लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले सरकारको सुशासनको परिभाषा र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन्।
संघीय संसद्को बैठकमा बोल्दै अध्यक्ष ठाकुरले सरकारले जनआन्दोलनको मर्म विपरीत कार्य गरिरहेको आरोप लगाएका हुन्। अध्यक्ष ठाकुरले सुकुम्बासीहरूका विरुद्ध डोजर चलाउने कार्यलाई सरकारले ‘सुशासन’ को संज्ञा दिएको भन्दै आपत्ति जनाए।
भ्रष्टाचारका सम्बन्धमा टिप्पणी गर्दै ठाकुरले सरकारी कोषको दुरुपयोग हुनु भ्रष्टाचार भएपनि सेवाग्राहीले खुसी भएर दिने ‘उपहार’ लाई सोही दृष्टिले हेर्न नहुने तर्क गरे। सम्पत्ति शुद्धीकरणका नाममा सरकारले त्रसित बनाउने काम गरेको भन्दै उनले प्रधानमन्त्रीको कार्यशैली र व्यवहारमाथि समेत व्यङ्ग्यात्मक टिप्पणी गरे।
अध्यक्ष ठाकुरले निजी क्षेत्र र विशेषगरी मारवाडी समुदायमाथि राज्यले गरिरहेको व्यवहारप्रति कडा असन्तुष्टि व्यक्त गरे। मारवाडी समाजले शिक्षा, स्वास्थ्य र उद्यमशीलतामा ठूलो योगदान पुर्याएको चर्चा गर्दै उनले व्यवसायीहरूलाई त्रसित बनाएर लगानीको वातावरण बन्न नसक्ने बताए।
उनले भने, ‘जनआन्दोलनका मुख्य विषय कुशासन र भ्रष्टाचारको अन्त्य थियो, तर अहिले सुकुम्बासीहरूमाथि डोजर चलाइएको छ। के यसैलाई सुशासन भन्ने हो? एकातिर अर्थमन्त्री स्वदेशी र विदेशी पुँजी आह्वान गरिरहनुभएको छ, अर्कोतिर स्वदेशी व्यवसायीहरू त्रसित भएर देश छोड्दै छन्। स्वदेशी पुँजी पलायन हुने र व्यवसायी जेल जाने अवस्था रहेसम्म मुलुकमा लगानी र विकास सम्भव छैन।’
मुलुकमा ‘न्यायिक आतंक’ व्याप्त रहेको दाबी गर्दै उनले वर्तमान संविधानका कतिपय मस्यौदामा सुधारको आवश्यकता रहेको औँल्याए।
आफ्ना साथीहरू लामो समयदेखि संविधानको सुधारका लागि प्रयासरत रहेको स्मरण गराउँदै उनले राज्यको पछिल्लो चरित्रले लोकतन्त्र र कानुनी शासनमाथि चुनौती थपेको उल्लेख गरे।
Shares

प्रतिक्रिया