राजनीति


स्थापित विधिको कार्यान्वयनमा तलमाथि हुनु हुँदैन: राष्ट्रपति

स्थापित विधिको कार्यान्वयनमा तलमाथि हुनु हुँदैन: राष्ट्रपति

नेपालखबर
बैशाख २६, २०८३ शनिबार १६:४९, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा र सहारा हुनुपर्ने बताएका छन्। 

कानुन दिवस २०८३ का अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै पौडेलले विधिद्वारा स्थापित पद्धति र परम्पराको पालना तथा कार्यान्वयनमा तलमाथि हुन नहुनेमा जोड दिए। 

‘विधिद्वारा स्थापित पद्धति र परम्पराको पालना तथा कार्यान्वयनमा तलमाथि हुन थाल्यो भने त्यसको प्रतिकुल प्रभावले मानव समाज भयभित हुन थाल्छ भन्ने पनि हामीले बिर्सन हुँदैन,’ राष्ट्रपति पौडेलले भने, ‘त्यसैले सुशासन, अमनचयन, शान्ति, समृद्धि र मर्यादाका लागि विधि र थिति औजार र उपचार दुबै हुन् भनेर सम्झने र बुझ्ने पुनित दिनलाई नै कानून दिवसको रुपमा मनाइन्छ। कानून दिवसको यही मर्मलाई आत्मसात गर्न सकेमात्र आत्मनिर्भर र सम्वृद्ध नेपालको कल्पना गर्न सकिन्छ।’

राष्ट्रपति पौडेलले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवम् कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिवद्ध प्रणालीको व्यवस्था गरेको बताए। 

‘नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकता अनुरुप नयाँ कानूनको निर्माण र प्रचलित कानूनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधिसमेतको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्ने, मुद्धाको शीघ्र व्यवस्थापनमार्फत छिटोछरितो न्याय सम्पादन गर्नुपर्छ,’ उनले भने, ‘विधिको शासन कायम गर्ने तथा न्यायिक मूल्य मान्यतामा क्षयीकरण हुन नदिई न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने सुनिश्चतताका लागि कानून दिवसले सबैमा सकारात्मक सोच, हौसला र प्रेरणा प्रदान गर्न सकोस्।’ 

कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, कायममुकाय प्रधानन्यायाधीश सपना प्रधान मल्ल, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad