नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको ‘नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ लाई पार्टीको बौद्धिक केन्द्रका रूपमा अघि बढाउने उद्घोष गरेका छन्।
प्रतिष्ठानको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले नेपाली समाजमा उब्जिएका प्रश्नहरूको पहिचान गरी उचित रणनीति निर्माण गर्न यो संयन्त्र क्रियाशील रहने बताएका हुन्। उपसभापति शर्माले मुलुकको समुन्नति र लोकतान्त्रिक प्रणालीको सबलीकरणका लागि पार्टीभित्र नवीन सम्भावनाहरूको विकास गर्नुपर्नेमा जोड दिए।
७० वर्ष लामो राजनीतिक इतिहास बोकेको पार्टीले वर्तमानका विशिष्ट चुनौतीहरूलाई चिर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ। बैठकमा उपसभापति शर्माले प्रतिष्ठानको उप–प्रमुखका रूपमा पार्टीका केन्द्रिय कार्यसमिति सदस्य मधु आचार्यलाई प्रश्ताव गरे। उनले प्रतिष्ठानलाई व्यवस्थित बनाउन आगामी जेठ ३ गते बस्ने बैठकले कार्यकारी निर्देशक, निर्देशकहरू र सदस्यहरूको रुचिअनुसारको कार्यविभाजन टुङ्गो लगाउने जानकारी दिए।
उपसभापति शर्माले सातै प्रदेशमा आयोजना गरिने विशेष कार्यक्रमको कार्यतालिकासमेत प्रश्तुत गरेका छन्। यसअघिका कार्यक्रमहरू ‘निर्वाचनमा किन पराजय भयो’ भन्ने समीक्षामा केन्द्रित रहेकोमा अबका कार्यक्रमहरू ’आगामी निर्वाचन कसरी जित्ने’ भन्ने रणनीतिमा केन्द्रित हुने उनले स्पष्ट पारे।
स्थानीय तह र प्रदेश सरकारका उपलब्धिहरूको समीक्षा गर्दै आगामी बजेट र नीति कार्यक्रमका सन्दर्भमा सहजीकरण गर्न प्रतिष्ठानले सातै प्रदेशमा प्रशिक्षण तथा अन्तक्रिया सञ्चालन गर्ने भएको छ।
सुदूरपश्चिम प्रदेश (कैलाली) मा वैशाख २६ र २७ गते,कर्णाली प्रदेश (सुर्खेत)मा वैशाख २८ र २९ गते,गण्डकी प्रदेश (कास्की) मा वैशाख ३१ र जेठ १ गते, वागमती प्रदेश (काभ्रेपलाञ्चोक)मा जेठ ४ र ५ गते, मधेस प्रदेश (महोत्तरी)मा जेठ ६ र ७ गते, कोशी प्रदेश (सुनसरी) मा जेठ ८ र ९ गते र लुम्बिनी प्रदेश (रुपन्देही)मा जेठ १४ र १५ गते प्रशिक्षणको समय राखिएको छ।
बैठकमा उपसभापति शर्माले पार्टीको विशेष महाधिवेशनपश्चात विकसित परिस्थिति र नवीन चरणलाई व्यवस्थित ढंगले सम्पादन गर्ने जिम्मेवारी केन्द्रिय कमिटीको काँधमा रहेको बताए। निर्वाचनमा अपेक्षित परिणाम नआए पनि १७ लाख मतदाताले पार्टीलाई दिएको विश्वासलाई कमजोर ठान्न नहुने उनको तर्क छ ।
Shares

प्रतिक्रिया