राजनीति


‘प्रधानमन्त्रीलाई एउटा नजिर: ६ सदस्यीय संवैधानिक परिषद्‌मा बहुमत ३ जनाको हुन सक्दैन’

‘प्रधानमन्त्रीलाई एउटा नजिर: ६ सदस्यीय संवैधानिक परिषद्‌मा बहुमत ३ जनाको हुन सक्दैन’

प्रधानमन्त्री बालेन्द्र शाह र कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा (फाइल फोटो)


नेपालखबर
बैशाख २४, २०८३ बिहिबार ९:५५, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ६ सदस्यीय संवैधानिक परिषद्‌मा बहुमत ३ जनाको हुन नसक्ने बताएका छन्। 

सरकारको सिफारिसमा राष्ट्रपतिले हालै जारी गरेको संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी अध्यादेश, २०८३ मा संवैधानिक परिषद्‌ बैठकमा उपस्थित सदस्यको बहुमतले निर्णय गर्ने बाटो खुलाइएको छ। त्यो भनेको तीन जना एकातिर हुँदा पनि प्रधानमन्त्री शाह जता उभिन्छन्, त्यसमै बहुमत रहेको मानिनेछ। 

तर कांग्रेस उपसभापति शर्माले सर्वोच्च अदालतले गरेको एउटा व्याख्याको नजिर सुनाउँदै प्रधानमन्त्री शाहलाई त्यस्तो गर्न नमिल्ने जिकिर गरेका हुन्। 

शर्माले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘प्रधानमन्त्रीलाई एउटा नजिर! १४ जेठ ०८१ मा सर्वोच्चले ६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमत हुन ३१ सदस्य अनिवार्य हुने व्याख्या गर्‍यो। अर्थात् बहुमत हुन बहुसंख्या नै हुनुपर्छ। अर्थात् ६ सदस्यीय संवैधानिक परिषद्‌मा बहुमत ३ जनाको हुन सक्दैन।’

सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन आजै संवैधानिक परिषद्को बैठक बस्दै छ।

संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को निर्देशनअनुसार परिषद् सचिवालयले बैठक बोलाएको हो।  बैठक आज साँझ ५ बजे बस्ने सचिवालयले जनाएको छ। 

संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ। बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ हो। 

बैठकमा सहभागी हुन सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङदेम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुबी कुमारीलाई बोलाइएको छ। 

प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले गत चैत १८ गते प्रधानन्यायाधीश पदबाट अवकाश भएपछि वरिष्ठतम न्यायाधीशको सपना प्रधान मल्ल यतिबेला सर्वोच्चमा कायम मुकायम (कामु) प्रधानन्यायाधीश छिन्। परिषद् बैठकमा कामु प्रधानन्यायाधीश सदस्यका रूपमा उपस्थित हुन नपाउने संवैधानिक व्यवस्था छ।

गत चैतमा पद रिक्त हुनुअघि नै न्यायपरिषद्ले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका छ जनाको नाम संवैधानिक परिषद्को सचिवालयमा पठाएको थियो।

न्यायपरिषद्ले सर्वोच्च अदालतमा त्यतिबेला वरिष्ठतम न्यायाधीश रहेकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाल, डा.मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ। 

सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठ, न्यायाधीश डा.मनोजकुमार शर्मा र डा. नहकुल सुवेदीले पनि प्रधानन्यायाधीशको आकांक्षा राखेका स्रोतले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad