नेपाली कांग्रेस संसदीय दलको नेता भीष्मराज आङदेम्बेलाई बन्ने भएका छन्। कांग्रेसले पूर्व समहामन्त्री तथा समानुपातिक सांसद आङदेम्बेलाई सर्वसम्मत दलको नेता बनाउन लागेको हो।
गत फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनमा सभापति गगन थापासहित सबै शीर्ष नेता पराजित भएपछि समानुपातिकबाट सांसद बनेका आङदेम्बेलाई सर्वसम्मत संसदीय दलको नेता बनाउन लागिएको हो। कांग्रेसका एक पदाधिकारीले भने, ‘भीष्मराज आङदेम्बेजी सर्वसम्मत रुप संसदीय दलको नेता बन्नुहुन्छ। पार्टीभित्र बृहत एकताको प्रस्थान मिन्दु नै दलको नेता चयनबाट गर्न चाहन्छौँ।’
ती पदाधिकारीका अनुसार कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट आङदेम्बेलाई सर्वसम्मत दलको नेता बनाउन सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा सकारात्मक छन्। ‘अर्जुननरसिंह केसी दाइले पनि संसदीय दलको नेतामा दाबी गर्नु भएको छ। उहाँ सबै हिसाबले योग्य पनि हुनुहुन्छ। तर, सभापति गगन थापा र उहाँको पारिवारिक सम्बन्धको विषय सधैं उठिराछ। यसले पार्टी र सभापतिलाई ड्यामेज गर्छ भन्ने हाम्रो साझा बुझाइ छ। त्यसैले भीष्मराज आङ्देम्बेजी नै दलको नेता बन्नुहुन्छ,’ उनले भने।
यता देउवा र शेखर कोइराला पक्ष पनि आङदेम्बेलाई दलको नेता बनाउन एकमत छ। कांग्रेस संसदीय दलको नेता चयनका सन्दर्भमा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको थियो। चुनावपछि खड्काको निवासमा पुगेका कोइरालाले पार्टीको राजनीति र संसदीय दलको नेता चयनमा मिलेर जान समहत भएका थिए।
पूर्व सहमहामन्त्री बद्री पाण्डेले आङदेम्बे नै दलको नेता बन्ने परिस्थिति बन्ने बताए। ‘अर्जुन दाइले शेखर दाइलाई दलको नेतामा सहयोग माग्नु भएको थियो। हामीले सर्वसम्मत हुने भए मात्र अगाडि सर्नुहोस् भनौं। त्यसका लागि सबै पक्ष मिलाउनुपर्छ,’ पाण्डेले भने।
त्यस्तै, उपसभापति शर्माले पनि पूर्व सहमहामन्त्री केसीलाई दलको नेता बनाउन नसकिने सन्देश दिइसकेका छन्।शर्मा निकट स्रोतले भन्यो, ‘विश्व दाइले अर्जुननरसिंह दाइलाई दलको नेता बनाउन नसकिने कुरा प्रष्ट भनिसक्नु भएको छ। सम्भवत भीष्मराज दाइ नै दलको नेता बन्नुहुन्छ। विश्व दाइको सोच पनि त्यही देखिन्छ।’
विगतदेखि नै उपसभापति शर्मा र आङ्देम्बको सम्बन्ध समधुर देखिन्छ। कांग्रेसले समानुपातिकतर्फ २० जना सांसद छान्दा ८ जना कोसी प्रदेशका बनेका छन्। पाँचथरका आङ्देम्बेलाई दलको नेता बनाएर झापा निवासी उपसभापति शर्मा कोशी प्रदेशमा शक्ति केन्द्रित गराउने रणनीतिमा देखिन्छ। बिहीबार भएको सांसदको सपथ ग्रहणमा पनि आङ्देम्बे प्रतिपक्षी दलको नेताको आसनको पहिलो नम्बरमा बसेका थिए।
२०७० सालमा भएको संविधानसभा निर्वाचनमा तत्कालीन पाँचथर–२ बाट निर्वाचित आङ्देम्बे संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको सभापति भएका थिए। आङ्देम्बेका हजुरबुवा देउमान आङदेम्बे २०१३ माघ २३ गते पुनर्गठित टंकप्रसाद आचार्य नेतृत्वको मन्त्रिपरिषदमा अर्थ तथा मालपोत उपमन्त्री भएका भए। लिम्बू समुदायबाट पहिलो मन्त्री भन्ने अवसर देउमानले पाएका थिए।
सात दशक लामो इतिहास भएको कांग्रेसमा लिम्बू समुदायबाट दलको नेता बन्ने अवसर भीममराज आङदेम्बे मिल्ने निश्चित भएको नेताहरू बताउँछन्। आङदेम्बेले दलको नेतामा आफ्नो दाबी रहेको भन्दै सबै पक्षबाट सकारात्मक जवाफ पाएको बताए। उनले भने, ‘मैले पार्टीका सबै नेताहरूसँग भेटघाट गरिसकेको छु। सबैले सकारात्मक जवाफ दिनुभएको छ। केही दिनमा पार्टीले निर्णय गर्ला।’
Shares

प्रतिक्रिया