नेपाली कांग्रेस नेता मोहनबहादुर बस्नेतले राष्ट्रिय भेला घोषणा गरेर नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्ने बताएका छन्।
बीपी स्मृति दिवसको अवसरमा बुधबार नेपाली कांग्रेसको संस्थापन इतर समूहले काठमाडौँमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
नेता बस्नेतले पार्टी एकता गर्नको लागि निकै ढिला भइसकेको भन्दै पार्टी निर्माणको प्रक्रिया थाल्नुपर्ने बताए।
उनले नेपाली कांग्रेस कमजोर भएको अवस्थामा प्रजातन्त्र समाप्त हुनुका साथै मुलुक दुर्घटनामा जाने खतरा रहेको भन्दै त्यसतर्फ समयमै सचेत हुनुपर्ने बताए।
नेता बस्नेतले सभापति गगन थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेता–कार्यकर्ताहरू कसैको व्यक्तिगत स्वार्थको पछि लाग्न नहुने बताए।
‘गगन थापासँग नेताहरू सती जाने होइन, बलियो पार्टी बनाउने हो,’ उनले भने, ‘गगन थापाहरू भदौ २ गतेदेखि वडा अधिवेशनमा लाग्ने भनिएको छ, हामीले राष्ट्रिय भेला घोषणा गरेर वडा तहसम्मै समानान्तर काम गरी नयाँ र बलियो पार्टी बनाउनुपर्छ।’ उनले यो कदम पार्टी फुटाउनका लागि नभई कांग्रेसलाई नयाँ स्वरूपमा सुदृढ गर्नका लागि भएको दाबी गरे।
प्रजातान्त्रिक शासन व्यवस्थाको रक्षाका लागि कांग्रेस आफैँ सबल हुनुपर्ने उल्लेख गर्दै उनले वर्तमान भूराजनीतिक परिस्थितिका चुनौतीहरूलाई पनि ध्यान दिनुपर्ने औँल्याए ।
सुरक्षा र वैदेशिक चुनौतीतर्फ सङ्केत गर्दै उनले भने, ‘कति बेला कसको मिसाइल नेपालमा आउने हो ठेगान छैन, यस्तो अवस्थामा हामी बलियो हुनु आवश्यक छ।’
राजनीतिक चुनौतीहरू सामना गर्न दृढ सङ्कल्प चाहिने उल्लेख गर्दै बस्नेतले भने, ‘जंघार तर्नका लागि खुट्टा लुला बनाएर हुन्न, दरिला बनाउनुपर्छ।’
Shares

प्रतिक्रिया