प्रधानन्यायाधीश चयनको प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक सुरु भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संवैधानिक परिषद्को बैठक सुरु भएको हो। आजको बैठकमा प्रधानन्यायाधीश चयनको प्रक्रियाअघि बढाउने एजेन्डा रहेको छ।
संवैधानिक परिषद्को बैठकमा सहमति जुटेमा आजै प्रधानन्यायाधीशको नाम सिफारिस गरिनेछ। सहमति नजुटेमा अर्को बैठकमा निर्णय हुनेछ।
प्रधानमन्त्रीको नेतृत्वमा रहने संवैधानिक परषद्मा ६ जना हुन्छन्। परिषद्मा प्रधानमन्त्री बालेन्द्र शाह अध्यक्ष हुन्छन् भने प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख प्रतिपक्ष दलका नेता र उपसभामुख रहने व्यवस्था छ। प्रधानन्यायाधीश सिफारिसका लागि बस्ने बैठकमा भने कानुनमन्त्री रहन्छन्।
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङदेम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारी ठाकुर सहभागी छन्।
प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले गत चैत १८ गते प्रधानन्यायाधीश पदबाट अवकाश भएपछि प्रधानन्यायाधीश रिक्त भएको हो।
भावि प्रधानन्यायाधीशका लागि कायममुकाय प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सूचीमा छ।
Shares

प्रतिक्रिया