राजनीति


सर्वोच्चमा ओलीका वकिल- जेनजी आन्दोलनमा सरकारले अपराध गरेको होइन, सुरक्षा कारबाही भएको हो

यस्तो मुद्दामा यसअघि कहिल्यै पक्राउ परेका थिएनन् प्रधानमन्त्री र गृहमन्त्री
सर्वोच्चमा ओलीका वकिल- जेनजी आन्दोलनमा सरकारले अपराध गरेको होइन, सुरक्षा कारबाही भएको हो

उजिर कार्की
चैत २३, २०८२ सोमबार १८:१३, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि सरकारले प्रतिशोध साँधेको पूर्वमहान्यायाधिवक्ता अग्नी खरेलले जिकिर गरेका छन्। सोमबार ओली र लेखकको तर्फबाट दायर बन्दीप्रत्यक्षीकरण रिटमा  बहस गर्दै खरेलले अव्यवस्थित र गैरकानुनी प्रतिवेदनका आधारमा थुनामा राखिएको बताए। 

बन्दीप्रत्यक्षीकरण रिट निवेदन न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ सकिएको छ। आदेश आउन बाँकी छ। सोमबार नै संक्षिप्त आदेश आउने न्यायाधीश शर्माले इजलासमा जानकारी दिएका छन्। 

त्यसअघि जवाफी बहसका क्रममा पूर्वमहान्यायाधीवक्ता एवं वरिष्ठ अधिवक्ता खरेलले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले मनलाग्दी प्रतिवेदन बनाएको आरोप लगाए। ‘प्रतिवेदनमा बहकिएर आफूखुशी मनलाग्दी लेखिएको छ। अब सर्वोच्च अदालतकै विषय पनि त्यहाँ छन्। अब श्रीमानहरू पूर्ण इजलास बसेर संविधान संशोधन गर्नुहुन्छ?’, खरेलले इजलासमा सोधे, ‘रिपोर्ट यसरी क्षेत्राधिकार बाहिर छ। मनलाग्दी छ। आफूलाई चित्त नबुझेका विषय त्यहाँ उल्लेख गरेका छन्।’

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक सुरक्षा घेरामा हुने भएकाले भागेर जाने, प्रमाण नष्ट गर्ने कुनै सम्भावना नरहेकाले पक्राउ गर्न जरुरी नरहेको उनको दाबी थियो। 

‘घटना भएको भनिएको स्थानमा ओली र लेखक छैनन्। यस्तो अवस्थामा फौजदारी मुद्दा लाग्दैन। यसअघि २०४६ सालमा २०६२/६३ मा पनि व्यवस्था परिवर्तनकै आन्दोलन भएका थिए। मान्छे मारिएका थिए। जाँचबुझ आयोगहरू बनेका थिए। प्रतिवेदन दिएका थिए। तर त्यतिबेलाका प्रधानमन्त्री र गृहमन्त्रीलाई त पक्राउ गरिएन, कारबाही भएन’, खरेलले भने, ‘अहिले त सरकार जसरी पनि कारबाही गर्ने भनेर लागेको छ। दुई–चार दिन भए पनि थुन्ने मनसायले सरकार अगाडि बढेको छ। यो भनेको प्रतिसोध हो।’ 

खरेलले थपे, ‘ओली बाबुको १३ दिने कर्म भखरै सकेका र लेखक पनि आमाको वर्षदिने बारिहेका बेला पक्राउ गरिएको छ। उहाँहरू अहिले पनि घरबाट खाना लगेर खाइरहनु भएको छ। अनुसन्धानको नाममा यो हद होइन र श्रीमान्?’
ओली २०७४ सालमा प्रधानमन्त्री हुँदा खरेल महान्यायाधिवक्ता थिए। 

‘सुरक्षा कारबाही भएको हो, अपराध होइन’ 

यस्तै अर्का पूर्व महान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमेश बडालले भदौ २३ गते सुरक्षाकर्मीले आपराधिक घटना घटाएको नभई सुरक्षा कारबाही गरेको बताए। तर जेनजी आन्दोलनका नाममा डिस्कर्डबाट संसद् जलाउने, पेट्रोल बम बनाउने, पेट्रोल बम प्रहार गर्ने योजना बनाइएको जिकिर गरे। 

‘आन्दोलनमा प्रहरीलाई पेट्रोल बम हानियो, आन्दोलन शान्तिपूर्ण नहुँदा कफ्र्यु लगाइयो। कफ्र्यु लागिसकेपछि घुँडामुनी नै गोली हान्नुपर्छ भन्ने छैन। तर मैले गोली हान्नु ठिक भयो भनिरहेको होइन। यो दुखद भयो। तर यसो भन्दैमा प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गर्न मिल्दैन’, बडालले प्रश्न गरे, ‘केही दिन पहिले कपिलवस्तुमा गोली लागेको व्यक्तिको ज्यान गएको छ। त्यसो भए निवर्तमान प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललाई पनि पक्राउ गरेर थुनामा राख्ने हो त?’

गोली हान्न आदेश दिने अधिकार प्रमुख जिल्ला अधिकारीलानई मात्रै भएको तर उनैलाई पक्राउ गरेर छाडिसकिएको बडालले सुनाए। ‘बयानमा प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली चलाउन किन रोक्न सक्नु भएन भनेर सोधिएको छ। गोली चलाउन आदेश दिने अधिकार प्रमुख जिल्ला अधिकारीलाई मात्रै छ। तर यो सरकारले प्रमुख जिल्ला अधिकारीलाई भने पक्राउ गरेर छाडिसकेको छ’, बडालले भने, ‘गोली कसले चलाएको हो भन्ने कुरा अनुसन्धानमा छैन। ६ महिना अनुसन्धान गर्दा पनि मुख्य कुरा छैन। जाँचबुझ आयोगमा रहनु पहिले उहाँले (गौरीबहादुर कार्की) ले लेखेको स्टाटसको ब्याख्या मात्रै छ।’

गोली चलाउने को हो भन्ने पनि पत्ता लगाउन नसकेको, आदेश दिने को हो भन्ने पनि पत्ता लगाउन नसकेको तर ओली र लेखकलाई भने राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गरिएको उनले बताए। 

नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष समेत रहेका गोपालकृष्ण घिमिरेले पनि ओली र लेखकलाई आजै थुनामुक्त गर्न माग गरे। ओली बिरामी रहेको, लेखक पनि बरखी बारिरहेकाले थुनामा राख्न नहुने घिमिरेको जिकिर थियो। 

वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले अहिले सरकारले संविधानको पालना नगरी मनलाग्दी गरिरहेको बताए। ‘प्रधानमन्त्री र मन्त्रीको शपथ लिएकै दिन रातारात पक्राउ गर्नु पर्ने के आइलाग्यो’, मैनालीले सोधे, ‘त्यसअघि पनि प्रतिवेदन आइसकेको थियो। सरकार त्यतिबेला पनि थियो। राज्य आतंक चलेका बेला कोर्टले अगाडि आएर बोलिदिनुपर्छ।’

चैत १४ गते पक्राउ परेका ओली र लेखकलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ। ओली त्रिवि शिक्षण अस्पतालमा र लेखक प्रहरीको २ नं गणमा छन्। 

उनीहरूलाई गैरकानुनी थुनामा राखिएको भन्दै ओलीको तर्फबाट उनकी पत्नी राधिका शाक्य र लेखकको तर्फबाट पत्नी यशोदा लेखकले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad