राजनीति


संसद अधिवेशनको पहिलो दिन नै नीति तथा कार्यक्रम, खुम्चियो सांसदहरूले धारणा राख्ने समय

संसद अधिवेशनको पहिलो दिन नै नीति तथा कार्यक्रम, खुम्चियो सांसदहरूले धारणा राख्ने समय

नेपालखबर
बैशाख २५, २०८३ शुक्रबार २०:२५, काठमाडौँ

संसद अधिवेशन आह्वानको पहिलो दिन नै सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ। 

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी वैशाख २८ गते बस्ने दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेगरी कार्य तालिका बनाएर प्रस्ताव गरेको हो।

बैठकपछि संसद सचिवालयका प्रवक्ता एकराम गिरीले आगामी वैशाख २८ गते राष्ट्रपतिबाट आर्थिक वर्ष २०८३र८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने बताए। सोही दिनको दोस्रो बैठकमा नीति तथा कार्यक्रमप्रति धन्यवादको प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ। नीति तथा कार्यक्रम माथि वैशाख ३० गते छलफल हुने संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने कार्यतालिकामा राखिएको छ।

साथै, वैशाख ३० गते नै नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने तालिकामा उल्लेख छ। कार्यतालिकामा नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्नो धारणा राख्ने समय खुम्च्याएको छ। 

यस्तै, सरकारले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट (राजश्व र व्ययको वार्षिक अनुमान) प्रस्तुत गर्ने प्रवक्ता गिरीले जानकारी दिए। सामान्यतया नीति तथा कार्यक्रम प्रस्तुत गर्नुअघि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि (कर प्रस्ताव बाहेक) छलफल गराउनुपर्ने हो तर सरकारले अधिवेशन बोलाउन ढिलो गरेकोले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिले पनि उल्टो काम देखिने गरी कार्यतालिका बनाएको छ।

कार्यतालिकाअनुसार वैशाख ३१ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि (कर प्रस्ताव बाहेक) छलफल शुरु हुनेछ। यस्तै, प्रतिनिधि सभाको बैठक सञ्चालन नियमावलीको मस्यौदामा वैशाख ३१ गते छलफल गर्ने कार्यतालिका रहेको छ।

यस्तै, आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण जेठ १३ गते प्रतिनिधि सभामा पेश गरिने भएको छ भने कार्यतालिकाअनुसार जेठ १८ र १९ गते बजेटमाथि सामान्य छलफल हुनेछ। जेठ २० गते अर्थमन्त्रीले बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने र विनियोजन विधेयक तथा राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ। 

प्रवक्ता गिरीकाअनुसार असार २ गते विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गरिने र पारित गर्ने लक्ष्य राखिएको छ। यस्तै, असार ३ गते आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ भने असार ८ गते यी विधेयकहरूलाई दफावार छलफल गरी पारित गर्ने योजना रहेको छ। 

प्रतिनिधि सभाले वैशाख २८ गतेदेखि असार ८ गतेसम्म गरिने संसदीय कामलाई समेटेर कार्यतालिका बनाएको छ।  

प्रवक्ता गिरीले प्रतिनिधि सभाको अधिवेशनका साथसाथै २८ गते अपरान्ह ४ बजे राष्ट्रपतिबाट संयुक्त सभालाई हुने सम्बोधन व्यवस्थापनका विषयहरू, प्रतिनिधि सभामा अहिले उपलब्ध कार्यभार र सभाको बैठकलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने सन्दर्भमा कार्य व्यवस्था परामर्श समितिमा छलफल भएको बताए।

समितिले बनाएको कार्यतालिकामा प्रतिनिधि सभाका सदस्यहरूको सुझावहरू समेतका आधारमा परिमार्जन गरेर अन्तिम रुप दिने पनि प्रवक्ता गिरीले जानकारी दिए।

प्रतिनिधि सभाको बैठकको प्रत्यक्ष प्रशारणमा पहिलोपटक साङ्केतिक भाषासमेत समेटेर देखाइने व्यवस्था गर्न लागेको पनि प्रवक्ता गिरीले जानकारी दिए।

प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २५५ बमोजिम सम्भावित कार्यतालिका तय गरेर छलफलको लागि वितरण गरेको प्रवक्ता गिरीले बताए। संसदको कामलाई थप व्यवस्थित, पूर्वअनुमानयोग्य र प्रभावकारी बनाउन यसरी अग्रिम कार्यतालिका सार्वजनिक गरिँदै आएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad