राजनीति


त्रिवि शिक्षण अस्पतालमै हुँदैछ ओलीको बयान

त्रिवि शिक्षण अस्पतालमै हुँदैछ ओलीको बयान

नेपालखबर
चैत १९, २०८२ बिहिबार २०:१, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बयान थालिएको छ। पूर्वगृहमन्त्री रमेश लेखकको बयान सकेर प्रहरी र सरकारी वकिलले ओलीको बयान सुरु गरेका हुन्। 

बिहीबार दिउँसोबाट त्रिवि शिक्षण अस्पतालमै ओलीको बयान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए। बयानका लागि प्रहरी र सरकारी वकिल अस्पताल पुगेका छन्। 

जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका ओलीलाई गएको शनिबार (चैत १४) गुन्डुस्थित निवासबाटै पक्राउ गरेको थियो। पक्राउ पछि हरेक आरोपितलाई हिरासतमा राख्नु पहिले स्वास्थ्य परीक्षण गर्नुपर्छ। ओलीलाई पनि त्यसैदिन स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको थियो। 

तर अस्पतालका डाक्टरले ओलीको स्वास्थ्यमा समस्या रहेको भन्दै चिकित्सककै निगरानीमा राख्नु पर्ने बताएका थिए। त्यसपछि उनलाई हिरासतमा नराखी अस्पतालमै राखिएको थियो। 

आइतबार म्याद थप गर्दा पनि उनलाई अदालतमा उपस्थित गराउन सकिएको थिएन। प्रहरी र सरकारी वकिलले स्वास्थ्य समस्याका कारण ओलीलाई इजलासमा उपस्थित गराउन नसकिएको भन्दै म्याद मागेका थिए। ओलीलाई भने भिडिओ कल गरिएको थियो। 

त्यसदिन अदालतले ५ दिन हिरासतमा राख्न पहिलो पटक म्याद दिएको थियो। त्यो म्याद बुधबार नै सकिए पनि ओलीको बयान नै सुरु भएको थिएन। लेखकको भने बुधबार सरकारी वकिल कार्यालयमै बयान गराइएको थियो। 

ओलीलाई अस्पतालबाट बाहिर निकाल्नै नमिल्ने भएपछि अस्पतालमै बयान सुरु गरेको हो। 

ओलीको स्वास्थ्य अवस्था जटिल रहेको भन्दै अदालतले बयान कार्य सम्पन्न भए पश्चात निजको स्वास्थ्य उपचार समेतलाई असर नपर्ने गरी अनुसन्धान कार्य गर्न समेत आदेश दिएको छ। 

ओली सँगै पक्राउ परेका लेखकलाई भने प्रहरीको २ नं गण महाराजगन्जमा राखिएको छ। 

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सरकारले उनीहरु दुई जनामाथी अनुसन्धान अगाडि बढाएको हो। अन्यको हकमा भने तत्काल कारबाही अगाडि नबढाउने भएको छ। यसअघि काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पक्राउ गरेर पनि त्यसै दिन प्रहरीले रिहा गरेको थियो। आयोगले उनलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो। 

सुरक्षाकर्मी र कर्मचारीको हकमा सरकारले थप अध्ययन गरेर मात्रै निर्णय लिने भएको छ। २४ गतेको घटनामा अनुसन्धान गर्नै नभ्याइएको आयोगले प्रतिवेदनमा उल्लेख गरेपछि सरकारले अर्को समिति बनाउने निर्णय गरेको छ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग एक पक्षीय देखिएको आरोप छ। आयोगले ओली र लेखकसहितलाई ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गरेर कारबाही गर्न सिफारिस गरेको छ।

आयोगले मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अनुसार कारबाही सिफारिस गरेको छ। उक्त दफा अनुसार कसुर ठहर भए १० वर्षसम्म कैद हुने व्यवस्था छ।

ओलीलाई पछिल्लो समय पिसाबको संक्रमण देखिएको छ। जसले गर्दा पत्थरीको शल्यक्रिया पनि केही दिन पछि सरेको अस्पताल स्रोतले जानकारी दिएको छ। 

बिहीबार उनको युरिन टेस्ट रिपोर्ट आएको हो। यसअघि ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी देखिएको थियो। उनको पत्थरीको शल्यक्रिया गर्ने तयारी गरिएको थियो। तर पिसाबको संक्रमण देखिएपछि केही समय पछि सारिएको छ। 

पिसाब संक्रमण ठिक भएपछि पत्थरीको शल्यक्रिया बारे निर्णय गर्ने अस्पतालले जनाएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको ‘एनेक्स–१’ को बेड नम्बर ५०१ मा चिकित्सकहरूको निगरानीमा राखिएको छ। 

ओली मिर्गौला प्रत्यारोपणका बिरामी पनि हुन्। उनको दुई पटक मिर्गौला प्रत्यारोपण भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad