सरकारले लकडाउन र सामान्य आर्थिक जीवनलाई सँगसँगै लैजाने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउनकै समयमा पनि कृषि उत्पादन र उद्योगसँग सम्बन्धित क्रियाकलापहरु र ढुवानीको क्रियाकलाप यथावत राख्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना एवं सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए।
निर्माणसँग सम्बन्धित कुराहरु, ठूला आयोजना र साना आयोजना तथा सहरी क्षेत्रमा निर्माण भइराख्ने क्रियाकलापहरु यथावत नै रहने मन्त्री खतिवडाले बताए। यस्तै आफ्नै गाउँमा क्वारेन्टिनमा बस्ने मानिसहरुलाई सुरक्षाका उपायहरु अपनाएर काममा जोडन सकिने विषयमा समेत छलफल भइरहको बताए।
सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउन जेठ २० गते सम्म लम्ब्याएको छ। मन्त्रिपरिषद् बैठकले लकडाउनलाई १५ दिन थप गरी जेठ २० गते मंगलबार मध्यरात सम्म पु¥याउने निर्णय गरेको हो।
सरकारले गत चैत ११ गते यता लकडाउन गर्दै आएको छ। सुरुमा एक साताका लागि गरिएको लकडाउन दोस्रोपटक एक साता थप गरी चैत २५ गते सम्म पुर्याएको थियो। त्यसलाई निरन्तरता दिदै तेस्रोपटक समय थप गरी वैशाख ३ गते सम्म लकडाउन लम्ब्याएको थियो। त्यसपछि पनि १२ दिन लकडाउनको अवधि थप गरी वैशाख १५ गते सम्म र पुनः १० दिन थप गर्दै वैशाख २५ गते सम्म र पछिल्लो पटक जेठ ५ गते सम्मका लागि लकडाउनको अवधि थप गरेको थियो।

प्रतिक्रिया