संघीय संसदको संसदीय सुनुवाइ (संयुक्त) समितिले समितिको कार्यविधि पारित गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले समितिको नयाँ कार्यविधि पारित गरेको समिति सभापति वोधनारायण श्रेष्ठले जानकारी दिएका हुन्।
उनले नयाँ कार्यविधिमा सिफारिस भई आएका उम्मेदवारको सुनुवाई १० दिनभित्रमा गरिसक्ने व्यवस्था गरिएको बताए। त्यस्तै उम्मेदवारविरुद्ध उजुरी दिन पनि १० दिनको समय दिने तथा नियुक्तिपछि पेश गरिएका कार्ययोजनाको कार्यान्वयन अनुगमन गर्ने व्यवस्था गरिएको समेत उनले बताए।
सभापति श्रेष्ठले नियुक्तिपछि उम्मेदवारले पेश गरेका कार्ययोजना कार्यान्वयन भए–नभएको विषयलाई समेत समितिले गम्भीर रूपमा लिने बताए। उनले कार्ययोजनाको कार्यान्वयनको स्वअनुगमन गर्ने, त्यसको ‘रिपोर्ट कार्ड‘ सार्वजनिक गर्न प्रतिबद्धता व्यक्त गराइने गर्ने व्यवस्था संशोधित कार्यविधिमा राखिएको बताए।
उनले भने, ‘हामीले १० सम्म सुनुवाइ गर्ने व्यवस्था गरेका छौँ। सिफारिस भइ आएका उम्मेदवारविरुद्ध उजुरी दिनको लागि समेत १० दिनसम्म दिने कुरा भएको छ। सुनुवाइ भएर गैसकेपछाडि उहाँहरुले पेश गरेको कार्ययोजनाहरु कसरी कार्यान्वयन भइरहेको छ। त्यसलाई कुनै न कुनै निकायले अनुगमन गर्नुपर्छ भन्ने भयो। त्यसको लागि स्वअनुगमन गर्ने र त्यसको रिपोर्टकार्ड सार्वजनिक गर्ने प्रतिवद्धता गराउने व्यवस्था गराउने व्यवस्था गरेका छौँ। र सम्बन्धित मन्त्रालयले समेत अनुगमन गर्नेगरी व्यवस्था गर्छौँ।’
उनले सिफारिस भई जाने उम्मेदवारले प्रस्तुत गरेको उम्मेदवारले कार्ययोजनाअनुसार काम गर्न नसके सम्बन्धित निकायले फिर्ता बोलाउनेगरी कार्यविधि तयार पारिएको समेत बताए।
Shares

प्रतिक्रिया