नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले समूहगत भागबण्डाको कुरा छोड्नुपर्ने बताएका छन्।
बिहीबार पोखरामा आयोजित कांग्रेसको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले एकजुट भएर अघि बढ्नुपर्ने बताए। त्यसका लागि कांग्रेस नेतृत्वले काम सुरु गरिसकेको उनको भनाइ थियो। ‘विशेष महाधिवेशनको विरुद्धमा रहेका साथीहरूको पनि पार्टी हो नेपाली कांग्रेस,’ शर्माले भने।
पछिल्लो तीन वटा निर्णयलाई उदाहरणका रुपमा प्रस्तुत गर्दै उनले अब विशेष र बाहेक भन्ने नभएको जिकिर गरे। ‘पछिल्लो तीन निर्णय हेर्नुस्, विशेष महाधिवेशनको विपक्षमा रहेका साथीहरूलाई नै सम्मानपुर्वक जिम्मेवारी दिइएको छ,’ उनले उदाहरण दिए, ‘महिला संघ सभापति मिना खरेल, संसदीय दलको नेता भीष्मराज आङदेम्बे र केन्द्रीय समितिमा १९ जनाको मनोनयन।’
उनीहरू कोही पनि विशेष महाधिवेशनमा सहभागी नभएको उनले स्मरण गराए। ‘अब सबैलाई समेट्ने क्रम शुरु भएको छ,’ शर्माले भने।
कसैलाई जिम्मेवारी दिँदा कसैलाई सोध्नुपर्ने वाध्यता नरहेको बताए। यसअघि आफूहरूलाई कारबाही गर्दा स्पष्टीकरण समेत नसोधिएको प्रसंग निकाले।
‘दुई महामन्त्रीलाई कारबाही गर्दा स्पष्टीकरण पनि सोध्नुनपर्ने, अनि कसैलाई उपयुक्त जिम्मेवारी दिनुपर्दा उनैलाई नसोधेर अरु कसैलाई शोध्नुपर्ने?,’ शर्माले भने, ‘अब को ६० को ४० को कुरा छोड्नुस्, अब सबै एक भएर १०० हुनुपर्छ।’
Shares

प्रतिक्रिया