राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी हितविपरीत काम गर्नेहरूसँग सम्झौता नगर्ने बताएका छन्।
राप्रपा सम्पर्क समाज विभागले सोमबार काठमाडौँमा आयोजना गरेको सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले एउटा चुनावको हारजितले पार्टीको भविष्य र विचारको अन्त्य नहुने बताए।
‘हामीले एउटा चुनाव हारेका छौँ तर हामीले लिएको विचार र बाटो हारेको छैन,’ लिङदेनले भने, ‘देशमा ३६ वर्षदेखि मुठ्ठीभर नेताले मुलुकलाई बन्धक बनाएका थिए, जनताले अहिले परिवर्तन खोजेका छन्। त्यो परिवर्तनको नेतृत्व राप्रपाले गर्नेछ।’
उनले अब राप्रपालाई नयाँ ढङ्गले अगाडि बढाउन सङ्गठनभित्र सुधार र कार्यशैलीमा परिवर्तन आवश्यक रहेको औँल्याए। निर्वाचनका बेला पार्टीका उम्मेदवार हराउन सक्रिय हुने र अनुशासनहीन काम गर्नेहरूलाई कुनै पनि हालतमा छुट नदिने उनको भनाइ थियो।
अब कसैसँग सम्झौता नगर्ने उनको भनाइ थियो। ‘पछिल्लो दिनमा कतिपय साथीहरू जसले निर्वाचनको मुखैमा पार्टी हितविपरीत क्रियाकलाप गरेका छन्, आम कार्यकर्ताले महसूस गर्ने गरी पार्टीका उम्मेदवारका विपक्षमा प्रचार गर्ने, पार्टीकै विरूद्धमा प्रचार गर्ने, पार्टीलाई र उम्मेदवारलाई हराउन पर्छ मात्र होइन, राष्ट्रिय पार्टी नै बन्न दिनहुँदैन यो पार्टीलाई खरानी बनाउनुपर्छ भनेर हिँडेका मानिसहरूसँग भने अब सम्झौता गर्न सकिँदैन,’ लिङदेनले भने।
अध्यक्ष लिङदेनको भनाइ राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणा लक्षित थियो। महामन्त्री राणा तत्काल राप्रपा महाधिवेशन गर्नुपर्ने माग गर्दै आइरहेका छन्।
राप्रपाको महाधिवेशन समयमै हुने र कार्यकाल लम्ब्याउने कुनै मनशाय नरहेको लिङदेनको भनाइ थियो। भोलिदेखि नै सातै प्रदेशमा समीक्षा बैठक शुरु हुने र त्यसपछि केन्द्रीय कार्यसमितिले महाधिवेशनबारे आवश्यक निर्णय लिने उनले बताए। ‘महाधिवेशन नै अबको समस्याको समाधान हो, यसमा कोही पनि भ्रममा पर्नु पर्दैन,’ उनले भने।
अध्यक्ष लिङदेनले सम्पूर्ण कार्यकर्तालाई उत्साहित भएर संगठन निर्माण र आगामी महाधिवेशनको तयारीमा जुट्न अपिल गरेका छन्।
Shares

प्रतिक्रिया