लो तहसम्म निर्मम आत्मसमीक्षा गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो। कांग्रेसभित्रका विविध विचार तथा दृष्टिकोणलाई उच्चतम सहिष्णुताका साथ आत्मसात् गर्नुपर्ने महरले बताए।
विश्व राजनीतिका सकारात्मक दृष्टान्तहरू प्रस्तुत गर्दै उनले बेलायतको लेबर पार्टीले गरेको ऐतिहासिक पुनरुत्थानबाट पाठ सिकेर कांग्रेसले पनि विगतका गुटगत किचलो र आन्तरिक शक्ति सङ्घर्षका विषयलाई गौण मान्दै रणनीतिक पुनर्जागरणको बाटो तय गर्नुपर्ने बताए।
लोकतन्त्रको रक्षा र देशको सामाजिक, आर्थिक रूपान्तरणको नेतृत्व गर्न कांग्रेसले आफैभित्रको एकतालाई पहिलो सर्त बनाउनुपर्ने उनको भनाइ थियो।
Shares

प्रतिक्रिया