राजनीति


सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे (फाइल फोटो)


नेपालखबर
बैशाख १६, २०८३ बुधबार ८:१३, काठमाडौँ

नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ। 

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आज दिउँसो १२ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक राख्न लागिएको जानकारी दिए।

‘सरकारले अध्यादेश ल्याएको विषयमा विपक्षी दलहरूबिच साझा धारणा बनाउन बैठक बोलाएका हौँ’, उनले नेपालखबरसँग भने। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहेक प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका अन्य राजनीतिक दल सरकारमा छैनन्।

विपक्षी खेमामा कांग्रेससहित नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) , श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छन्। 

यसैगरी महावीर पुन पनि स्वतन्त्र सांसदका रूपमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छन्। 

रास्वपाको झन्डै दुईतिहाइ बहुमतको सरकारले संसद् अधिवेशन रोकेर अध्यादेश ल्याएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र सहकारी सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको हो।

संसद् अधिवेशन आह्वानको भोलिपल्टै अधिवेशन स्थगन गरेको सरकारले अध्यादेशको बाटो रोजेको हो। 

प्रमुख विपक्षी नेता आङदेम्बेका अनुसार आज बस्ने विपक्षी दलहरूको बैठकमा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका संसदीय दलका नेतालाई बोलाइएको छ।

बैठकमा संसद् अधिवेशन स्थगन गरेर अध्यादेश ल्याउने सरकारको कदम र प्रतिवाद गर्ने रणनीतिलगायत एजेन्डामा छलफल हुने उनले बताए।

मंगलबार प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ अध्यादेश पुगेपछि मात्रै सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएको सार्वजनिक भएको थियो। लगत्तै प्रमुख विपक्षी दल कांग्रेसको संसदीय दलका नेता आङ्देम्बेले संसद् अधिवेशन स्थगन गरेर अध्यादेश ल्याउने कदमलाई अलोकतान्त्रिक, बलमिच्याइँको राजनीति र सार्वभौम संसद्को अपमान भएको प्रतिक्रिया दिएका थिए। 

उनले लोकतन्त्र, जनअभिमत, सार्वभौम संसद् र संविधानको मर्म मिच्न र उपेक्षा गर्न कुनै हालतमा नदिन प्रतिपक्ष प्रतिबद्ध रहेको चेतावनी दिएका छन्।

दुईतिहाइ नजिकको बहुमत हुँदाहुँदै पनि अध्यादेश ल्याएपछि उनले सरकारलाई सोधेका छन्, आफ्नै पार्टीको बहुमतप्रति किन अविश्वास?

सरकारले दुई अध्यादेश ल्याएपछि एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि कडा शब्दमा विरोध गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad