सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसद्मा छलफल चलिरहेको छ। यहि क्रममा बिहीबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा धनकुटाबाट निर्वाचित सांसद राजेन्द्रकुमार राई पनि सहभागी भए।
सभामुख डोलप्रसाद अर्यालले सुरुवातमै पाँच मिनेटको समय दिइएको जानकारी गराएका थिए। रोस्टममा पुगेपछि सांसद राईले नीति तथा कार्यक्रममाथि टिप्पणी गरे। नीति तथा कार्यक्रमले जनताको चाहना सम्बोधन गर्न नसकेको उनको भनाइ थियो।
पाँच मिनेट पुग्नै लाग्दा सभामुख अर्यालले समय सकिन लागेको जानकारी दिए। त्यसपछि सांसद राईले समय थप्नु पर्ने माग गरे।
‘सभामुख महोदय मलाई अलि टाइम दिन निवेदन गर्छु,’ नेकपा (एमाले)का सांसद राईले भने, ‘तपाई हामी हिजो सँगै मन्त्री पनि थियौँ। तपाईले भन्नु भएको थियो– माननीय राजेन्द्र राईजी म तपाईलाई सहयोग गर्छु। खै त आज सहयोग?’
सांसद राईले यति बोल्दा सांसदहरू गलल्ल हाँसे। उनले त्यसको प्रवाह गरेनन्। सभामुख अर्याल पनि मुसुमुसु हाँस्दै सुनिरहे।
‘तपाई यो (माइकको लाइन) काट्न पाउनुहुन्न सभामुखज्यू। म यहाँबाट जान्न लौ,’ सांसद राईले थपे, ‘स्वर्णिम वाग्ले नआउँदासम्म यहाँबाट छोड्नि लौ।’
आफ्नो क्षेत्रका योजना बजेटमा पार्नका लागि अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सुनाउनु आवश्यक रहेको उनको आशय थियो। अर्थमन्त्री वाग्ले भने त्यतिवेला राष्ट्रिय सभाको बैठकमा थिए।
सांसद राईले फेरि थपे, ‘तपाई (माइकको लाइन) काट्ने? तपाई हेप्ने? तपाई कसरी हेप्नुहुन्छ, लौ हेप्नुस् त? म यहाँबाट जान्न।’
त्यतिबेला उनको माइकको लाइन भने काटिएको थिएन। सभामुख अर्यालले ‘बोल्नुस्’ भने। त्यसपछि भने सांसद राई मुसुक्क हाँस्दै बोले, ‘मलाई अलि भयो!’
थप समयमा बोल्न पाएपछि सांसद राईले गाँजाखेतीबारे आफ्नो धारणा राखे। सरकारले गाँजा खेती गर्न दिनुपर्ने उनको भनाइ थियो। उनले गाँजाका फाइदाबारे बोले।
उनको मन्तव्य लम्बिँदै गएपछि सभामुख अर्यालले समय सकिन लागेको जानकारी दिए। राईले भने, ‘पाँच मिनेट दिनुस्, फेरि!’
सभामुख अर्यालले भने समय थप्न नसकिने बताउँदै भने, ‘एक मिनेटमा सक्नुस्!’
त्यसपछि उनले अर्थमन्त्री वाग्लेको माग गरिरहे। ‘खै त, उपप्रधानमन्त्री (अर्थमन्त्री) चाहियो त, कसरी यो स्टेज छोडौँ मैले। जनताले त्यत्रो मत मलाई दिएको छ।’
सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधि सभामा उपस्थित नभएकोमा असन्तुष्टि पोखे। ‘प्रधानमन्त्रीलाई डाक्नु सक्नु भएन, यसमा तपाई कमजोर हो। तपाईहरूले जुनजुन बहना बनाए पनि तपाईहरूलाई प्रधानमन्त्रीले टेरेन,’ उनले भने।
फेरि पनि उनले समय थप्न माग गरे। यतिबेला भने हाँस्दै भने, ‘यति भनिराख्दा खेरी पाँच मिनेट समय दिनुस् त सभामुख महोदय के हुन्छ, केही हुँदैन।’
अब समय थप्न नसकिने बताउँदै सभामुख अर्यालले भने, ‘मैले यहाँले भनेपछि पनि ६ मिनेट समय दिएको छु, यहाँको समय सकियो माननीय महोदय।’
सभामुखले यति बोल्दा सांसदहरूले ताली बजाए। यस पटक भने राईले सांसदतिर हेर्दै भने, ‘नयाँ माननीयहरूले ताली बजाउन जरुरी छैन। पछि थाहा पाउनुहुन्छ यो रोस्टमका अर्को चोटी।’
यस पटक भने सांसद राईले नम्र भएरै मन्तव्य टुंगाउने बताए। उनले भने, ‘ल सभामुख महोदय मैले तपाईको कुरा माने, तर यसमा मेरो थुप्रै रिजर्भेसन छ। धन्यवाद छ।’
Shares

प्रतिक्रिया