नेपालले भारतीय विदेशमन्त्री एस.जयशंकरलाई नेपाल भ्रमणको निम्ता पठाएको छ। भारतीय परराष्ट्र मन्त्रालयका अनुसार गत चैत २७ गते मोरिसस भ्रमणमा रहँदा परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय समकक्षीलाई नेपाल भ्रमणको निम्ता दिएका हुन्।
भारतको विदेश मन्त्रालयको प्रेस ब्रिफिङमा मंगलबार प्रवक्ता रणधीर जैशवालले निम्ताको पुष्टि गरेका हुन्। दुई देशबीच कुटनीतिक च्यानलमार्फत् आपसी सहजतामा भ्रमणको मिति तय गरिने उनले जानकारी दिए। मोरिससको वार्तामा द्विपक्षीय हित, आर्थिक सहकार्य र कनेक्टिभिटीका विषयमा छलफल भएको थियो।
नवौँ हिन्द महासागर सम्मेलन (आईओसी) मा सहभागी हुन मोरिसस पुगेका बेला दुवै खनाल र जयशंकरबीच साइडलाइन वार्ता भएको थियो। 
‘नेपाल सम्बन्ध बहुआयामिक किसिमको छ। नेपालमा निर्वाचन भयो, नयाँ सरकार बन्यो। हाम्रा प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीसँग कुराकानी गर्नुभयो’, मंगलबारको प्रेस ब्रिफिङमा पत्रकारको प्रश्नको जवाफ दिँदै जैसवालले भने, ‘हाम्रा प्रधानमन्त्रीले भन्नुभयो कि नेपाल–भारतबीच पुरानो, पारिवारिक र जीवन्त सम्बन्ध छ, यसलाई अझ बजबुत बनाउन हामी प्रतिबद्ध छौँ।’
अघिल्लो साता भारतीय विदेश सचिव विक्रम मिश्रले नेपाल भ्रमण गर्ने निर्धारित तालिका थियो। अन्तिम समयमा भ्रमण रद्द भएको थियो। भारतीय पत्रकारहरुले यो विषयमा चासो राख्दै प्रश्न गर्दा प्रवक्ताले यो खुलासा गरेका हुन्।
Shares

प्रतिक्रिया