राजनीति


१० लाख मत गुमाएको कांग्रेसमा सदस्यता बढ्दो, ३ लाख नयाँ सदस्य थपिए

१० लाख मत गुमाएको कांग्रेसमा सदस्यता बढ्दो, ३ लाख नयाँ सदस्य थपिए

नेपालखबर
जेठ ३, २०८३ आइतबार २२:४२, काठमाडौँ

गत प्रतिनिधिसभा निर्वाचनमा १० लाख मतदाता गुमाएको नेपाली कांग्रेसमा क्रियाशील सदस्यता १० लाख नाघ्ने भएको छ। २०७९ को निर्वाचनमा २७ लाख १५ हजार २२५ मत पाएको कांग्रेस गत फागुनमा सम्पन्न निर्वाचनमा १७ लाख ५९ हजार १७२ मतमा सीमित भए पनि क्रियाशील सदस्यता बढ्दो छ। 

कांग्रेसमा अहिलेसम्म ३ लाख नयाँ सदस्य थपिएको कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीले बताए। चौधरीका अनुसार त्यसमा पनि २१ जिल्लाबाट नयाँ क्रियाशील सदस्यको फाइल आउन बाँकी छ।

‘हामीले सबै जिल्लामा नयाँ सदस्यता वितरण गरिरहेका छौँ,’ कांग्रेस क्रियाशील व्यवस्थापन समितिका सदस्य समेत रहेका उनले भने, ‘५६ जिल्लाबाट नयाँ सदस्यको फाइल आएको छ। २१ जिल्लाबाट आउन बाँकी छ।’

५ लाख ५३ हजार ९ सय क्रियाशील सदस्यता नवीकरण भएको उनले नेपालखबरलाई बताए। उनका अनुसार ९६ हजार सदस्यता नवीकरणको प्रक्रियामा आए पनि प्राविधिक समस्याका कारण इन्ट्री गर्न बाँकी छ। बारा, खोटाङ, कैलालीबाट सदस्यता नवीकरणको फाइल नै आएको छैन। उक्त जिल्लाबाट करिब २० हजार सदस्यता थपिने कांग्रेसको अपेक्षा छ।

विदेशस्थित जनसम्पर्क समितिको १९ हजार सदस्यता नवीकरणका लागि आउन बाँकी रहेको उनले बताए। गत महाधिवेशनमा साढे ८ लाख रहेको कांग्रेसको क्रियाशील सदस्यता यसपटक १० लाख नाघ्ने चौधरीको दाबी छ।

 ‘नयाँ क्रियाशील सदस्यता लिने र नवीकरण गर्नेहरूको तथ्यांक हेर्दा कांग्रेसप्रतिका आकर्षण कम भएको र मोहभंग भएको देखिँदैन,’ उनी भन्छन्।

अद्यावधिकमा अवरोध
चौधरीका अनुसार पार्टीभित्रको आन्तरिक मतभेदले क्रियाशील सदस्यता अद्यावधिकले भने गति लिन सकेको छैन। कांग्रेसको संस्थापन पक्षले ‘जरा अभियान’का नाममा सदस्यता अद्यावधिक अभियान चलाए पनि इतर पक्ष प्रतिवादमा छ। इतर पक्षले आफूनिकट नेता–कार्यकर्तालाई सदस्यता अद्यावधिक बहिष्कार गर्न आह्वान गरेको छ।

यसका साथै पार्टी पंक्ति प्रविधि–मैत्री हुन नसकेकाले पनि अद्यावधिक अभियानमा अवरोध खडा भएको उनको भनाइ छ। अद्यावधिकको काममा कांग्रेस वडा सभापतिको नम्बर संकलनमै अल्झिएको छ। सभापति गगन थापाले सदस्यता अद्यावधिकमा विशेष जोड दिए पनि इतर पक्षको बहिष्कार र पार्टी पंक्तिमा प्राविधिक ज्ञानको अभावले कामले गति लिन सकेको छैन।

६ हजार ७ सय ५३ वडामै पार्टी संगठन भएको कांग्रेसले ६ हजार ६ वडा सभापतिसँग सम्पर्क स्थापित गरेको छ। इन्जिनियर दिपेश विष्टको कमान्डमा सानेपामा बसेर १५–२० जना इन्जिनियरले कांग्रेसलाई डिजिटल बनाउने काम गरिरहेको चौधरीले बताए। सदस्यता अद्यावधिकका लागि पार्टीका वडा सभापतिलाई आईटी टिमले गाइड गरिरहेको छ।

‘सिंगो पार्टी पंक्तिलाई सदस्यता अद्यावधिक आवश्यक हो भनेर बुझाउन सकिएको छैन। पार्टीका सबै नेताहरूको एउटै धारणा आयो भने अद्यावधिकमा पनि समस्या रहँदैन,’ उनले भने। 

चौधरीका अनुसार कांग्रेसले अद्यावधिकको समय पनि यही जेठ २१ गतेसम्मका लागि थपेको छ।

‘सबैको साथ हुँदा सम्भव हुन्छ। यो सभापति गगन थापा वा क्रियाशील व्यवस्थापन समितिको मात्र होइन,’ उनले भने, ‘नेपाली कांग्रेसलाई प्रविधि–मैत्री बनाउन लागिएको हो। डिजिटल गभर्नमेन्टको काम भइरहेका बेला हामीले डिजिटल कांग्रेस नबनाउने भन्ने हुँदैन।’

सबैलाई प्राविधिक कुरामा अभ्यस्त बनाए १० दिनमा सदस्यता अद्यावधिकको काम सकिने उनको भनाइ छ। यसका लागि सातै प्रदेशमा कांग्रेसको आईटी टिमले तालिम दिइरहेको छ। तालिममा सबै निर्वाचन क्षेत्रबाट एक–एक जना प्रतिनिधिलाई प्रदेशमा बोलाएर प्राविधिक सीप सिकाइरहेको चौधरीले बताए। 

कोसी, लुम्बिनी, बागमतीमा आईटी टिमले तालिम दिइसकेको छ भने मधेस, गण्डकी, सुदूरपश्चिम र कर्णालीमा पनि १० गतेसम्म तालिम दिने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad