राजनीति


सुदन किरातीसँग ‘तत्कालै’: हर्क साम्पाङसँग मिलेपछि पूर्वबाट नयाँ लहर आउँछ, कोसीको मुख्यमन्त्री सजिलै जित्छौँ (भिडिओ)


अनिल यादव
बैशाख १३ , काठमाडौँ

पूर्वमन्त्री सुदन किरातीले केही दिनभित्रै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र आफ्नो समूहबीच एकता हुने संकेत गरेका छन्। उनले यसलाई पार्टी प्रवेश नभई ‘शक्ति एकीकरण’ को संज्ञा दिएका छन्। यो एकताले विशेषगरी कोसी प्रदेशको राजनीतिमा ठूलो हलचल ल्याउने र त्यहाँबाट नयाँ राजनीतिक लहर सुरु हुने उनको दाबी छ।

‘हाम्रो विभिन्न चरणमा विभिन्न कोणबाट छलफल भइराखेको छ,’ नेपालखबर ‘तत्कालै’सँग गफिन आइपुगेका उनले भने, ‘देशका नयाँ र अग्रगामी शक्तिहरूसँग हाम्रो छलफल व्यापकै छ। हर्क साम्पाङसँग पनि छलफल भइराखेको छ। हामी मिल्नुपर्छ भन्नेमा जनताको ठूलो दबाब छ। हिजो मात्रै पनि मलाई हर्कजीले भन्दै हुनुहुन्थ्यो– जनताको दबाब महसुस गरिएन भने त राजनीति कता गर्ने?’

किरातीका अनुसार श्रम संस्कृति पार्टीको एपिसेन्टर पूर्व हुने र पूर्वबाटै यसले देशभर शक्ति विस्तार गर्नेछ। 

‘श्रम संस्कृति पार्टी र हाम्रो एकता भयो भने हाम्रो ‘एपिसेन्टर’ नै पूर्व हुन्छ। पूर्वबाटै सूर्य पनि उदाउँछ, अब पूर्वबाटै शक्ति र विचार पनि उदाउँछ भन्ने सन्देश दिने ठाउँमा हामी पुग्छौँ,’ उनले भने। 

सुदन श्रम संस्कृतिमा गएपछि कोसी प्रदेशबाट भावी मुख्यमन्त्रीको उम्मेदवार बन्ने चर्चा समेत चलिरहेको छ। किरातीले जनस्तरबाट त्यस्तो चर्चा सुनिए पनि त्यसबारे कुनै छलफल नभएको बताए। 

तर, उनको दाबी छ, ‘हामी एक भएपछि कोसीमा मुख्यमन्त्री सहजै जित्छौँ, यसमा कुनै द्विविधा छैन। त्यति मात्रै होइन, श्रम संस्कृति पार्टी र हाम्रो समूह मिलेको सूचना सम्प्रेषण भएकै क्षण यो शक्ति तीन डबलले बढ्नेछ। यतिखेर जनताको चाहना नै त्यही हो।’

प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँका सुकुम्बासी बस्ती हटाउन चालेको कदमलाई किरातीले ‘हतारको निर्णय’ भनेका छन्। उनले समस्याको समाधान गर्नुपर्ने भए पनि प्रक्रियागत कमजोरी भएको बताए। 

‘ठूलो उत्साह, जोस र प्रतिबद्धताका साथ आएको सरकारमा काम गर्ने हुटहुटी त स्वाभाविक होला,’ उनले भने, ‘तर त्यो जोसपूर्ण स्थितिमा अलिकति होस भर्दा राम्रो हुन्छ। होस र जोसको सन्तुलन मिलेन भने शक्तिशाली सरकारहरूको ओरालो यात्रा त्यहीँबाट सुरु भएका प्रशस्तै इतिहासहरू छन्। सुकुम्बासी समस्या हल गर्नै पर्थ्यो, तर उहाँहरूले आफ्नो १०० दिने कार्यक्रमभित्रको ९१ औँ बुँदामा लेखिएअनुसार सुरुमा सुकुम्बासी पहिचान गर्ने र व्यवस्थापन गर्ने कुरालाई ध्यान दिनुपर्थ्यो। पहिले ड्याङडुङ हिर्काइदिएर अहिले बल्ल पहिचान गरिँदै छ। यो मानवीय दृष्टिकोणले पनि निकै संवेदनशील दृश्य हो।’

