प्रस्तावित प्रधान्यायाधीश मनोज शर्माविरुद्धका रिट/निवेदन कामु प्रधानन्यायाधीशको आदेशपछि पनि प्रशासनले दर्ता गर्न आनाकानी गरेको छ।
कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले प्रधानन्यायाधीश सिफारिसविरुद्धका रिट १ बजेभित्रमा दर्ता गरेर आफूलाई जानकारी दिन मुख्य रजिस्ट्रार विमल पौडेललाई आदेश दिएकी थिइन्।
तर बिहान अदालतमा हाजिर भएका पौडेल र रजिस्ट्रार मानबहादुर कार्की अहिले सर्वोच्च अदालतमा नहुँदा दर्ता प्रक्रिया नै रोकिएको निवेदक कानुन व्यवसायीले जानकारी दिएका छन्।
रिट दर्ताका लागि मुख्य रजिस्ट्रारको तोक चाहिने दर्ता शाखाका कर्मचारीले बताएका छन्।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेका निवेदन सर्वोच्च प्रशासनले सुरुमा दरपिठ गरेको थियो। दरपिठविरुद्ध दिएका निवेदन होल्ड गरेर राखिएपछि सोमबार १ बजेभित्रमा दर्ता गरी त्यसको जानकारी आफूलाई दिन कामु प्रधान्यायाधीश मल्लले सर्वोच्चका मुख्य रजिष्ट्रारका नाममा आदेश दिएकी हुन्।
त्रिपाठी लगायतका निवेदकले सर्वोच्चको प्रधानन्यायाधीश सिफारिस बदर गर्न माग गर्दै रिट दायर गरेका थिए। तर प्रस्तावित प्रधानन्यायाधीशकै दबाबमा ती निवेदन न्यायीक प्रक्रियामा अगाडि नबढाएको भन्दै नेपाल बार एसोसियसन लगायतले पनि आपत्ति जनाएका थिए।
संवैधानिक इजलासमा प्रस्तुत गर्नुपर्ने रिट तथा अन्य रिट निवेदनहरूसमेत सर्वोच्च अदालतबाट दर्ता समेत नगरी न्यायको बाटो अवरोध गरिएको गुनासो एवं उजुरी परेपछि कामु प्रधानन्यायाधीश मल्लले प्रशासनलाई समय नै तोकेर दर्ता गर्न र मंगलबारका लागि पेशी तोक्न आदेश दिएकी थिइन्।
कानुन व्यवसायीले रिट दर्ता नभएको विषयमा कामु प्रधानन्यायाधीशको ध्यानाकर्षण गराएका थिए। नेपाल बार एसोसिएसनले पनि सर्वोच्च अदालतले निवेदनसहितको फाइल दर्ता वा दरपीठ नगरी मौन साँधी आएको भन्दै वैशाख ३० गते ध्यानाकर्षण गराएको थियो।
सोमबार बिहान कामु प्रधानन्यायाधीश मल्लले रिट दर्ता नभएको विषयमा मुख्य रजिस्ट्रार पौडेललाई सोधेकी थिइन्।
पौडेलले प्रस्तावित प्रधानन्यायाधीशको निर्देशनका कारण दर्ता नगरिएको जवाफ दिएका थिए। कामु प्रधानन्यायाधीश मल्लले आफ्नो आदेशमा उक्त विषय समेत खुलासा गरेकी थिइन्।
कामु प्रधानन्यायाधीशको आदेशप्रति रास्वपा सांसदको आपत्ति
प्रस्तावित प्रधानन्यायाधीश शर्माद्वारा आफूविरुद्धका रिट दर्ता नगर्न मुख्य रजिस्ट्रारलाई निर्देशन
Shares

प्रतिक्रिया