नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले संसदीय समितिमा सञ्चार माध्यमलाई निषेध गर्ने प्रवृत्ति देखिएको भन्दै तत्काल सच्याउन माग गरेका छन्।
मंगलबार संसद्को सार्वजनिक लेखा समिति बैठकमा बोल्दै पुनले मिडियालाई निषेध गरेर कुनै छलफल हुन नहुने बताए। लोकतन्त्रमा सुशासन, जवाफदेहीता र पारदर्शीता सँगसँगै अगाडि जानुपर्ने उनको भनाइ थियो।
‘लेखा समितिसहित संसद्का अरु समितिमा मिडिया राखेर छलफल हुनुपर्छ’, पुनले भने, ‘संसदीय समितिहरू सञ्चार माध्यमका लागि बन्द गरेर पारदर्शिता र लोकतन्त्रको कुरा गर्न मिल्दैन।’
जनताले तिरेको करबाट राज्यले गर्ने खर्चको पारदर्शिता सुनिश्चित गर्ने भएकाले लेखा समितिको काम अरुभन्दा फरक प्रकृतिको रहेको उनको भनाइ थियो। ‘जनताको करबाट राज्यले गर्ने खर्चको परादर्शिता सुनिश्चित गर्ने समिति भएको हुनाले देश र जनतालाई केन्द्रमा राखेर समितिलाई प्रभावकारी बनाउनुपर्छ,’ पुनले भने।
फरक प्रसंगमा उनले समितिले नयाँ र पुरानाका आधारमा नभई सही र गलतका आधारमा छलफल गर्नुपर्ने बताए। पुराना सबै बेठीक र नयाँ सबै ठीक भन्ने आधारमा जान नहुने उनको भनाइ थियो।
‘राज्य सञ्चालनमा नयाँ र पुराना भन्ने हुँदैन। सही र गलत भन्ने हुन्छ’, पुनले भने, ‘सही र गलतका आधारमा मापदण्ड बन्नुपर्छ। पुराना त्यसै बेठीक र नयाँ सबै ठीक भन्ने हुँदैन।’
Shares

प्रतिक्रिया