किरातीले पुराना राजनीतिक दलहरू (कांग्रेस, एमाले, माओवादी) प्रति जनताको चरम वितृष्णा रहेको र उनीहरू अब ‘कमब्याक’ हुने अवस्थामा नरहेको दाबी गरे। उनले यी दलहरूको एकतालाई ‘चिता’को संज्ञा समेत दिएका छन्। 

‘मैले पहिल्यैदेखि भन्दै आएको हो, हामी राजनीतिक पार्टी र शक्तिहरू बारुदको पहाडमाथि उभिएका छौँ। कुनै दिन कसैले सलाई कोरेर लगाइदियो भने हामी सबै ध्वस्त हुनेछौँ,’ उनले भने, ‘पुराना पार्टीप्रति जनताको चरम अविश्वास र वितृष्णा छ। एमाले र माओवादीबीचको एकताको कुरा पनि सुनिन्छ, तर यो उहाँहरूको जिन्दगीको अवसानको विन्दु बन्न सक्छ, त्यो चिता बन्न सक्छ। अब पुरानाहरू फर्किने अवस्था छैन, बरु नयाँको विकल्पमा अर्को नयाँ आउन सक्छ तर पुराना दलहरूलाई धेरै गाह्रो छ।’

माओवादी र एकीकृत समाजवादी लगायतका दलहरु मिलेर नेपाल कम्युनिस्ट पार्टी गठन भएपछि जनार्दन शर्मालगायतका नेतासँगै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा गएका किरातीले पार्टी स्थापनाको ५ महिनामै राजीनामा दिएका छन्। प्रलोपाबाट राजीनामा दिनुको कारण खुलाउँदै उनले पुराना संरचनाबाट देश विकास सम्भव नभएको बताए। नयाँ पुस्ता र नयाँ प्रविधिसँग अपडेट हुन नसक्ने नेतृत्व अब काम नलाग्ने उनको तर्क छ। 

‘हिजो माओवादी छाड्दा हामीले अलिक आपत्कालीन ढंगले प्रगतिशील लोकतान्त्रिक पार्टी निर्माण गरेका थियौँ,’ उनले राजीनामा दिनुको कारणबारे प्रस्ट पार्दै भने, ‘तर पछिल्लो मतादेश नै यस्तो आयो कि पुरानो पार्टीको संगठनदेखि सोच्ने शैलीसम्म फेर्नुपर्छ। नेताको नाममा मठाधीशहरू जन्मिएपछि कार्यकर्ता भक्त र नेता भगवान् जस्तो भए। एआईको दुनियाँमा प्रत्येक घण्टा अपडेट र अपग्रेड हुनुपर्ने बेला छ, तर यहाँ त आउटडेटेड हुनेहरूको भिड छ। त्यसैले मैले त्यो संरचना छाडेको हुँ। म अब कुनै पदको बार्गेनिङमा छैन, देशको आवश्यकता अनुसार अघि बढ्नेछु।’

बालेन सरकारले वर्तमान मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको प्रसंगमा पनि उनले तिखो टिप्पणी गरे। उनले नयाँ मन्त्रीहरूको सम्पत्ति विवरण देख्दा अचम्म लागेको बताए। 

‘मन्त्रीहरुको सम्पत्ति विवरण हेर्दा धनी नेताहरूको गरिब नागरिक हामी भन्ने लाग्यो,’ उनले भने, ‘उमेर हेर्दा र उहाँहरूको कमाइ हेर्दा अकल्पनीय जस्तो छ। कतिपयले त सम्पत्तिको स्रोत बिहे देखाउँछन्, बिहेमा कसैले त्यसरी दाइजो पाउँछ र? यद्यपि कसैसँग त्यति सम्पत्ति हुन पायो तर राज्यलाई ट्याक्स तिर्नु पर्‍यो, स्रोत देखाउनु पर्‍यो भन्ने हो।’

बालेन सरकारले एक महिनामै दुई मन्त्री हटाउनुपर्दा सुशासनको नारा दिएर आएको सरकारमा यति धेरै अनैतिक मान्छेहरू थिए भन्ने प्रश्न पनि सँगै जन्मिएको उनी बताउँछन्।

‘मन्त्री हटाउँदा पनि विभेद देखियो। एकजनालाई स्पष्टीकरणसम्म दिन नदिईकन बर्खास्त गरियो, अर्कोलाई राजीनामा गर्ने अवसर दिइयो,’ उनले भने। 

बाँकी के–के भने, हेर्नुहोस् उनीसँग गरिएको कुराकानी नेपालखबर ‘तत्कालै’:

फोटोर/भिडिओ : सरोज नेपाल

बैशाख १३, २०८३ आइतबार २१:४३

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad