सोमबार बिहान नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह आफ्नो निवास चाक्सीबारीमा कार्यकर्तासँग गफ गरिरहेका थिए। कांग्रेस स्थापनदेखिकै एउटा शक्तिकेन्द्रका रूपमा स्थापित चाक्सीबारीमा अचेल दिनहुँ बहसको केन्द्रमा हुन्छ– नयाँ पार्टी निर्माणको विषय।
सोमबार पनि काठमाडौँका नेता राजुराज जोशी, अछामका देवराज देवकोटा, सिरहाका रामदयाल यादव लगायतले सिंहलाई नयाँ कदम चाल्न ढिला नगर्न सुझाव दिइरहेका थिए।
जवाफमा सिंहले पार्टीमा एकता र नयाँ विकल्पबारे घनिभूत छलफल भइरहेका सुनाए। जेठभित्रै एउटा निष्कर्षमा पुग्ने सिंहको भनाइ थियो। देवकोटाले सिंहको अमूर्त कुरामा चित्त बुझाएनन्। तत्काल नयाँ पार्टी खोलेर सिंहलाई नेतृत्व लिएको हेर्न चाहेको आशय प्रकट गरे।
‘एउटा कार्यालय खोल्नुपर्यो। कोठाबाहिर नेमप्लेट राख्नुपर्यो। प्रकाशमान सिंह बाहिर, भित्र, व्यस्त, लेखेको नेमप्लेट चाँडो राख्नुपर्यो दाइ। विमलेन्द्र दाइको पनि यस्तै हुनुपर्यो,’ देवकोटाले भने, ‘नयाँ पार्टी बनाउनुको विकल्प छैन। दाइ ढिलो गर्नुभएन।’
कार्यकर्ताको कुरा ध्यानपूर्वक सुनिरहेका सिंहबाट जवाफ आउँथ्यो– छलफलमै छौँ।
सिरहाका रामदयाल यादवले शेखर कोइरालालाई सभापति गगन थापासँग संवाद गरेर क्रियाशील सदस्यता अद्यावधिक रोक्न लगाउनुपर्ने सुनाए।
‘दाइहरू छलफमै छु भन्नुहुन्छ। जिल्लामा साथीहरूमाथि अद्यावधिक गर्न र गराउन दबाब छ,’ यादव भन्छन्, ‘यो रोक्न लगाउनुपर्यो। पार्टीमा एकता गरेर जाँदा या नयाँ पार्टी बनाउँदा कार्यकर्ता त जोगाउनुपर्यो नि दाइ।’
‘चाँडो निर्णयमा पुग्नुपर्यो। हामीले निर्णय लिन ढिलो गर्दा साथीहरू तितरबितर हुन थालिसके,’ उनी भन्छन्। प्रदेशस्तरीय भेला भइरहेको भन्दै जेठभित्रै काठमाडौँमा हुने केन्द्रीय भेलाबाट निर्णय हुने सिंहको जवाफ थियो।
‘पहिलो प्रयास पार्टीभित्रै एकता कायम राख्ने हो। भएन भने नयाँ विकल्पमा जानुपर्छ,’ उनीहरूलाई ढाडस दिँदै सिंहले भने, ‘नआत्तिनुहोस्। सबै काम सोची विचारी गरिरहेका छौँ।’
त्यसपछि उनीहरू चाक्सीबारीबाट हिडे। सिंहलाई कार्यकर्ताको फोन पनि आइरहेको थियो। करिब दुई घण्टा चाक्सीबारीमा बिताउँदा सिंहलाई फोन गर्ने कार्यकर्ताले चाँडो नयाँ पार्टी खोल्न आग्रह गरिरहेको सुनिन्थ्यो। फोनमा पनि सिंहले जवाफ दिन्थे– छलफल गरिरहेका छौँ।
सोमबार मध्यान्ह १२ बजेतिर पूर्वगृहमन्त्री रमेश लेखक चाक्सीबारी आइपुगे। करिब आधा घण्टा सिंह र लेखकबीच कुराकानी भयो। चाक्सीबारीबाट बाहिरिँदा लेखकले पार्टीमा एकता कायम गर्ने र प्रदेशस्तरीय भेलाका विषयमा कुराकानी भएको सुनाए।
नेताहरूका अनुसार कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले नयाँ पार्टी बनाएर जान संकेत गरेको नेताहरू बताउँछन्। उनकै ‘ग्रिन सिग्नल’ पाएपछि संस्थापन इतर खेमामा नयाँ पार्टी गठनको चर्चा सुरु भएको हो।
हङकङमा रहेका देउवासँग संस्थापन इतर पक्षका नेताहरूले नियमित कुराकानी गरिरहेका छन्। कार्यकर्ताले देउवाको अवस्थाबारे सिंहसँग जिज्ञासा राखेका थिए।
‘उहाँसँग विभिन्न माध्यमबाट कुरा भइरहेको छ,’ सिंह भने, ‘छलफल गरिराखेका छौँ। चाँडै नेपाल आउनुहुन्छ।’
सम्पत्ति शुद्धीकरणको आरोपमा देउवा दम्पतीमाथि पक्राउ पुर्जी जारी भएको छ। नेपाल आएर आफूविरुद्धको मुद्दामा कानुनी लडाइँ लड्न र राजनीतिक अभिभाकत्व लिइदिन इतर पक्षका नेताहरूको आग्रह छ। देउवा तत्काल नेपाल आउने–नआउने टुंगो नभए पनि नयाँ ढंगले अगाडि बढ्न भने संकेत गरेको नेताहरू बताउँछन्।
प्रदेश स्तरीय भेला सकेर देउवा पक्ष राष्ट्रिय भेलामार्फत १५ औँ महाधिवेशन गर्ने तयारीमा छ।
‘साता–पन्ध्र दिनमा पार्टीमा एकताको वातावरण नबने ‘कांग्रेसको १५ औँ महाधिवेशन’का नाममा नयाँ नेतृत्व चयन हुन्छ,’ एक नेताले भने।
उक्त कार्यसमितिको सूची लिएर निर्वाचन आयोग जाने देउवा पक्षको योजना छ।
‘निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस निर्वाचन आयोगमा दर्ता रहेको जवाफ देला। त्यसपछि नयाँ नाम दिन्छौँ,’ ती नेताले भने।
देउवा समूहमा ‘राष्ट्रिय कांग्रेस’ नाम राखेर जान सकिने विषयमा छलफल भइरहेको नेताहरू बताउँछन्। चुनाव चिन्हमा ‘शंख’ छलफलमा छ। तर, निर्वाचन आयोगमा बालकृष्ण न्यौपाने नेतृत्वको नेपालका लागि नेपाली पार्टीको चिन्ह पनि गोलाकारसहितको ‘शंख’ छ।
सो समूहका शीर्ष नेतामाथि कार्यकर्ताले पार्टी खोल्न दबाब दिन थालेका छन्।
नयाँ पार्टी खोल्दाका जोखिम
कांग्रेस संस्थापन इतर पक्षमा नेतृत्व निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पूर्व उपसभापतिद्वय प्रकाशमान सिंह, विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले गरिरहेका छन्। समूहगत रूपमा छुट्टै गतिविधि गरिरहेका डा शेखर कोइराला पनि एजेन्डाका हिसाबले देउवा समूहसँग नजिक छन्।
‘अहिले १४ औँ महाधिवेशनकै म्यान्डेट अनुसार अभ्यास गरिरहेका छौँ। बैठकको अध्यक्षता पूर्ण दाइले गरिराख्नु भएको छ,’ देउवा पक्षीय एक नेताले भने, ‘भावी नेतृत्वको विषयमा टुंगिएको छैन। अहिले नेतृत्वको विषय टुंग्याएर जाँदा नेताहरूबीच मतभेद देखिन सक्ने खतरा हुन्छ।’
आफ्नो समूहको नेतृत्व नटुंग्याउँदा कोइरालासँग संवाद गर्न सजिलो भएको देउवा पक्षको बुझाइ छ। ‘हामीले हाम्रो नेतृत्व टुंग्याएपछि शेखर दाइसँगको संवादको औचित्य सकिन्छ। उहाँलाई पनि सँगै लैजान नेतृत्वको विषय टुंग्याइएको छैन। अब हुने बेलाले नेतृत्वको टुंगो लगाउँछ,’ ती नेताले भने।
ती नेताका अनुसार देउवा समूहलाई नयाँ पार्टी बनाउन ‘टावरिङ पर्सनालिटी’को अभाव देखिएको छ।
‘नयाँ पार्टी बनाउन समस्या छैन। तर, अन्तर्राष्ट्रिय जगतमा सम्बन्ध सन्तुलन मिलाउन सक्ने नेतृत्व देखिएको छैन,’ उनी भन्छन्, ‘नेपालको राजनीतिमा उत्तर (चीन), दक्षिण (भारत) र अमेरिकालाई विश्वासमा लिन सक्ने नेतृत्व चाहिन्छ। हामीसँग मौजुदा नेताहरूमा त्यो देखिएको छैन।’
ती नेताले नेपालखबरलाई सुनाए अनुसार निधिले भारतको एउटा पक्ष मात्र विश्वास लिन सक्छन् भने खड्का, सिंह र सिटौलाको वैदेशिक सम्बन्ध मजबुत छैन।
‘हिजो पार्टी ब्रेक हुँदा शेरबहादुर दाइको अन्तर्राष्ट्रिय व्यक्तित्व निस्केको थियो। सबै पक्षलाई मिलाउने उहाँमा अद्भूत कला थियो। उहाँहरूमा त्यो देखिएको छैन। नयाँ पार्टी बनाएर जान त्यसले पनि कहीँ न कहीँ समस्या भएको छ।’
विचार र दृष्टिकोण कांग्रेसको भन्दा उन्नत बनाउन समस्या नभए पनि नेतृत्व र व्यक्तित्वको अभावले नयाँ पार्टी खोल्न ढिला भएको ती नेताको बुझाइ छ।
संस्थापन पक्षको व्यवहारले पार्टी विभाजन रोक्न भने नसकिने अवस्था बनेको देउवा पक्षको तर्क छ। सभापति थापाले बेवास्ता गरेको निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सार्वजनिक रूपमै बताएका छन्।
‘मैले भेट्नका लागि फोन गर्दा उनको सहयोगीले उठाए। फोन गराउँछु भने। मैले गगनजीलाई मेसेज गर्दा पनि फोन गर्नुभएन,’ खड्काले भने।
एकतामा ढिलाइ हुँदा पार्टी विभाजनको डिलमा पुग्ने जोखिम बढेको उनको भनाइ छ।
‘अहिले पार्टी फुटाउने वा जुटाउने, सम्पूर्ण कुरा सभापति थापाको हातमा छ,’ इतरपक्षको कर्णाली प्रदेशस्तरीय प्रशिक्षणमा खड्काले भने।
नयाँ पार्टी खोल्न आर्थिक हिसाबले पनि देउवा पक्षलाई समस्या छ।
‘हिजो प्रधानमन्त्रीले पार्टी बनाउँदा त आर्थिक समस्या भएको थियो। पार्टी कार्यालय सारेको सार्यै गर्नु परेको थियो। पार्टी चलाउन सजिलो छैन। हतारमा निर्णय लिएर फुर्सदमा पछुताउने काम गर्नु हुँदैन भन्ने छ,’ ती नेताले भने।
पार्टी सञ्चालन खर्च धान्न सक्ने आधार बनाएर निर्णयमा पुग्ने देउवा पक्षको तयारी छ। अहिले पार्टी खोल्दा २०८४ मा हुने प्रदेश र स्थानीय निर्वाचनबाट संगठन बन्ने देउवा पक्षको बुझाइ छ।
‘संगठन निर्माणमा समस्या छैन। क्रियाशील अद्यावधिकमा छुटेका साथीहरूलाई समेटेर जाँदा तीन–चार लाख सदस्य नयाँ पार्टीमा जोडिन्छन्। आगामी प्रतिनिधिसभा निर्वाचन अगाडि प्रदेश र स्थानीय तहको चुनाव छ। त्यसलाई संगठन निर्माणको रूपमा उपयोग गर्न सकिन्छ,’ एक नेताले भने, ‘कांग्रेसको नाम र चिन्हप्रति नागरिकको मोह भंग भइसकेको फागुन २१ को निर्वाचनबाटै देखिसक्यो।’
गत निर्वाचनमा १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको कांग्रेस १८ सिटमा खुम्चिएको छ भने समानुपातिकतर्फ १७ लाख मत पाएको छ।
Shares

प्रतिक्रिया