राजनीति


जब पूर्वप्रधानमन्त्री कार्कीले भनिन्- मलाई होइन, बालेनकी श्रीमतीलाई ‘आमा’ भन!

जब पूर्वप्रधानमन्त्री कार्कीले भनिन्- मलाई होइन, बालेनकी श्रीमतीलाई ‘आमा’ भन!

नेपालखबर
बैशाख २७, २०८३ आइतबार ८:५०, काठमाडौँ

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई सिफारिस गरेसँगै प्रधानमन्त्री बालेन्द्र शाह र पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सम्बन्धी चिसिँदै गएको छ। पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीले चौथो वरीयताका डा. शर्माको सिफारिस गलत भएको बताउँदै आएकी छन्। 

झन शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमबाट बाहिर निस्किने क्रममा पूर्वप्रधानमन्त्री कार्कीले सञ्चारकर्मीलाई दिएको जवाफले प्रधानमन्त्री शाहसँग दूरी बढ्दै गएको अनुमान गर्न थालिएको छ। जेनजी आन्दोलनपछि शाह र कार्कीबीचको सम्बन्ध निकट देखिएको थियो। 

त्यसयता शाहले कार्कीलाई ‘आमा’ भनेर सम्बोधन गर्दै आएका थिए। अन्य जेनजी अगुवा पनि आमा नै भन्ने गरेका थिए। 

प्रधानमन्त्री शाहको शपथ ग्रहण समारोहमा कार्कीले अँगालो नै हालेकी थिइन्। आमा–छोराको सम्बन्धको चर्चा गर्दै ती तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेका थिए। 

तर, पछिल्लो केही दिनयता कार्कीले आक्रोस पोख्दै आएकी छन्। प्रधानन्यायाधीश सिफारिसमा विधि र परम्परा मिचेको बताउँदै आएकी छन्। 

यही क्रममा शनिबार कार्यक्रमबाट निस्किँदै गर्दा एचटीपी खबरका सञ्चारकर्मीले पूर्वप्रधानमन्त्री कार्कीलाई ‘आमा दर्शन’ भनेर सम्बोधन गरे। 
त्यो सुन्ने वितिक्कै उनले सोधिन्, ‘कोले आमा भनेको?’

सञ्चारकर्मीले जवाफ दिए, ‘मैले।’

पूर्वप्रधानमन्त्री कार्कीले भनिन्, ‘तिमीहरूको आमा नै फेरिसक्यो।’

सञ्चारकर्मीले फेरि थपे, ‘केही फरक फर्दैन, आमा फेरिँदैन।’

कार्कीले जवाफ दिइन्, ‘बालेनको श्रीमतीलार्य आमा भन।’

अकमकिएका सञ्चारकर्मीले भने, ‘हो र?’

त्यसपछि पूर्वप्रधानमन्त्री कार्कीले नै गम्भीर बनेको माहोललाई हलुका बनाइन्। हास्दै भनिन्, ‘आमा होइन? बच्चको आमा होइन?’
यति बेला भने त्यहाँ उपस्थित सञ्चारकर्मी र सर्वसाधारण पनि हासे। सञ्चारकर्मीले थप प्रश्न सोध्ने खोजे पनि पूर्वप्रधानमन्त्री कार्की हाँस्दै निस्किइन्। 

यसलाई लिएर सामाजिक सञ्जालमा भने टिकाटिप्पणी भइरहेका छन्। कतिपयले स्वभाविक प्रतिक्रिया भनेर रमाइलो गरिरहेका छन् भने कपितयले कार्की र प्रधानमन्त्री शाहको सम्बन्ध बिग्रिदै गएको रुपमा टिप्पणी गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad